• काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने सम्भावना टर्दै गएको छ । एमालेको एक उच्चस्रोत भन्छ ‘ओली कमरेड अहिले नै पार्टी एकता गरेर जाने मनस्थितिमा हुनुहुन्न ।’

    दुई तिहाईको समर्थनमा सरकारमा रहेर पाँच वर्ष ढुक्कसंग शासन सम्हाल्ने योजना बनाएका ओली एकाएक किन मोडिए त ? स्रोत भन्छ – माओवादीले निहूँ खोज्न सक्दैन, उसले राम्रो उपस्थिति पाएको छ, अहिले ओली कमरेड आफ्ना सपना पूरा गर्ने उद्धेश्यतिर लाग्नुभएको छ ।’

    चैतको पहिलो साताको डेडलक सकियो 
    केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले एक महिनाभित्रै पार्टी एकता हुने बताएका थिए ।

    त्यसपछि सरकार गठनका लागि एमाले र माओवादी आन्तरिक कसरतमा जोडिए । निरन्तरको प्रयासले एमाले र माओवादीबाट मन्त्रीहरु बने पनि आन्तरिक असन्तुष्ट ब्याप्त छ ।

    स्रोत भन्छ ‘ओली कमरेड अब एकता भन्दा पनि पार्टीको दशौं महाधिवेशनका लागि आर्थिक संकलनतिर लाग्नुभएको छ ।’

    पार्टी एकताका लागि गठित दुई कार्यदलले पनि ओलीको मनस्थिति बुझेर सक्रियता देखाउन छाडेका छन् । कार्यदलको समयसीमा समेत सकिएको छ । त्यसपछि फेरि समय थप गरिएको छ ।

    थपिएको समय पनि चैत १० गते सकिँदैछ । अहिले त्यो कार्यदल आफै लंगडो भएको छ । कार्यदलमा भएका कतिपय सदस्य नै मन्त्री बनिसके । एक कम्युनिष्ट विष्लेषक भन्छन् –हाम्रा साथीहरुको रोग नै पदमा पुगपछि आफ्नो जिम्मेवारी बिर्सनु हो ।

    ती विष्लेषकको भनाइलाई आधार बनाउने हो भने कार्यदलले चैत १० को सीमाभित्र पनि केही गर्नेछैन । किनकि दुई साता हुन लागेको छ कार्यदलको बैठक समेत बस्न नसकेको ।

    नेताहरुको यही मनस्थिति बुझेर होला एकताका योजनाकार एमाले उपाध्यक्ष बामदेव गौतमले भनिसकेका छन् – अब बैशाख ९ गते एकता घोषणा । एक महिना किन पछाडि सारियो ?

    जब कि फागुन १० गते अन्तरिम विधान र संगठन तथा अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदल गठन भएको थियो । त्यसले १५ दिनको समय पाएको थियो ।

    त्यसपछि १० दिन थपियो । अझै पनि यसले काम गरेको छैन ।

    के ले रोक्न सक्नेछ ? 
    एमाले र माओवादीका विचार फरक छन् । सत्ता र शक्तिका लागि मात्र भएको एकता सामान्य हो । यस्तो एकता एमाले–काँग्रेस, काँग्रेस–माओवादी, माओवादी–एमालेबीच भइसकेको छ ।

    यो एकता र पार्टी एकतामा आकाश पातालको फरक छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भनाईलाई मान्ने हो भने कुनै पनि हालतमा यो एकता हुन्न । किन त ? उनी भन्छन्, –सरकारमा जाने खेल बाहेक अरु केही पनि हैन, कार्यकर्तालाई भ्रम छरेको मात्र हो ।’

    एकता रोक्न सक्ने आधार पार्टीको नीति हो । एकता भइहाल्यो भने कि त एमालेको र कि त माओवादीको नीति सकिन्छ । एक वाम विष्लेषकलाई मान्ने हो भने एकता हुने अगाडि बढ्नका लागि हो । तर त्यो एकता आफूलाई मास्नका लागि होइन ।

    जनताको बहुदलीय जनवादका जबज र एक्काइसौँ शताब्दीको जनवाद यसका मुख्य अवरोधक हुन् । हुनत नेताहरु एकता महाधिवेशनबाट फैसला गर्ने गरी मस्यौदा तयार भइरहेको बताइरहेका छन् । तर त्यो कुनै दीर्घकालीन समाधान हुँदै नभएको ती विश्लेषकको भनाइ छ ।

    उनी त ठोकुवाका साथ भन्छन् –एमाले र माओवादीबीच एकता भए राप्रपाको जस्तो भाँडभैलो हुन्छ । राप्रपावादीहरुलाई मिलाउन त पूर्वराजा कस्सिएलान् तर एमाले–माओवादीलाई चीनले मात्र कति साथ देला त ?

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…