कैलाली हत्याकाण्डमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नावालकको ज्यान गएको थियो । घटना भएदेखि फरार रहेका रेशम चौधरी निर्वाचन जितेर सांसद बने । हत्या अभियोगको मुद्दा अदालतमा विचाराधीन रहेका बेला कानुनलाई नै चुनौति दिदै अनशन बसेका चौधरीलाई जुस खुवाउन गृहमन्त्री अस्पताल पुगेर राजनीतिक संरक्षणको नमुना बने । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उनले अदालतमा आत्मसमर्पन गरेका हुन् भने अब उनी छिट्टै अभियुक्त नभई सांसद हुँदैछन् ।



गृहमन्त्रीले सांसदलाई जुस खुवाएकै दिन कांग्रेस काभ्रेका नेता गणेश लामामाथी गौशालामा गोली चल्यो । लामामाथी गोली चल्यो तर प्रहरीले लामालाई नै पक्राउ गरयो । गोली चलाउने ब्यक्तिलाई पक्राउ गर्ने चेष्टा गरेन । उल्टै पीडितमाथी कारवाहीको डण्डा बर्साउन थालेको छ । ‘ यो राज्यको विभेदकारी शैली मात्र हैन राजनीतिक प्रतिसोधको नमुना पनि हो’ कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने । आठ जनाको विभत्सपूर्ण हत्या गर्नेलाई राज्य तहबाटै संरक्षण गरिदैछ भने गोलीको निशानाबाट बचेका लामा भने कारवाहीको दायरामा छन् ।



लामामाथी गोली चलेको सीसी टिभि फुटेजमा प्रहरीले नजर लगायो । एकपटक होइन बारम्वार देख्यो । फुटेजमा लामामाथी गोली चलेको र गोली चलाउने ब्यक्तिबाटै उनले पेस्तोल खोसेको प्रष्ट देखिन्छ । तर प्रहरीले गोली चलाउनेलाई पक्राउ गरी कारवाही गर्न छोडेर जवरजस्त हतियार लामाकै भएको प्रमाणित गर्न लागेको छ । ‘गोली प्रहार गर्नेलाई पक्राउ गर्न छोडेर गोलीको निशानामा पारिएका ब्यक्तिलाई नियोजितरुपमा पक्राउ गर्नु सर्वथा निन्दनीय छ’ आचार्यले भने ।
प्रहरीले भने हतियार लामाको हातबाट बरामत भएको बताएको छ । ‘हतियार लामाको होइन भन्ने फुटेजमा देखिन्छ, तर प्रहरीले उनकै हातबाट बरामत गरेको छ’, नेपाल प्रहरीका एक डीएसपीले भने ‘लामाकै हातबाट बरामत भएपछि हामीले त्यसलाई प्रमाण मान्नु परयो ।’ लामाले पनि हतियार आफ्नो नभएको प्रहरीसँग दावी गरिरहेका छन् । तर प्रहरी भने जवरजस्ती स्वीकार गर्न लगाउँदै छ ।

लामाले डन, गन्डा नाइके जस्ता उपमा पाउदै आएका छन् । कन्सट्रक्सन कम्पनी चलाउँदै आएका लामाको जीवन शैली केही बर्षयता निकै बदलिएको छ । ठेक्कापट्टामा हुने गरेका विगतका हर्कतमा उनले सुधार ल्याएको प्रहरीले नै स्वीकार गरेका छ । लामाले आफ्नो जीवन शैलीमा सुधार मात्र ल्याएका छैनन् राजनीतिक क्षेत्रमा पनि उदाउने प्रयास थालेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा पुगेका लामा काभ्रेबाट २ पटक सांसदका उम्मेद्धार बनिसकेका छन् । पछिल्लो समय २० हजार जनमतले उनलाई रुचाउँदा पनि निर्वाचित हुन सकेनन् ।

राज्यको पहिलो कर्तब्य खराव हर्कत गर्नेलाई सुधार गर्ने हो । तर वर्तमान सरकारले हर्कत सुधार गर्दै आएका ब्यक्तिलाई पुनः अपराध कर्मतिर धकेल्दैछ । अपराध कुकर्म गर्नेले सजाय दिनु नै सवल राज्यको पक्ष हो तर अपराध कुकर्म गर्नेलाई पक्ष पोषण र जीवन शैली सुधार गर्दै आएकालाई पुन अपराधी बनाउने कार्य सुशासनको नमुना बन्न सक्दैन ।