• काठमाडौं, चैत १०

    चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    सिटौलाले सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि पार्टीमा विचलन र स्खलन सुरु भएको तर्क गरे ।

    ‘हामी चुनावसम्म आइपुग्दा झन् बिग्रियौँ । टिकट वितरणमा नातावाद, कृपावादले परिणाममा क्षति पुग्यो । समानुपातिकको लिस्ट बनाउँदा हामीलाई हेर्नै दिइएन । सभापतिले एकलौटी गर्नुभयो । रामचन्द्रजीले साथ दिनुभयो,’ देउवासँगै पौडलको पनि गल्ती कोट्याउँदै उनले अगाडि भने, ‘राप्रपाजस्तो दक्षिणपन्थी पार्टीलाई सरकारमा ल्यायौँ, यो अर्को गल्ती थियो । पार्टीलाई क्षति गरायो । लोकतान्त्रिक गठबन्धन अर्को गलत कदम थियो । महन्थले हाम्रो सहयोगले जित्नुभयो, तर उहाँहरूकै कारण विमलेन्द्रजीले हार्नुभयो । हिजो नाकाबन्दी गर्नेहरू आज केपी ओलीजीका प्रिय भए । तर, हामीले नाकाबन्दीसमेत भन्ने आँट गरेनौँ । मैले व्यक्तिगत रूपमा नाकाबन्दी भनेँ, तर पार्टीले भन्न सकेन ।’

    उनले कार्यसम्पादन समिति र संसदीय बोर्ड विधानविपरीत गठन गरिएको भन्दै भंग गर्नुपर्ने माग गरे । यही तरिकाले नेतृत्व हिँडे पार्टी झन् सानो बन्ने उनको भनाइ थियो । ‘यही तरिकाले जानुभयो भने पार्टी झन् सानो–सानो बन्दै जान्छ र यही पार्टी तपाईं (सभापति)ले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ,’ सिटौलाले भने ।

    पटक–पटक सरकारमा बस्ने अवसर पाएर पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको उनले बताए । उनले पटक–पटक अर्थमन्त्री बनेर पनि किसान, मजदुर र खाडी मुलुकमा जानेहरूका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै रामशरण महतको पनि आलोचना गरे । ‘किसानका लागि, मजदुरका लागि, खाडी मुलुकमा जानेहरूका लागि कार्यक्रम ल्याउन सकेनौँ, अनि हामीलाई किन जनताले भोट दिने ? जनताले किन पत्याउने ?,’ सिटौलाले प्रश्न गरे । उनले विधानअनुसार पार्टी नहिँडे अराजकता मौलाउने बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…