मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ ।
नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा नगरस्तरीय र अन्तर विद्यालय स्तरीय टिम चेस प्रतियोगिताको सुक्रबार संयुक्त रुपमा उद्घाटन भएको छ ।
आयोजक समितिका अध्यक्ष रोहित सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, पूर्व नगर प्रमुख दिलिपकुमार राई, स्थानीय समाजसेवी प्रदिपकुमार राई, प्रधानाध्यपकहरुको तर्फबाट सुनाखरी माविकी प्रधानाध्यपक भूमिकादेवी मगर लगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा नगरको प्रवक्ता नवीनजंङ कार्की, सामुदायिक वन उपभोक्ता महासंघका मोरङ जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेल, १ नं. वडाका पूर्व अध्यक्ष बाबुराम लिम्बू, फ्रेण्डसिप चेस क्लवका अध्यक्ष अमिर राई, एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक दिनेश कन्दङ्वा, शान्ति सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कुलमणी गुरुङ, विभिन्न सरकारी तथा निजी विद्यालयको प्रधानाध्यापक तथा सञ्चालकहरुको उपस्थितिरहेको थियो ।
अन्तर विद्यालय स्तरीय टिम बुद्धिचाल छनौट प्रतियोगितामा ‘बी’ डिभिजनबाट छनौट भएर २ वटा ‘ए’मा जाने आरबीटर डम्बर बाछना राईले बताउनुभयो । भोलीदेखिहुने सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ प्रतियोगितामा सयभन्दा बढी खेलाडी सहभागीहुने आयोजक समितिका सचिव पुकार राईले बताउनुभयो ।
को हुन सुशिला कन्दङ्वा ?

सुशिला कन्दङ्वा दिगंवत चन्द्रमान कन्दङ्वाको धर्मपत्नि थिए । सुशिला कन्दङ्वा २००१ साल पुस २९ गते तेह्रथुम म्याङ्लुङमा जन्मिएर चन्द्रमानसँग विवाह गर्नुभएको थियो ।
२०३२ सालमा पथरी झर्नुभएको कन्दङ्वा परिवारले २०४३ सालमा निजी स्तरबाट विद्यालय खोल्नु भएको थियो । उक्त विद्यालय हाल एभरेष्ट बोर्डिङ स्कुलको रुपमा कक्षा १२ सम्म सञ्चालनमा रहेको छ ।
चन्द्रमान कन्दङ्वापछि २०७८ साल कार्तिक २६ गते सुशिला कन्दङ्वाको देहान्त भएपछि सो विद्यालय छोराहरु रबिन कन्दङ्वा, दिनेश कन्दङ्वा लगायत परिवारको स्वामित्वमा चलिरहेको छ ।
कन्दङवा परिवारले आफ्नी आमाको नाममा नगर स्तरीय बुद्धिचाल प्रतियोगिताको टाइटल स्पन्सर गरेका हुन् । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिसँग बार्षिक रुपमा टाइटल स्पन्सर गर्ने सम्झौता भएको संघका अध्यक्ष रोहित सुब्बाले बताउनुभयो ।
सुशिला कन्दङ्वाको पति चन्द्रमान कन्दङ्वा साहित्यकार, सामाजिक, शैक्षिक तथा वैचारिक व्यक्ति थिए । विचार अनुसारको व्यवहारमा कम्युनिष्ट हुनुपर्छ भन्ने विचार राख्ने चन्द्रमान कन्दङ्वाले साहित्य र वैचारिक गरेर छ वटा पुस्तक लेख्नुभएको थियो ।
