• काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगो कांग्रेसको संगठनलाई विधान विपरित कार्य गर्दै टुप्पीमा समाएर फनफनी घुमाइरहँदा ८१ सदस्यीय केन्द्रीय कार्य समिति बैठकमा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबाहेक कसैले पनि आलोचना गर्न सकेनन् ।

    चार महिनाअघि सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन र करिव एघार महिनाअघि देखि भएको स्थानीय तहको निर्वाचनको मत परिणामको विषयमा समीक्षा गर्न बाहेक बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवालाई सबैलाई मिलाएर लैजान र गुटको अन्त्य गर्दै महासमिति बैठक बोलाउन बाहेक अरु खास सुझाव दिन सकेनन् ।

    चुनावपछि हरेक गोष्टी, भेला, सेमिनार र चिया पसलमा नेतृत्वका चर्को आलोचना गर्दै आम सञ्चारमाध्यममा छाएका भनिएका कतिपय केन्द्रीय सदस्यहरुले ओलचना भन्दा सुझाव मात्र दिएका छन् ।

    लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र शान्ति प्रक्रियाका नेता कृष्णप्रसाद सिटौलाले देउवाको विधान विपरितको कार्यले नै पार्टी निर्वाचनमा पराजित भएको तथ्य प्रस्तुत गरेका थिए ।

    बैठकको शुरुमा नै सिंह र सिटौलाले देउवाले विगत एक वर्षदेखि पार्टी हित विपरीत र विधान कुल्चेर गरिएका निर्णयको फेहरिस्त प्रस्तुत गरेपछि सभापति देउवा नै रन्थनिएका थिए । दुई महामन्त्रीको विषबमनबाट अवाक भएर छटपटिएका देउवाले खाजा खाने समयसम्म बैठक स्थगित भनेर शनिबारसम्म सारेका थिए ।

    सिंह र सिटौलाको प्रहार खप्न नसकेको देउवा प्राईम बैंकका सञ्चालक उमेश श्रेष्ठको निवासमा खाजा खान पुगेका थिए । देउवाले आफूविरुद्ध धेरै बोले देखाई दिने भन्दै सबै केन्द्रीत सदस्यलाई बैठकअघि धम्क्याएका थिए । उनले यस्तो धम्की आफ्ना आसेपासे केन्द्रीय सदस्यमार्फत दिएका थिए ।

    प्रत्यक्षमा चुनाव लडेकालाई खर्चपानी व्यक्तिगत रुपमा उपलब्ध गराएको भनेर बार्गेनिङ गरेका थिए । उनले समानुपातिकबाट सांसद भएकालाई गुण लगाएको दाबी गरेका थिए भने कसैले आफूलाई असयोग गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए ।

    देउवाविरोधी खेमाको रुपमा पहिचान बनाएको रामचन्द्र पौडेल नेतृत्वको गुटमाथि फुटाउ र राज गरको नीति अपनाएका देउवाले दुई वर्षअघि पनि संस्थापन पक्षबाट सिटौलालाई तेस्रो धारको नेतृत्व गर्दै चुनावी मैदानमा आमन्त्रण गरेका थिए भने अर्जुननरसिंह केसीलाई आफ्नो गुटमा भित्र्याएर महामन्त्रीमै उम्मेदवार बनाएका थिए ।

    महामन्त्रीमा बीपी पुत्र शशांक कोइराला निर्वाचित भएपछि देउवाले उनी कोइरालालाई पौडेलको साथबाट अलगत गर्न सफल भएका छन् । गत वर्ष भएका नेविसंघ, महिला संघ र नेपाल तरुण दलको महाधिवेशनमा पौडेलले गुटको नेतृत्व गर्ने भनेर आफू निकटकालाई मात्र अवसर दिएपछि पौडेल र कोइरालाबीच सम्बन्ध चिसिएको थियो ।

    संघीय संसदको निर्वाचन परिणाम आइसकेपछि संसदीय दलको नेता चयनको क्रममा पौडेल गुटबाट सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका प्रकाशमान सिंहलाई कोइरालाले साथ नदिएपछि पौडेल गुट विभाजित भएका थिए ।

    कोइरालाले सभापति देउवाले गरेका कनै पनि कमजोरीको आलोचना गरेका छैनन् बरु सभापति देउवाकै बचाउ गरेका छन् । हाल जारी कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा समेत महामन्त्री कोइरालाले के विषयमा छलफल हुने भन्ने लिखित एजेण्डासमेत प्रस्तुत गरेनन् ।

    सभापति देउवाविरुद्ध पौडेल गुटका सिंहले १९ बुँदे लिखित आरोप लगाउँदा समेत पौडेल गुटका अन्य सदस्यहरु किन तैं चुप मै चुप भ एभनेर यतिबेला पौडेल गुटमा आशंका उब्जिएको छ । सिंह र सिटौला दुवैले पार्टीलाई कमजोर बनाउने कार्यको मुख्य दोषी नै सभापति देउवा भएको निष्कर्ष निकालेका छन् ।

    दुवैले देउवालाई सत्ता प्राप्तीको लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि नपरेको भन्दै देउवाका हरेक विधान विपरितको कार्यको नेता रामचन्द्र पौडेलले समर्थन गरेको आरोप लगाएका छन् । सिंह र सिटौला दुवैको गम्भिर आरोप थियो ।

    २०७२ सालमा संविधान जारी गरेर ऐतिहासिक काम गरेका तत्कालिन सभापति सुशिल कोइराला र कांग्रेसलाई कमजोर बनाउन देउवा प्रस्तावक र पौडेल समर्थक भएर प्रधानमन्त्रीमा उम्मेदवारी दिनु नै गम्भिर त्रुटि भएको दुवै नेताको ठहर छ । ति दुवै  नेताको निष्कर्षप्रति देउवा गुटकै भनिएकी नेतृ डा.डिला संग्रौलाले समेत समर्थन गरेकी छन् ।

    त्यस्तै सिंह र सिटौला दुवैले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारलाई फिर्ता गरी प्रचण्डलाई खुसी बनाउने देउवाको क्रियाकलापले कांग्रेसप्रतिको विकर्षण र आलकेप्रियता देशव्यापी छाएको भन्दै पार्टीलाई सोही घटनाले बद्नाम गरेको बताएका थिए ।

    नाकाबन्दीको विरोध गर्न नसक्नु, लोकतान्त्रिक गठबन्धनको नाममा अन्य दललाई समर्थन गर्नु तर ती दल राप्रपा, फोरम र राजपाले कांग्रेसका उम्मेदवारलाई किन समर्थन गर्न सकेनन् ? भनी प्रश्न तेस्र्याएका थिए ।

    देउवाले विधान विपरित केन्द्रीय कार्य सम्पादन समिति र संसदीय बोर्ड गठन गरेको भनी धारणा राखेका सिंह र सिटौलाको भनाईलाई नरहरि आचार्यले समेत समर्थन गरेका थिए । सिटौलाले पार्टी भित्र सामन्ती संस्कारको अन्त्य नभएको भनेर आलोचना गरेपछि देउवा उनीसँग निकै चिढिएका छन् ।

    नवीन्द्रराज जोशीले पौडेल गुटका सशक्त नेता भए पनि उनले महासमिति बैठक बोलाउनु पर्ने र सभापतिको सम्बन्ध वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सुमधुर हुनुपर्ने मात्र बताएका थिए ।

    सभापति देउवाका कार्यशैलीको आलोचना गरेमा उनी कमजोर भएर सिटौला बलियो बन्न सक्ने आशंकाले पौडेल पक्षीय केन्द्रीय सदस्यहरुले देउवाको चर्को आलोचना गरेका छैनन् । कांग्रेस बैठकमा बोल्ने पौडेल पक्षिय नेताहरु कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बढुले समेत देउवाको खुलेर विरोध गरेनन् ।

    डिला पनि देउवाविरुद्ध ?
    सभापति शेरबहादुर देउवाले विधान विपरित र पार्टी हित विपरितका निर्णय र कार्यशैलीको रामचन्द्र पौडेल गुटका अधिकांश नेताले विरोध गर्न नसकिरहेको बेला देउवा पक्षधर भनेर चिनिएकी नेपाल महिला संघकी निवतृमान अध्यक्ष डा.डिला संग्रौलाले भने देउवाकै कमजोर औल्याउने हिम्मत गरेकी छन् ।

    देउवा गुटकी नेतृ डा.डिला संग्रौलाले पार्टीका सबै संरचनालाई पूर्णता दिनु पर्ने माग गरेकी छिन् । उनले पेश गरेको १७ बुँदे सुझावमा पार्टी भित्र मौलाउँदै गएको चरम गुटबन्दी एवं व्यत्तिवादी प्रवृत्तिलाई अन्त्य गर्दै पार्टीलाई विधान बमोजिम सामूहिक नेतृत्वको आधारमा चल्नु पर्ने र नेतृत्वल आत्माआलोचना एवं समीक्षा गर्नु पर्ने माग गरेकी छन् ।

    उनले नेता तथा कार्यकर्ताले आफ्नो व्यवहार र आचरणमा प्रजातान्त्रिक समाजवादको माध्यमबाट मुलुकलाई शान्ती र समृद्धि तर्फ उन्मुख बनाउने भूमिका खेल्नु पर्ने र पार्टीको संगठनात्मक ढाँचा र संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउँदै पार्टी संगठनका प्रमुख एवं पदाधिकारीहरुलाई इमान्दारीता एवं जवाफदेहिता बोध गराउनु पर्ने बताएकी छन् ।

    संग्रौलाले संघीय संरचनाअनुसार पार्टीलाई केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै वडा सम्मका संरचनाहरु त्यार गरी महासमितिको बैठक डाकी विधान संशोधन गर्न आवश्यक भएको बताएकी छन् ।

    उनले कार्यकर्ताको मूल्यांकन गर्न अभिलेख प्रणालीको विकास गर्न माग गर्दै मधेश आन्दोलन, आर्थिक नाकाबन्दी, विभिन्न जातिय, धार्मिक मुद्दाहरु, राज्यको पुनसंरचना पूर्व सभापति सुशिल कोइलारालाई पुनः प्रधानमन्त्रीमा उठाउने निर्णय, सरकारमा रहँदा केही विवादस्पद निर्णयको परिणाम जस्ता महत्वपूर्ण विषयहरुमा कांग्रेसले ढोस र दुढ धारणा बनाउन नसक्नुले पनि सबै तहको निर्वाचनमा पराजयको पीडा भोग्नु परेको महत्वपूर्ण कारण भनी पार्टी सभापति देउवाको आलोचना गर्ने हिम्मत गरेकी छन् ।

    उनले चुनावको पराजयको आन्तरिक कारण मुलतः टिकट वितरण र्दा बिना मापदण्ड, प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न नसक्नु हो भन्दै कांग्रेसले बनाएको लोकतानित्रक गठबन्धन फितलो र प्रभावकारी हुन नसक्नुलाई दोस्रो मुख्य कारण भएको बताएकी छन्, जनप्रहारमा उल्लेख छ ।

    केन्द्रीय सदस्य संग्रौलाले कांग्रेसलाई अब मास बेसबाट क्याडर बेसमा रुपान्तरण गर्दै विधमान क्रृयाशिल सदस्य भन्दा माथि अर्को प्रतिबद्ध सदस्य बनाउनु पर्दछ । यसरी सदस्यताको तह साधारण, क्रृयाशिल र प्रतिबद्ध सदस्यता हुने व्यवस्था गरिनु पर्दछ भनी प्रस्ताव गरेकी छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…