• काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै दोहोरिने निश्चित भएसंगै नेपाली राजनीतिमा केपी ओलीको शक्तिको अनुमान लगाउन मुश्किल हुने विश्लेषण गर्न थालिएको छ ।

    यसअघि मन नलागी नलागी राष्ट्रपतिको बनेकी भण्डारीले यस पटक भने दोहोर्याउनका लागि भए भरको शक्ति लगाउनु भयो र उहाँका विश्वासपात्र प्रधानमन्त्री ओलीले पनि एमाले पार्टीभित्रका सवै अप्ठेरा परिस्थितिहरुलाई नियन्त्रणमा लिदै भण्डारीकै पक्षमा निर्णय गराउनु भयो ।

    जसले आगामी २९ गते हुने राष्ट्रपतीय निर्वाचनबाट विद्या भण्डारीका लागि शितल निवासको बसाई अर्को पाँच बर्ष थपिने छ । भण्डारीको शितल निवास बसाई लम्बिनुको अर्थ प्रधानमन्त्री केपी ओलीका लागि शासन संचालनको कुनै पनि अवरोध नरहनु पनि हो ।

    गत मंगलबार राती बालुवाटारमा एमाले बैठकको दृष्य देखेका एक जना प्रत्यक्षदर्शीका अनुसार केपी ओलीका अगाडि अरु त छाडिदिउँ माधव नेपाल र बामदेव गौतम लगायत नतमस्तक देखिएका थिए । पार्टीभित्रका सदावहार विपक्षी माधव नेपाल पनि त्यसरी नतमस्तक हुनुको रहस्य उनकै समूहका युवा नेताहरुले थाहा नपाएको बताइएको छ ।

    हुन त त्यही दिन दिउँसो संसदको पहिलो वैठकलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्रीका हात खुट्टा बाँध्ने काम गर्न नहुने बताएर ओलीसंग घाँटी जोडिसकेको संकेत गरेको केही युवा नेताहरुको बुझाई रहेको छ ।

    झलनाथ खनाल जस्ता नेताले राष्ट्रपतिमा ईच्छा देखाईरहेको अवस्थामा नेपाल र गौतमले सामान्य औपचारिकताका लागि छलफल गर्ने सम्मको छाँट नदेखाएपछि खनालले पनि आफू मात्रै किन अचाडू हुनु भन्दै अध्यक्षलाई नै निर्णय गर्न दिने बताएका थिए ।

    विश्वस्त सूत्रका अनुसार नेपाली सेनाको पनि जोड विद्या भण्डारीमै रहेको थियो । रक्षामन्त्री हुँदैदेखि भण्डारीसंग रसायन मिलाएको सेनाले विद्या भण्डारीलाई नै दोहोर्याउनेमा जोड दिएको त थियो नै त्यसमाथि उनको विकल्पमा अरु आउने अवस्थामा धर्म निरपेक्षतावादी ब्यक्ति राष्ट्रपति नबनोस भन्ने चेतावनीपूर्ण सुझाव पनि दिएको बताइन्छ ।

    नेपालका राष्ट्रप्रमुखको अधिकांश काम हिन्दू धर्म संस्कारसंग जोडिएका मात्रै छैनन्, कतिपय अवस्थामा सहभागी नभई नहुने अवस्था छ । कुनै धर्म निरपेक्षतावादी ब्यक्ति उक्त पदमा पुग्दा समस्या आउनेतर्फ सेनाको संकेत रहेको थियो ।

    राष्ट्रपतिमा भण्डारीको सुनिश्चितताले प्रधानमन्त्री केपी ओलीलाई सरकार संचालनका लागि निकै सजिलो हुनेमा शंका छैन । संवैधानिक र आलंकारिक नै भएपनि ऐन मौकामा राष्ट्रप्रमुखले कस्तो भूमिका खेलिदिन सक्छन भन्ने कुरा राष्ट्रिय सभामा तीन जनाको मनोनयनबाटै प्रष्ट भएको छ ।

    अरु दलको वा केमेस्ट्रि नमिल्ने राष्ट्रपति भईदिएको भए युवराज खतिवडा, रामनारायण विडारी र विमला रार्इ सांसद बनेको ठाउँमा शेरबहादुर देउवाले सिफारिस गरेका तीन जना हुने थिए ।

    आगामी आइतबार संसदबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री ओलीको शासनकाल कम्तिमा साढे दुई बर्षका लागि ढुक्कै रहेछ । संवैधानिक रुपमै साढे दुई बर्ष प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजान नपाईने मात्रै होइन कसैले समर्थन फिर्ता लिनु नलिनुको पनि अर्थ राख्ने छैन ।

    त्यसमाथि उनको सरकार २०१५ सालपछि पहिलो पटक दुई तिहाइ बहुमतको बन्दैछ । ०१५ सालमा संविधान भन्दा माथिरहेका राजा थिए तर अहिले राष्ट्र प्रमुख नै आफ्नै मान्छे भएको अवस्था प्रधानमन्त्री ओली रहेका छन् ।

    खाशमा भन्ने हो भने यत्ति विधि सहज अवस्थामा अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले शासन गर्न पाएको अवस्था छैन । प्रधानमन्त्री ओलीले क्याविनेटमा पनि अहिलेसम्म बेदाग मन्त्रीहरु नै भित्र्याएको छन् । अब उनीहरुलाई कसरी नेतृत्व गरेर काम देखाउन सक्छन भन्ने मात्रै हेर्न बाँकी छ ।

    ओली नेतृत्वको सरकारको शक्तिको अनुमान लगाएरै होला पाकिस्तानी प्रधानमन्त्री समेत मागेरै नेपाल भ्रमणमा आए । पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको भ्रमणले दक्षिण एशियामा मात्रै होइन अमेरिकासम्म झड्का दिएको विश्लेषण गरिएको छ ।

    नेपालको गुमेको साख फर्किन लागेको हो कि भन्ने आभाष अब्बासीको भ्रमणले गराएको छ । पाकिस्तानी प्रधानमन्त्रीलाई काठमाडौंमा खातिरदारी गर्नु चानचुने होइन अहिलेको अवस्थामा भन्ने चर्चा कूटनीतिक वृत्तमा गरिंदैछ । सरकारमा बस्ने ब्यक्तिको सानोतिनो हिम्मतले यो काम हुन सक्दैन भनिन्छ ।

    भारतीयहरु यो विषयबाट खुशी हुन्छन भन्ने कुरा किमार्थ मान्न सकिने अवस्था होइन । तर आउने अप्ठेरो परिस्थितिलाई डील गर्न सकिन्छ भन्ने हिम्मतले यो काम भएको हो भने नेपालको गुमेको साख फर्कान ओली पक्कै सफल हुने छन् । सार्क शिखर सम्मेलनको वातावरणको कुरा फगत देखाउने कुरा मात्रै हो ।

    त्यसका लागि विदेशमन्त्री तहको भ्रमण पनि काफी हुनसक्ने थियो । प्रधानमन्त्री अब्बासी आफैं आउनुको पछाडि देखिने कुराको अर्थ खोज्नु मुर्खता हुने छ । यस्ता दृष्यहरुले पनि प्रधानमन्त्री ओलीमा बढेको कन्फिडेन्सलाई झल्काउछ । प्रधानमन्त्री ओलीलाई देशभित्रको शक्तिको कुनै खाँचो छैन ।

    बरु उनले यो शक्तिलाई कसरी ब्यवस्थापन गरेर अघि बढ्लान भन्नेतर्फ उनलाई सचेत बनाउनु पर्ने अवस्था छ । शक्ति अनुसार नै देशलाई विकास, निर्माण, सुशासन र अमन चयनमा अघि बढाउन सके भने उनका लागि कम्तिमा पाँच बर्ष कसैले औला ठड्याउने छैनन् ।

    त्यसमाथि देशको अन्तर्राष्ट्रिय जगतमा गुमेको साख पनि फिर्ता हुने अवस्था उनको कार्यकालमा बन्यो भने सायद जनताको छोराको तहबाट शासक बनेर सम्झिने ब्यक्तिमा ओली अग्रस्थानमा हुने छन् ।

    माधव मौन बस्दा झलनाथ रित्तै
    वाम गठबन्धनबाट राष्ट्रपतिमा सर्बसम्मत उम्मेदवार बनेकी विद्यादेवी भण्डारी अबको पाँच वर्षका लागि पुन राष्ट्रपति बन्ने निश्चित भएको छ । कांग्रेसबाट लक्ष्मी रायले राष्ट्रपतिको लागि उम्मेदवारी दिएपनि उनले जित्ने संभावना देखिदैन ।

    संसदमा दुई तिहाई नजिक भएको वाम गठबन्धनबाट विद्या भण्डारी उम्मेदवार भएपछि उनले जित्ने निश्चित छ । नेपाल कांग्रेसबाट उम्मेदवारी दर्ता गरिए पनि त्यो केबल उपस्थितिको लागि मात्र देखिन्छ । संसदमा नेपाली कांग्रेसको उपस्थिति मजबुत नभएकोले २९ गते हुने चुनाव केबल प्रक्रिया पुर्याउने मात्र हो ।

    अहिलेकै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने निश्चित छ । एमालेमा झलनाथ खनाल समेत राष्ट्रपतिको आकांक्षी देखिए पनि अन्तिम समयमा एमाले भित्रबाट भण्डारीकै पक्षमा निर्णय आएको हो ।

    एमाले भित्रै माधव नेपाल पक्ष र बामदेव गौतमले खनाल भन्दा विद्या भण्डारीकै पक्षमा नरम देखिए पछि अन्तिम समयमा झलनाथ खनाल पछि हटेका थिए ।

    खनाल पछि हटेपछि विद्या भण्डारी वाम गठबन्धनबाट सर्वसम्मत राष्ट्रपति उम्मेदवार बन्न सफल भएकी हुन् । अहिले बजारमा झलनाथ खनाल किन पछि हटे भन्ने जिज्ञासा पनि व्यक्त गरिदै छ । बुझिए अनुसार झलनाथ खनाललाई पछि पार्नमा भारतको समेत हात छ ।

    झलनाथ खनाललाई विशेष गरी चीन निकटको व्यक्तिका रुपमा चिनिने गर्दछ । त्यसले पनि झलनाथ खनाल पछि परेको अनुमान गरिदै छ । सुरुमा माधव नेपाल र वामदेव गौतम पनि झलनाथ खनालको पक्षमा थिए तर अन्तिम समयमा उनीहरु मौन बसे ।

    माधव नेपालले महाधिवेशनका बेला झलनाथ खनाल मौन बसेकोले आफूले हारेको भन्दै मौन बसेको हुन सक्ने पनि अनुमान गरिरहेका छन् । वामदेव गौतम भने पहिला देखिनै केपी कै मान्छे भएकोले उनको मौनता पनि स्वभाविक भएको बताउनेहरु पनि छन्,नेपालीपत्रमा उल्लेख छ ।

    त्यसो त अप्रत्यक्ष रुपमा माओवादी अध्यक्ष प्रचण्ड समेत विद्या भण्डारीको पक्षमा भएको बुझिएको छ । राष्ट्रपति मात्र होइन उपराष्ट्रपति समेत यसअघिकै उपराष्ट्रपति नन्दबहादुर पुन दोहरिएका छन् । वाम गठबन्धनमा आपसी भागबण्डा गर्दा एमालेको भागमा राष्ट्रपति र माओवादीको भागमा उपराष्ट्रपति परेको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…