• काठमाडौँ, ११ चैत, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ ।

    निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाए ।

    उनीहरुले पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेल्न नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरुप हात पार्न नसकेको टिप्पणी गरे ।

    बैठकमा सभापति देउवा पक्षधर नेताहरुले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गरे ।

    बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी अहिले जुन अवस्थामा छ, यो बेला एकले अर्काप्रति आरोप प्रत्यारोप गर्नेभन्दा पनि कमीकमजोरीलाई सुधारेर अघि बढ्न आवश्यक रहेको दृष्टिकोणबाट सुझाव आएको जानकारी दिए ।

    अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको आन्तरिक अवस्था, टिकट वितरणमा विभेद र प्रचार रणनीतिमा कमजोरी तथा विपक्षको आरोपको खण्डन र प्रतिवाद उचित ढंगबाट हुन नसक्दा अहिले नेपाली काँग्रेस कमजोर जस्तो देखिन पुगेको धारणा बैठकमा अधिकांश सदस्यहरुले राखेको बताए ।

    उनीहरुले पार्टीलाई सबल र सुदृढ बनाउने सन्दर्भमा उठेका प्रश्नका बारेमा सभापति र महामन्त्रीले गम्भीर ढंगले आत्मसात् गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने सुझाव दिनुभएको उनले बताए ।

    अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले विगतमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई जुन परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिर्जना गरियो, त्यसैको नतिजाका कारण नेपाली काँग्रेसले अहिलेको अवस्था भोग्नुपरेको दृष्टिकोण प्रस्तुत गरे ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबारको बैठकमा केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीन्द्रराज जोशी, कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बडूले आ–आफ्ना धारणा राखेका थिए ।

    समितिको अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…