काठमाडौँ, १० पुस : छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुनुहुन्छ जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल हुनुभएको छ । उहाँ मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) जुम्लाबाट समानुपातिक सांसदको रूपमा सङ्घीय संसद् प्रवेश गर्नुभएकी सांसद लामालाई आफ्नो एकवर्षे कार्यकाल त्यति चित्तबुझ्दो लागेको छैन । युवा नेत्री लामालाई पहिलो सङ्घीय संसद्को अभ्यास एउटा महत्त्वपूर्ण सिकाइ र भोगाइ हो उहाँका लागि । सिंहदरबार सोचेजस्तो सहज नभएको उहाँ ठान्नुहुन्छ । सांसद लामा भन्नुहुन्छ, “संसद्को एक वर्षको कार्यकालमा धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाइयो ।”
युवा वयमै सांसदको गहन जिम्मेवारी पाएकी नेत्री लामालाई तीव्र परिवर्तनका भोका जनताको विकास र आर्थिक समृद्धिको उत्कट चाहनाको हुटहुटी पूरा गर्ने सपना र योजना नभएको होइन तर सबै कुरा सोचेजस्तो, सम्झेजस्तो सहज छैन । सांसद लामाको एकवर्षे संसदीय यात्राको अनुभव र सङ्घर्षले पनि त्यही कुरा पुष्टि गर्छ ।
सङ्घीय सांसदको भूमिकामा सिंहदरबार धाउने र संसद्मा कुरा राख्ने सांसद लामाको दैनिकी बनेको छ । “जनताका माग र गुनासा लिएर सिंहदरबार धाउँदा जुत्ता फाटिसके”, उहाँ दुखेसो पोख्नुहुन्छ, “सांसदको लेटरप्याडमा मन्त्रीहरूलाई मागपत्र बुझाउँदा पनि बजेट आउँदो रहेनछ ।”
‘सांसदसँग रासस संवाद’मा नेत्री लामाले भन्नुभयो, “सिंहदरबारमा हामीले गएर आफ्नो लेटरप्याडमा मन्त्रीलाई मागपत्र पेस गरेकै आधारमा मात्रै बजेट विनियोजन नहुँदोरहेछ । साथै कर्मचारीतन्त्रदेखि हरेक नेटवर्कको अध्ययन र परिचित नभएसम्म चुनौती खेप्नुपर्ने रहेछ, यो कुराको पनि अनुभव गर्न पाइयो ।”उहाँले एकवर्षे संसदीय अभ्यासमा धेरै कुरा सिकाइको चरणमा रहेकाले अहिलेको अनुभवले बाँकी अवधिमा परिणाममुखी काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        