काठमाडौं। राष्ट्रियसभा अध्यक्षकालागि आज सोमबार मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताकालागि संघीय संसद सचिवालयले सोमबार विहान १० बजेदेखि दिउँसो एक बजेम्मको समत तोकेको छ।
उम्मेद्वारको मनोनयन गर्ने समय तोकिएपनि दलहरुबीच राष्ट्रियसभाको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा सहमति भएको छ। राष्ट्रयसभाको अध्यक्ष एमालेको भागमा परेको छ। प्रतिनिधिसभाको सभामुख र उपराष्ट्रपति माओवादी केन्द्रलाई छोडेको एमालेले राष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष लिने सहमति गरेको थियो। तर, एमाले हालसम्म राष्ट्रियसभा अध्यक्ष कसलाई बनउने भन्ने विषमया निर्णय गरेको छैन। एमालेभित्र पर्शुराम मेघी गुरुङ र गणेशप्रसाद तिमल्सिनाले अध्यक्षमा दाबी गरिरहेका छन्। राष्ट्रियसभा अध्यक्षको नाम टुंगो लगाउने एमालेले ११ बजे बैठक बोलाएको छ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन बुधबार हुने संसद सचिवालयले जनाएको छ। यसैगरी सरकारले मनोनयन गरेको तीन जना सांसदले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका डा. युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडलले राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।
उनीहरुले शपथ लिनुअघि नै मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेकाले उनीहरुले मतदान गर्न नपाउने भएका हुन्। राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना सांसद छन्।