मोरङ । कालो झण्डा प्रदर्शन र मुख्यमन्त्री केदार कार्की चढेको गाडीमा तोडफोडको नेतृत्व गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति झापाको अध्यक्ष पाण्डपलाल चौधरीलाई आज प्रशासनले बिनासर्त रिहाइ गरेको छ ।
मंसिर २६ गते झापाको दमकमा आएका मुख्यमन्त्री कार्की विरुद्ध कालो झण्डा प्रदर्शन भएको थियो । प्रदर्शनको क्रममा मुख्यमन्त्री केदार कार्की चढेको गाडी तोडफोडहुदा क्षति भएको थियो । चौधारीलाई सोही रात प्रहरीले नियन्त्रण लिएका थिए । संयुक्त संघर्ष समितिले झापाबाट चौधरी र केपी ओलीलाई मुक्का प्रहार गर्ने महेश राईलाई धनकुटाबाट नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिदै आएको थियो ।
चौधरीलाई पक्राउ गरेको आठ दिनपछि जिल्ला प्रशासन कार्यालय झापा चन्द्रगढीले बिनसर्त रिहा गरेको हो । रिहाइ भएका चौधरीलाई पहिचान सहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतको टोलीले स्वागत गरेका थिए ।
प्रशसनले धनकुटाबाट महेश राई र संघर्ष समितिको बुद्धशान्ति गाउँ समिति संयोजक बुलेट किरातीलाई हिजो (पुस २ गते) पक्रेर छाडेको छैन् । संयुक्त संघर्ष समितिले दुवै जनालाई निसर्त रिहाइ नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिइ सकेको छ ।