मोरङ । मोरङको पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० मा फुटबलतर्फ देविगन्ज एफ.सी. फाइनल उठाउने गतिमा देखिएको छ ।
आज भएको क्वाटर फाइनलमा कल्याण एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै देविगन्ज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काउली भनेर चिनिने निरज परियारले खेलको २१ औं मिनेटमा देविगन्जका लागि पहिलो गोल गरेका थिए । २७ औं मिनेटमा सनम धिमालले अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।
दोस्रो हाफमा कल्याण एफ.सी.का सुरज याक्खाले ३० औं मिनेटमा गोल गरेर २—१ को अन्तरमै निर्धारित समय सकिएको थियो । खेलको म्यान अफ द म्याच विजेता टिमका सन्जय लिम्बु घोषित भए । लिम्बुलाई वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्कीले नगद र ट्रफी प्रदान गरेका छन् ।
देविगञ्ज टिममा नेपालमै नाम चलेका डिफेन्डर मिन धिमाल, शन्तोष न्यौपाने, स्टाइकर काउली लगायतका खेलाडीहरुको सेटको कारण खेलकुद महोत्सवमा फुटबलतर्फको उपाधि उचाल्ने दाउमा देखिएका हुन् ।
पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल सिरिजंगा एफ.सी. र युनिटी स्पोर्टस एफ.सी. बीच हुने आयोजकका सदस्य सचिव नवीन खुलालले जानकारी दिए ।