• काठमाडौं । संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा जाने सात सांसदमध्ये ४ जना प्रतिनिधिसभा, दुईजना प्रदेशसभा र एकजना राष्ट्रियसभाका  छन्।

    फोरमको १५ सदस्यीय टोलीको नेतृत्व उपाध्यक्ष रेणु यादवले गर्नेछिन् ।  प्रतिनिधिसभा सदस्यहरु रेणु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ ।

    त्यस्तै केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव चीन जाँदै छन् ।

    टोलीको नेतृत्व गर्दै चीन जान लागेकी पार्टी उपाध्यक्ष यादवले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चुनावअघि नै आएको बताइन् । उनले भनिन्, ‘चुनावमा व्यस्त हुनुपरेकाले त्यतिबेला जान सकेनौं । अहिले जान लागेका हौं।’

    मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेको उनले बताइन् । भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने कार्यक्रम छ । सातदिने भ्रमणका लागि निस्किने टोली गोन्जाउ, गुल्याङ हुँदै बेइजिङ पुग्नेछ । टोलीमा सहभागी हुन लागेका सांसद प्रदीप यादवले भने, ‘चीनले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिएको छ ।’

    सरकारसँग सशंकित
    सरकारमा जान लागेका संघीय फोरमका नेताहरू  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सशंकित भएका छन्।

    संविधान संशोधन गर्ने प्रतिबद्धतामा लिखित सम्झौता गर्न हिचकिचाइरहेको भन्दै फोरम नेताहरु सत्तासीन दलप्रति सशंकित भएका हुन् । सोही  कारण पार्टी सरकारमा जान ढिलो भएको फोरमका महासचिव रामसाह यादवले बताए ।

    उनले भने, ‘संविधान संशोधन गर्ने लिखित सहमति नभई हामी सरकारमा जान्नौं ।’ लिखित सहमति नभएकै कारण पार्टी सरकारमा नगएको पनि उनले प्रस्ट पारे । उनले भने, ‘अरु कुनै कारण छैन, लिखित सहमति नभएका कारण सरकारमा नगएका हौं।’

    प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गरेयता प्रधानमन्त्री र फोरमका अध्यक्षबीच  औपचारिक वार्ता भएको छैन । औपचारिक वार्ता कहिले हुने भन्ने विषयमा आफूलाई जानकारी नभएको महासचिव यादवले बताए ।

    सांसद प्रदीप यादवले प्रधानमन्त्रीले सहरी विकास  र खानेपानी मन्त्रालयलाई फुटाएर आफूहरूलाई धोका दिएको आरोप लगाए ।

    उनले भने, ‘केपी ओली र प्रचण्डजीले हामीलाई सहरी विकास खानेपानी र स्वास्थ्य मन्त्रालय दिन्छौ भन्नुभएको थियो । तर अहिले उहाँहरुले सहरी विकासबाट खानेपानी मन्त्रालयलाई अलगअलग गर्नुभएको छ ।’

    सरकारले फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने आश्वासन दिएको पनि उनले बताए। सरकारले संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नगरेका कारण पार्टी सरकारमा जान ढिला भएको उनले बताए।

    फोरमले सरकारमा जाने औपचारिक निर्णय  गरिसकेको छ । तर सरकारमा कसकसलाई पठाउने भन्नेबारे पार्टीले निर्णय गरेको छैन । सरकारमा जान अलमल भएपछि पार्टी अध्यक्ष उपेन्द्र यादव गृहजिल्ला सुनसरी गएका छन् । उनी केही समय उतै रहने कार्यक्रम छ। (नागरिक दैनिक)

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…