• मोरङ । प्रदेशको नाम कोशी खारेजी आन्दोलनकै रुपमा प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजित नेपाल आदिबासी जनजाति महासंघ(फोनिज)को २४ औं स्थापना दिवसमा विश्लेषकहरुसँग अन्तरर्किया, पत्रकार सम्मान र शुभकामना आदानप्रदान गर्दै समापन भएको छ ।
    साउन २६ गते संघीय समितिको बैठक, २७ गते पत्रकार सम्मान÷पुरस्कार र आज (२८ साउन)मा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । उद्घाटन कार्यक्रममा राई, लिम्बू, याक्खा र तामाङ समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । 

    स्थापना दिवसको अवसरमा छ जना पत्रकार सम्मानित पुरस्कृत


    २४ औं स्थापना दिवसको अवसरमा फोनिज संघीय समितिले छ जना पत्रकारलाई सम्मानित तथा पुरस्कार प्रदान गरेको छ । 
    दिलिप थापा मगरलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको छ । संघीय समितिले देव पचभैया, जीवन लामा, उन्नति चौधरी र मृत्यु पर्यान्त किसन राईलाई सम्मान गरेको छ । त्यसैगरी नेपाल भाषा टाइम्सलाई पत्रिकालाई सम्मान गरिएको छ ।
    स्थापना दिवसकै अवसरमा फोनिज १ नं. प्रदेश समितिले पत्रकार सुजता लिम्बू पहिचान पत्रकारिता सम्मान र विदुर खवास पुरस्कृत गरेको छ ।
    सम्मानित÷पुरस्कृत पत्रकारहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, फोनिज संघीय अध्यक्ष गजुरधन राई, प्रदेश समिति अध्यक्ष शन्तवीर लामा लगायतले सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
    स्थापना दिवस उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अमनलाल मोदीले प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने बताए ।
    किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, संविधान सभा सदस्य आङ्दावा शेर्पा, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्ल्भ घिमिरे, प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुइँटेल, प्रेस सेन्टरका उपाध्यक्ष विवेक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य बन्धु पोखरे लगायलते शुभकामना दिएका थिए ।

    चार विश्लेषकहरुसँग पहिचान आन्दोलनबारे अन्तरक्रिया


    प्रदेश नं. १ मा चलिरहेको पहिचानको आन्दोलन र अबको बाटो शीर्षकमा चार जना विश्लेषकहरुसँग अन्तरक्रिया समापन भएको छ ।
    आइतबार (साउन २८) गते विराटनगरको संगम होटलमा भएको अन्तरक्रियामा प्रा.डा.महेन्द्र लावती, लेखक÷विश्लेषक खगेन्द्र संग्रौला, विश्लेषक डम्बर खतिवडा, बरिष्ठ पत्रकार भवानी बरालले प्रदेश १ को नाम कोशी खारेजी बारे विचार राखेपछि अन्तरक्रिया भएको थियो । 

    प्रा.डा. लावती 


    प्रा.डा. महेन्द्र लावतीले कोशी नाम खारेजीसँगै छुट्टै राजनीतिक शक्ति निर्माण आवश्यकता माथि जोड दिएका छन् ।
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार (२८ साउन) आयोजित ‘पहिचान आन्दोलन, अबको बाटो’ सम्बन्धी अन्तरर्किया कार्यक्रममा बोल्दै प्रा.डा. लावतीले सो कुरा बताएका हुन् । 
    मधेशमा सामाजिक संगठनहरु आन्दोलनको जग बनेपनि मधेश स्थापना गर्न राजनीतिक दल स्थापना भएपछि मात्र नाम राख्न संभव भएको लावतीले बताए । थारु समुदायले पहिचानको आन्दोलन गरेपनि नागरिक उन्मुक्ति पार्टी गठन भएपछि जनताले पहिचानवादी शक्ति थप स्थापित हुँदै गएको डा.महेन्द्र लावतीको तर्क थियो । 
    नेपाली संमृद्धि र शिक्षित भए पहिचान किन चाहियो भन्ने प्राज्ञिक क्षेत्रबाटै भाष्य निर्माण गर्न खोजिरहेको भन्दै प्रा.डा. लावतीले सो कुराको खण्डन गरे । अमेरिका, बेलायत, क्यानडा, स्पेन, स्वीजरल्याण्ड जस्ता मुलुक आर्थिक हिसावले संमृद्ध र शिक्षित भएपनि त्यहाँ पहिचानको मुद्धा चलिरहेको तथ्य प्रस्तुत गरे । 
    कोशी नाम विरुद्धको आन्दोलन सुरुवात मात्र भएको भन्दै पहिचानको आन्दोलनमा धनि, गरिव जुनसुकै वर्ग समूहका मानिसहरु लाग्दै आएको बताए ।
    नेपालमा अधिकार विहिन प्रदेश भएको नक्कली संघीयता रहेको डा. लावतीको भनाइ छ । 
    प्रदेश सरकारलाई अधिकार नदिइएको, मधेश बाहेक संघ र छ वटा प्रदेशमा एकल जातीय समुदायको हालि मुहाली भएकोले पहिचानको आन्दोलन सफल भए अधिकारसहितको सक्कली संघीय राज्य व्यवस्था लागू गर्न सकिने बताए । डा.लिम्बूले प्रदेशको नाम किरात र लिम्बुवान दुवै शब्द समेटिए सार्थक हुने बताएका छन् । 
    फोनिजको संघीय अध्यक्ष गजुरधन राईको सभापतित्व, महासचिव मिलन लिम्बूको सहजीकरणमा उद्घाट, अन्तरक्रिया कार्यक्रम भएको थिए । 

    विश्लेषक खगेन्द्र संग्रौलाः


    लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले प्रदेशको नाम कोशी समयमै खारेज नभए हतियार उठ्न सक्ने बताएका छन् ।
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार (२८ साउन) आयोजित ‘पहिचान आन्दोलन, अबको बाटो’ सम्बन्धी अन्तरर्किया कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक संग्रौलाले सो कुरा बताएका हुन् । 
    कोशी खारेजीको आन्दोलनको क्रममा आफू इलामदेखि खोटाङ लगायतका जिल्लाहरुमा पुगेको भन्दै कोशी नाम सयमै खारेज नभए हतियार उठ्न सक्ने अवस्था आफूले बुझेको बताए । 
    पहिचान विरोधीहरुले कोशी नाम राखेर पूर्बका राई, लिम्बूहरुलाई जगाएको भन्दै संग्रौलाले दलका नेताहरुले नै पहिचानवादीहरुलाई हतियार उठाउन बाध्य पार्ने परिस्थिति निम्त्याउदै गएको बताए । 
    कोशी खारेजीको आन्दोलनको जग बलियो हुँदै गएको आफूले पाएको तर्क गर्दै लेखक संग्रौलाले हतियार उठे प्रदेशको स्थिति खतरनाक र अप्रिय हुने बताएका छन् । 
    लेखक संग्रौलाले प्रदेश नं. १ मा ४७ प्रतिशत आदिबासी जनजाति समुदायको बसोबास रहेको तथ्याङ्क प्रस्तुत गर्दै विगतमा मतदाताहरुले आफ्नो सभ्यताको सम्मान गर्ने कि अपमान गर्ने दल÷उमेद्वारलाई भोट दिइयो मूल्याङ्कन गर्नुपर्ने बताए । संग्रौलाले प्रदेशको नाम किरात लिम्बुवान राखिए उत्तम हुने तर्क प्रस्तुत गरेका छन् । 


    लेखक÷विश्लेषक खतिवडाः


    विश्लेषक डम्बर खतिवडाले आदिबासी आन्दोलन बढ्यो भने बाहुनक्षेत्रीलाई घाटाहुन्छ भन्नु दरिद्र चिन्तन भएको बताएका छन् । 
    पहिचानको आन्दोलनलाई एक पक्षले जातीयता र संकिर्ण सोच भएको भन्छ भने अर्को पक्षले जातीय मुक्तिको आन्दोलनको रुपमा बुझ्दै आएको कारण समस्या रहेको खतिवडाको भनाइ थियो । 
    जैविक विविधताको पक्षधर नेपालीहरु मानवीय विविधताबाट किन तर्सिन्छन ? खतिवडाको प्रस्न थियो । 
    पहिचानको आन्दोलन जातीय नभएर बहुसांस्कृतिक, भाषिक, सभ्यताको आधारबाट नयाँ राज्य निर्माण प्रकृयाको बाटो भएको सबैको साझा बुझाइ हुनुपर्ने खतिवडाको भनाइ थियो । 
    ‘पहिचानको आन्दोलन एउटालाई मासेर अर्को स्थापित गर्न खोजिए झगडा हुन्छ ।’ खतिवडाले भने ‘सबैको संमृद्धिको लागि बहुसांस्कृतिक, भाषिक र पहिचानको आधारमा नयाँ राज्य निर्माणको आन्दोलनमा कोही तर्सिनु पर्दैन ।’
    चलिरहेको आदिबासी, पहिचानको आन्दोलन सबैंको संमृद्धिको लागि भएकोले बाहुन क्षेत्रीलाई घाटा हुन्छ कि भन्ने चिन्ता लिन नहुने खतिवडाले बताए । 
    नेपालमा एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रमुख व्यक्तिहरुको सोच र व्यवहार मुख्य समस्या रहेको खतिवडाले बताएका छन् । 
    एमाले अध्यक्ष केपी ओलीको अज्ञाता÷अहंकार, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवसर÷उपयोगवादी चरित्र र कांग्रेस सभापति शेरबहादुर देउवाको बहसमा सहभागी नहुने प्रवृतिले नेपालमा समस्या सिर्जना भएको बताए । 
    ओली पहिचान आन्दोलनलाई उखान, तुक्काले गिल्याउने रमाआउने, प्रचण्ड हामीलाई भोट देउ पहिचान दिन्छु भन्दै कहिले एमाले त कहिले कांग्रेससँग मोर्चा बन्दी गर्ने र कांग्रेस सभापति देउवा पहिचान आन्दोलन बारे डिबेट (बहस) गर्न नचाहने तीनै प्रवृति खराव भएको विश्लेषक खतिवडाको भनाइ थियो । खतिवडाले तीनवटै प्रवृति विरुद्ध संघर्ष गर्दै आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउन राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताए । 
    पहिचान आन्दोलनबारे यी तीन नेताले गम्भीर भएर मनन गरे संविधान संशोधन र प्रदेशमा चलिरहेको आन्दोलन १० दिनमा हलहुने खतिवडाको भनाइ थियो । 

    पत्रकार भवानी बरालः 


    पत्रकार तथा विश्लेषक भवानी बरालले प्रदेशको नाम राखिएपछि कोशीमा आगो लागेकोले किरात राख्न आम पत्रकारहरुले जनमत तयार गर्नुपर्ने बताएका छन् । 
    बरालले कोशी नाम राख्नुपर्छ भनेर एकै जनाले पनि माग नगरेको कारण जबरजस्ति कौशिक ऋषि (कोशी) दालिएकै दिनबाट आगो लाग्न सुरु गरेको बताए । 
    प्रदेशको नाम किरात राखौं भन्दा गाली र तालि दुबै आउने गरेपनि किरात नाम आए पछि लिम्बुवान, कोचिला, शेर्पालुङ वा अन्य बिशेष क्षेत्रको अधिकार लिन सकिने बरालको तर्क थियो । 
    प्रदेश नं. २ को नाम मधेश राखेर अग्रगमन भएजस्तै किरात नाम राखिए पहिचानवादीहरुको लागि खुट्टा टेक्ने ठाउँ हुने र प्रदेश अग्रगमनको बाटोमा अघि बढ्ने विश्लेषक भवानी बरालको भनाइ थियो ।
    बरालले २००७, २०४६ र २०६२÷०६३ मा जनताको अधिकार स्थापनाको आन्दोलनमा पत्रकारहरुले जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कोशी खारेजी र पहिचानको आधारमा पुनः नामकरण गर्न पत्रकार लाग्नुपर्ने बताए । 
    नेपालको निर्वाचन जित्न भीसीआर (भटमास, चिउरा र रक्की) वितरणमा भर पर्ने भएको बताउदै पत्रकार बरालले आन्दोलनकै माध्यमबाट कोशी नाम खारेजी हुनुपर्ने तर्क प्रस्तुत गरे । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिको अध्यक्ष लिलाबल्लब घिमिरेले पनि प्रदेशको नाम किरात कोशी भए सबैलाई स्वीकार्यहुने विचार प्रस्तुत गरेका थिए । 
    हिजो भएको उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले नाम के राख्ने भनेर प्रदेश नं.१ पुनः नामङ्कन संयुक्त संघर्ष समितिलाई माग गरे तुरुन्त दिइने बताएका थिए । 

    अनुशासन आयोग संयोजकमा जम्नेली, १३ बुँदे घोषणापत्र जारी


    फोनिज संघीय समितिको अनुशासन आयोगको अध्यक्षमा अर्जुन जम्नेली राईसहित तीन सदस्यीय समिति अनुमोदन र सफत ग्रहण भएको छ । 
    बैठकले संघीय समितिको अनुशासन आयोगको अध्यक्षमा अर्जुन जम्नेली राई र सदस्यहरुमा पार्वता चौधरी र नृपेन्द्रलाल श्रेष्ठलाई अनुमोदन गर्दै सफत ग्रहण गराएको हो ।  
    संघीय सचिवालयले गरेको सम्पूर्ण निर्णयहरु अनुमोदन गर्दै आयोगको अध्यक्ष अर्जुन जम्नेली राई र सदस्य नृपेन्द्रलाल श्रेष्ठलाई संघीय अध्यक्ष गजुरधन राईले सफत ग्रहन गराएका थिए । संघीय समितिको बरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासचिव मिलन लिम्बू लगायतले खादा लगाएर बधाई शुभकामना दिएका थिए । 
    अनुशासन आयोगको अध्यक्षमा मनोनित अर्जुन जम्नेली राई अनिज मोरङ जिल्ला अध्यक्ष, फोनिज प्रदेश १ को अध्यक्ष सम्माली सकेका व्यक्ति हुन् । 
    २४ औं स्थापना दिवसको पूर्ब सध्यामा साउन २६ गते विराटनगरमा बसेको छैठौं पूर्ण बैठकले कोशी नामप्रति पूर्ण असहमति जनाउदै पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतको १३ बुँदे घोषणापत्र जारी गरेको छ ।

    न्यायिक आन्दोलनको प्रचार र मध्यस्तकर्ताको भूमिका खेल्नु पर्ने अध्यक्ष गजुरधन राईको भनाइ


    फोनिज संघीय अध्यक्ष गजुरधन राईले कार्यक्रम समापन मन्तब्य दिदै न्यायिक र जायज मागको प्रचारप्रशार गर्दै आन्दोलनरत र सरकार पक्षसँग मध्यस्तकर्ताको भूमिका खेल्नुपर्ने बताएका छन् । 
    कोशी खारेजीको माग जायज भएकोले सम्पूर्ण पत्रकारहरुले प्रचारप्रशार गर्नुको साथै आन्दोलनले आमहत्या जस्तो गम्भीर रुप लिने अवस्था आए मध्यस्तकर्ताको भूमिका समेत खेल्नुपर्ने अध्यक्ष राईले विचार व्यक्त गरेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…