मनिष कट्वाल
गत मङ्सिरमा सम्पन्न निर्वाचनमा भोगेको शर्मनाक पराजयपछि कांग्रेसमा अहिले कांग्रेसको पुनर्जीवनको खोजीसम्बन्धि गरमागरम बहस चर्किदो छ।कांग्रेसले हार्नुका पछाडि कारणहरु के के रहे भन्ने प्रश्न चोटिलो र पेचिलो दुवै छ।यहि प्रश्नको वास्तविक उत्तरसङ्गै सम्भवत कांग्रेस पुनर्जीवनको खोजी पनि सार्थक बन्छ।तर कांग्रेसको चरित्र उति भरोसायोग्य नै चाहिँ देखिन्न।कांग्रेसीको चरित्र नै कांग्रेसमा रुपान्तरण भएको कटुसत्यको बीचमा उति आश्वस्त बनिहाल्नुपर्ने अवस्था नभएकै हो।केन्द्रीय समितिमा अहिले जुन तरिकाले बहस अघि बढिरहेको छ अर्थात एक- अर्कामा आरोपप्रत्यारोपको जुन सिलसिला चुली टेक्दो छ त्यसले बताउँछ कांग्रेसको पुनर्जीवन कति सम्भव होला ? हामीले कांग्रेस हारको मुख्य कारण के हो त्यसको वास्तविक खोजीमा नै ध्यानाकृष्ट हुनसकेको छैन।बरु आगामी चौधौं महाधिवेशन केन्द्रित रणनीतिक जुहारी चलिरहेकोचाहि देखिन्छ।पार्टी कब्जाको रणनीतिबाट अभिप्रेरित केन्द्रिय समितिको बैठकले कांग्रेसको पुनर्जीवनको खोजी कुइरोको कागको नियति भोग्ने अवश्यम्भावी छ। कांग्रेसले आफ्नो जन्मको उद्देश्य तत्कालीन तमाम विभेद, कुरीति,जहनियातन्त्र र असमावेशी विरुद्धमा लक्षित गरेको थियो।तर इतिहासको यस कालखण्डमा कांग्रेस सबभन्दा रीतिहीन पार्टी बन्न पुगेको आभास सर्वत्र महसुस गरिएको छ।समावेशीता देखाउने दात मात्रै भएको छ।१५ सालमा वीपीले तय गरेको समावेशीको बाटोलाई अहिले उनै वीपीका अनुयायीहरुले काडेतारले छेकवार लगाएका छन।वीपीले मन,वचन र कर्मले नै समावेशीलाई कार्यान्वयन गर्नु भो र अहिले ठिक विपरीत उहाँको अनुयायीहरुले उसरी नै मन, वचन र कर्मले नै असमावेशीतालाई कार्यान्वयन गर्दैछन् । हाम्रो हारको पछाडि हाम्रो चरित्र, हाम्रो कर्म अनि हाम्रो सोच र दृष्टिकोण कति जिम्मेवार छ भनेर बहसमा ल्याइरहेका छैनौ बरु ध्यान अर्कैतिर मोडेर कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर कुददैछौ।
हामीले निर्वाचन लडदै गर्दा हाम्रो तयारी कति पनि रहेनछ भन्ने निर्वाचन परिणामले सावित गरिसकेको छ। जनताको बीचमा जाने हाम्रा एजेन्डा गतिला थिएनन् ।हाम्रो नेतृत्वमा भएका उपलब्धिहरुको सिलसिलेवार व्याख्या जनताको माझमा गर्न सकेनौ।प्रदेशमा कुन तह र स्तरको नेतृत्वलाई स्थापित गरेर लैजाने वा को र कस्तो नेतृत्वले समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रक्रियामा सहभागी हुने? यसबारे त झन कांग्रेस बेपत्ताझै थियो।राष्ट्रियरुपमै निर्वाचनलाई परिचालन गरिकन कांग्रेसको पक्षमा जनमत तयार पार्ने एउटा थिङ्क ट्याङकसहित पार्टी हाइकमाण्डको टीम तयार गरिनुपर्थ्यो तर त्यस्तो केही हुन सकेन।बरु आसेपासे,भजनमण्डली र चुलाचौकासका मान्छेलाई टिकट दिने कर्मकाण्डमा रमाउनु नेताहरुको नियती बन्यो। परिणामत: आज कांग्रेस खोपीको सानो कदको आखिझ्यालबाट राजनीतिको विशालतम दुनियाँलाई निरीह बनेर चियाउन विवश छ। प्रारम्भदेखि नै समावेशीलाई आफ्नो मुल ध्येय अनि मार्ग निर्देशक सिद्धान्तका रुपमा अवलम्बन गर्दै आएको कांग्रेसले आज झन बढी समावेशीको औचित्य र आवस्यकताको खोजी चरम ढंगले भइरहेको सन्दर्भमा त्यसको मुल मर्मबाट नै विमुख हुँदैगएको प्रतीत हुन्छ। एकातिर विचार र बहसको संस्कारलाई खोपिलामा थन्क्याउदै जाने अनि अर्कोतिर मार्ग निर्देशक सिद्धान्तका रूपमा रहेको समावेशीतालाई बाटोमा हिडदै गर्दा बिना सन्दर्भबस भेटेको भकुण्डोलाई न्वारानदेखिको बल लगाएर डाडा कटाउने गरि लात प्रहार गरेझैको प्रवृत्तिले कांग्रेसलाई कहाँ पुर्याउछ? उदाहरणबाट देख्न सकिन्छ अहिले कांग्रेसले समावेशी सिद्धान्तलाई कसरी अख्तियार गरेको छ? संघमा शेरबहादुर देउवा दलको नेता बन्नासाथ आफ्नो सबैभन्दा विश्वासपात्र बालकृष्ण खाणलाई मुख्य सचेतकमा ल्याए।
मुख्य सचेतक छान्दै गर्दा देउवाको आखाले आदिवासी जनजाति देखेन मधेसी पनि देखेन न त देख्यो महिला नै।यो एउटा प्रतिनिधि उदाहरण हो।उता प्रदेशको १ कथा झन कति हास्यास्पद छ अनि उत्तिकै निन्दनीय पनि। दलको नेता राजीव कोइराला , उपनेता हिमाल कार्की र मुख्य सचेतक केदार कार्की । एउटै समुदाय,उस्तै सम्प्रदाय अनि समबिशेषताको चरित्र र पात्रको खोजी प्रदेश न. १ को कांग्रेसको नियति बन्न पुगेको छ अझ चाखलाग्दो त के हो भने सल्लाह र मोलमोलाइमा यो सबै व्यवस्थापन गरिएको घामजस्तै छर्लङ्ग छ।जुन प्रदेशमा आदिवासी जनजातिको बाहुल्य छ , मधेसीको उल्लेख्य उपस्थिति छ उनिहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने कारण कांग्रेसले देखेन।महिलालाई त सधैं पछाडि पारिने प्रचलन कुनै नयाँ होइन। के यसरी नै कांग्रेसको पुनर्जीवन सम्भव छ त? के यी चरित्रहरु कांग्रेस पुनर्जीवनको उद्देश्यमा सार्थक बन्ला? यिनै प्रश्नको सहि उत्तरमा नै कांग्रेस पुनर्जीवनको सम्भावना छ; अन्यथा कांग्रेस पतनको यो त शुभारम्भ मात्रै हो।