काठमाडौँ, १३ पुस : पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ ।
नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्नुहुन्छ, “बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ ।”
उहाँले विधायक भएपछि कानुनको अध्ययन, निर्माण प्रक्रिया, विधेयकको सैद्धान्तिक छलफल, संशोधनजस्ता विषयमा आधारभूत ज्ञान लिँदै नयाँ कानुन निर्माण तथा विद्यमान कानुन संशोधनको आवश्यकता र संशोधन प्रस्ताव दर्ता गर्नाका कारण पुष्ट्याइँजस्ता विषयमा नयाँ सिकाइ भइरहेको बताउनुभयो ।
समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा पहिलोपटक पुग्दा खुशी लाग्नु स्वाभाविक भएको बताउँदै ‘सांसदसँग रासस संवाद’मा उहाँले भन्नुभयो, “पहिलो अभ्यास भएकाले उत्सुकतापूर्वक अनुभव लिने सिलसिला चलिरहेको छ ।”
कानुन निर्माणको सिकाइकै अभ्यास चलिरहेको बखत गत कात्तिक १७ गते जाजरकोटको भूकम्पमा ज्यान गुमाएका र घाइते भएका तथा घरगोठ भत्किएर बिचल्लीमा परेका परिवारको उद्धार र राहत सङ्कलन, वितरण तथा अस्थायी बसोबासका लागि प्रभावित क्षेत्रमै उहाँ खटिएर योगदान पु¥याउनुभयो ।
भूकम्पलगत्तै जाडोयाम सुरु भएकाले सुत्केरी, वृद्धवृद्धालगायत पीडितको जनजीवन थप कष्टकर भइरहेको जनाउँदै उहाँले अहिलेको मुख्य चुनौती अस्थायी टहरा निर्माण गरी बसोबास व्यवस्थापन गर्नुभएको बताउनुभयो ।
भूकम्पपछि स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायको समन्वयमा तत्काल उद्धार र खोजतलासको काम गरिएको घटना सुनाउँदै सांसद कार्कीले भूकम्पबाट मानवीयका साथै घरलगायत संरचना भत्किएर व्यापक भौतिक क्षति भएको बताउनुभयो ।