रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बा १३ च ५३२३ नम्बरको नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री दुर्गा बहादुर श्रेष्ठले चलाएको रेडक्रसको गाडी दुर्घटना भएको छ।
व्यक्तिगत प्रयोजनका लागि मन्त्री श्रेष्ठ लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीस्थित मावि ज्यामिरेमा विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आएका थिए।
बैठकपछि सोही वडाको खालीटारमा रहेका क्रियापुत्री खिलनारायण श्रेष्ठलाई भेट्न सामानसहित पुगेका मन्त्री श्रेष्ठ फर्कने क्रममा मन्त्री श्रेष्ठले चलाएका गाडी सोमबार दिउँसो खपाङ्गे डाँडामा दुर्घटना भएको हो ।
उक्त गाडी अनियन्त्रित भई सडकबाट तल मकैबारीमा खसेको थियो। गाडीमा श्रेष्ठ एक्लै सवार थिए । दुर्घटनामा मानविय क्षति नभए पनि गाडीलाई स्थानीय वासीहरुले डोरी, दाम्लो र काठ प्रयोग गरेर निकालेको प्रत्यक्षदर्शीले बताएका छन् । मन्त्री श्रेष्ठ सोही विद्यालयका कार्यवाहक अध्यक्षसमेत हुन् ।
सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भएको भन्दै सोही वडाका विवेक किरण श्रेष्ठले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन् । श्रेष्ठसँग सवारी चालक अनुमति पत्र समेत नभएको खुलासा भएको छ। मन्त्री श्रेष्ठले यसअघि पनि रेडक्रसको गाडी निजी कामका लागि पटक–पटक प्रयोग गर्दै आएको पाइएको छ ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        