• २०७४ चैत्र ०३ शनिवार

    काठमाडौं : राष्ट्र बैंकले दिएको समयमा आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नसकेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) मा थप डेढ अर्ब रुपैयाँ घोटाला भएको छ ।

    पुँजी पुर्‍याउनका लागि एनसीसीसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकले प्रवाह गरेको कर्जा घोटाला भएपछि एनसीसी बैंक थप समस्यामा परेको हो । मर्जर सम्झौता भइसकेपछि तत्कालीन एपेक्सका अध्यक्षसहित पदाधिकारीले नक्कली ऋणीलाई कमसल धितोमा ऋण दिएर अनियमितता गरेका थिए । राष्ट्र बैंकले अनुगमन गर्दा बैंकमा केही कमी–कमजोेरी भेटिएको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

    राष्ट्र बैंककै सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एनसीसीको पुँजी बढाउने विषयमा छलफल गर्न बोलाइएको बोर्ड बैठकबाटै शुक्रबार तत्कालीन एपेक्सका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेपछि घोटालाको रहस्य खुलेको हो ।

    पुँजी बढाउन बैंकले राइट सेयर दिने निर्णय गरिसकेको छ । मर्जपछि ऋणी सम्पर्कमा नआएका कारण यसरी प्रवाह भएको कर्जाको ब्याजसमेत आउन सकेको छैन । राष्ट्र बैंकले कर्जा जोखिममा परेको भन्दै यसअघि नै बैंकलाई ‘लोन लस प्रोभिजन’ मा उक्त पैसा राख्न लगाएको थियो भने फाइल अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको थियो । जोखिममा परेको एनसीसी बैंकको व्यवस्थापन राष्ट्र बैंकले हस्तक्षेप गरेर सुधारेको थियो ।

    सीआईबीका डीएसपी श्याम ओलियाका अनुसार एपेक्सले मर्जरमा जाने प्रक्रियासँगै यस्तो अनियमितता गरेको पाइएको हो । उनले भने, ‘सीआईबीले बैंकिङ कसुरमा अनुसन्धान एवं कारबाही गरेको यो अहिलेसम्मकै ठूलो कसुर हो ।

    सीआईबीका अनुसार एपेक्सकोे एक सय २८ वटा धितो फाइल अनुसन्धान गर्दा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार नौ सय ८४ रुपैयाँ हानि नोक्सानी पुर्‍याएको देखिएको छ ।

    एनसीसीसँग मर्जर गर्ने सम्झौतासँगै उसले नक्कली ऋणीलाई कमसल धितो खडा गरेर ऋण प्रवाह गरेको खुलेको हो ।

    डीएसपी ओलियाका अनुसार मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि तत्कालीन एपेक्सले आफ्नो कार्यालयसँगै लोकन्थली, दरबारमार्ग, इटहरी, सुर्खेत, नेपालगन्ज, काठमाडौं उपत्यकालगायत शाखाबाट अनियमित तवरले कर्जा प्रवाह गरेको पाइएको छ । ओलियाले भने, ‘कसले कति प्रवाह गरे, छुट्याएपछि मात्रै थाहा हुन्छ ।’

    सीआईबीका अनुसार पक्राउ पर्नेमा तत्कालीन एपेक्सका अध्यक्ष विष्णु धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्ण भण्डारी, मधुवनलाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, लोकन्थली शाखा प्रमुख सागर न्यौपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदीप थापा छन् ।

    एपेक्सले तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीसमेत नराखी कर्जा दिएको पाइएको छ । सीआईबीले पक्राउ गरेका एपेक्सका कर्मचारीमाथि चार तहमा अनुसन्धान एवं कारबाही अगाडि बढाएको छ ।

    ओलियाका अनुसार मुख्य कसुरदार, मतियार, सहायक मतियार र मूल्यांकन कर्ता छुट्ट्याएर कसुरका आधारमा अदालतमा मुद्दा दर्ता गरिनेछ । अचम्म कुरा त एपेक्सले धितो मूल्यांकन गरेको जग्गा बैंककै कर्मचारीले फेला पार्न नसक्ने अवस्था छ।

    पेक्सका बदमासी

    – कमसल धितो, भिरालो पाखोबारी, वन क्षेत्र, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको ।

    – कृत्रिम ऋणी खडा गरेको ।

    – निश्चित क्षेत्रको कमसल जमिनमा कर्जा अधिकेन्द्रित गरेको ।

    – ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणलाई स्वीकृत गरेको ।

    – मोटरबाटो नभएको भिरालो पाखोबारी खेत र वनक्षेत्र भएका जग्गामा बाटो भएको प्रमाणित गरेको ।

    – धितो निरीक्षण कर्जा निर्णय गर्दा जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको ।

    – कमसल जग्गा धेरै टुक्रा पार्ने र धेरै ऋणीको नाममा धेरै कर्जा दिने गरेको ।

    – कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीसमेत नराखी कर्जा दिएको ।

    एपेक्सले व्यक्तिगत, हाउजिङ व्यवसायी, निजी कम्पनीको नाममा ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । डीएसपी ओलियाले भने, ‘यो घटनामा ऋण प्रवाह गर्ने मात्रै दोषी नभएर ऋणीसमेत कारबाही दायरामा तानिनेछन् ।’

    उनका अनुसार कर्जा स्वीकृतिमा संलग्नहरूमाथि अनुसन्धान केन्द्रित गर्ने तयारी सीआईबीले गरेको छ । एपेक्सले ऋण प्रवाह गर्दा जोरपाटी, कपन, सानेपा, बागबजारलगायत स्थानका जग्गा धितो राखेका छन् । एपेक्स र एनसीसीबीच २०७२ मा मर्जर गर्ने सम्झौता भए पनि २०७३ बाट मात्रै कार्यान्वयन भएको हो ।

    डीएसपी ओलियाले भने, ‘मर्जर सम्झौताछि पनि एपेक्सले कर्जा प्रवाह गरेको देखिएको छ । सुनियोजित ढंगले बदनियत राखेर नक्कली ऋणीलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।’ डीएसपी ओलियाका अनुसार पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कारबाही अगाडि बढाइनेछ ।

    एपेक्सले गरेको यो बदमासीको असर एनसीसी बैंकमा नपर्ने बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत वन्दना पाठकले बताइन् । ‘हामीलाई मर्जर गर्नुअघि यो कुरा थाहा थिएन, पछि केही कर्जाबारे थाहा भएको हो,’ उनले भनिन्, ‘केही कर्जा असुलीसमेत गरिसकेका छौं ।’ समस्या देखिएपछि राष्ट्र बैंकलाई रिपोर्टिङ गर्ने क्रममा एपेक्सबारे पनि जानकारी भएको हुन सक्छ ।’

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …