मोरङ । किरात राई यायोक्खा मोरङको आज (बिहिबार) बसेको बैठकले कोशी नाम खारेजीको आन्दोलनमा थप सशक्त रुपमा सहभागीहुने निर्णय गरेको छ ।
यायोक्खा मोरङ जिल्ला अध्यक्ष केदार राईको अध्यक्षतामा बसेको बैठकले आगामी असोजदेखि कोशी नाम विरुद्ध र पहिचानको आधारमा नाम राख्नहुने आन्दोलनमा सशक्त रुपमा सहभागीहुने निर्णय भएको जिल्ला सचिव काशिहाङ राईले बताए ।
साकेला थान पथरीमा भएको बैठकमा यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईको प्रमुख आतिथ्यतामा भएको बैठकमा किरात राई कर्मचारी संघको मोरङ जिल्ला अध्यक्ष समिता राई, किरात राई विद्यार्थी संघको केन्द्रीय शैक्षिक बिभाग प्रमुख सरोज राई, किरात राई कलाकार संघ, किरात राई विद्यार्थी संघको जिल्ला अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
पहिचानको आन्दोलन जायज मुद्धाको पक्षमा भइरहेको आन्दोलनमा यायोक्खाको तर्फबाट अझ सशक्त रुपमा सहभागीहुने निर्णय भएको जिल्ला उपाध्यक्ष सीता राईले बताए । यायोक्खा मोरङको आयोजनामा निशुल्क लोक सेवा तयारी कक्ष सञ्चालन गर्ने निर्णय समेत भएको छ । लोक सेवाको कक्षा सञ्चालनको बारेमा किरात राई कर्मचारी संघकी जिल्ला अध्यक्ष समिता राईले योजनासहितको प्रस्ताव प्रस्तुत गरेका थिए ।