मोरङ । बाली साम्पाङ परिवारले आफ्ना दिगंवत पूर्वजहरुको स्मृतिमा निर्माण गरेको वाबु (चिण्डो)को प्रतिमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिलाई हस्तान्तरण गरेको छ । 
मोरङको पथरीशनिश्चरे १ स्थित पथरी साकेला थानमा निर्माण भएको वाबुको प्रतिमा उद्यौली साकेला चाडको अवसरमा मंगलबार अनावरणसागै हस्तान्तरण गरेका हुन । 
पथरीशनिश्चरे ७ लामाटोलीका दिगंवत हस्तबहादुर बाली साम्पाङ राई (लक्ष्मी हवल्दार), जेठी र माइली पत्नि रणमाया बुङ्छेन राई, सुकमाया राङ्कासोर राईको स्मृतिमा कान्छि पत्नि लच्छीमाया राङ्कासोर राई लगायत बाली साम्पाङ परिवारले प्रतिमा निर्माण गरेकाहुन् । 
साम्पाङ परिवारका छोराहरु महालाल साम्पाङ राई, टेकबहादुर राई, हर्कजंङ, रुपमान राई, बालकुमार राई, खड्गबहादुर राई, ताराबहादुर राई, छोरीहरु शान्तिमाया, मैनाकुमारी, फुलकुमारी, लक्ष्मीकुमारी, पूर्णमाया, भविमाया राई, छोरा र छोरी पटिका नाति, नातिनी लगायतद्वारा वाबुको प्रतिमा निर्माण गरिएको थियो । 
नौ लाख ५३ हजार ९९३ रुपैयामा साकेला थान स्थित पोखरीको वीचमा निर्माण भएको प्रतिमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिलाई हस्तान्तरण गरेको हो । उल्लेखित बजेट बाहेक प्रतिमा निर्माण गर्दा बाली साम्पाङ परिवारबाट श्रम लगानी भएको शन्तोष राईले बताए । 
प्रतिमा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, दिगवंत हस्तबहादुर बाली साम्पाङकी कान्छी पत्नि लच्छीमाया राङ्कासोर राईको हातबाट अनावरण गरिएको थियो । 
प्रतिमा अनवरणसँगै बालि साम्पाङ परिवारको तर्फबाट लच्छीमाया राङ्कासोर राईको हातबाट किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिका अध्यक्ष प्रेम वाम्बुले राई मार्फत यायोक्खालाई स्वामित्व हस्तान्तरण गरेका छन् । 
स्वामित्व हस्तान्तरण कार्यक्रममा पथरीशनिश्चरे नगरका पूर्ब नगर प्रमुख दिलिपकुमार राई, यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, पथरीशनिश्चरे नगरका सूचना सम्पादक शान्तोष बाली साम्पाङ राई, प्रतिमा निर्माण गर्ने बाली साम्पाङ परिवार र यायोक्खा नगर समितिका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । 
प्रतिमा हस्तान्तरण अघि यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई र लच्छीमाया राङ्कासोर राईको हातबाट साकेला परिसरमा रहेको यलम्बरको शालिकमा माला अर्पण गरिएको थियो । यलम्बरको शालिकदेखि वाबुको प्रतिमासम्म साकेला टाली ढोल, झ्याम्पासहित पुगेका थिए । 
बाली साम्पाङ परिवारको तर्फबाट झापा कमल गाउँपालिका यायोक्खा अध्यक्षसमेत रहेका शान्तोष बाली साम्पाङ राईले वाबु निर्माणको सन्दर्भमा विचार व्यक्ति गरेका थिए भने यायोक्खा पथरीशनिश्चरे नगर समितिले निर्माण परिवारलाई खादा लगाएर स्वागत सम्मान गरेका थिए । 
यसैवीच पथरी साकेला थानमा उद्यौलीको अवसरमा मंगलबार विहानै पुजा भएको थियो । साकेला नाच्नुको साथै खिर, सेलरोटी लगायतको परिकार बनाएर वितरणसमेत भएको थियो । 
वाबु अनावरणको तस्वीरहरु


 

 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        