• काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन्। 

    उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ। सरकार दायाँबायाँ अल्मलिने छैन। सबै क्षेत्रले सहयोग गर्नुहोस्।” 

    राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्रीले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्ययोजनाका साथ काम शुरु गरिसकेको जानकारी दिए। 

    अहिलेको मुलुकको अर्थतन्त्र अनुकूल छैन, अप्ठ्यारो अवस्थामा रहेको छ, यस्तो अवस्थालाई सदाका लागि अन्त्य गर्न सरकारको प्राथमिकता रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्नुपर्ने बताए। 

    उनले भने, “दुई छिमेकीको साथ र सहयोग लिई उनीहरुको विश्वास लिएर सरकारले काम गर्छ, उनीहरुले पनि सरकारसित सहकार्यका लागि तत्परता देखाइरहेका छन् ।” प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका कुरा गर्दा अधिनायकवाद नआउने स्पष्ट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र कसैले दिएको उपहार होइन, नेपाली जनताले दुःख गरेर ल्याएको व्यवस्था भएकाे बताए। 

    मुलुकको आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सहकारीको विकासका लागि सरकारको ध्यान गएको बताए। 

    दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), जापान, इण्डानेशियालगायतका देशका सहकारी विज्ञको सहभागिता रहेको छ। दुईदिने सम्मेलनमा सहकारी आन्दोलनका उपलब्धि, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले खेल्ने भूमिका, सहकारी विकासका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल हुनेछ। 

    सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले सहकारीको संख्यात्मक वृद्धिका साथमा गुणात्मक विकासको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा सहकारीसित भएका पूँजी पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा थप परिचालन गर्न सक्ने वातावरण सरकारले मिलाइदिने जानकारी दिए। 

    उनले भने, “राजनीतिक लोकतन्त्रका साथमा आर्थिक लोकतन्त्रलाई पनि सुदृढ बनाउनुपर्छ, सहकारी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डका रुपमा थप बलियो बनाउनुपर्छ।” 

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउन विनियमावली संशोधनका क्रममा रहेको जानकारी दिँदै सहकारीलाई उत्पादनसित जोड्नुपर्छ भने। उनले कृषि क्षेत्रमा सहकारीलाई थप आकर्षण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको चर्चा गरे। 

    कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले गरिबी निवारण गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याए। 

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान उच्च रहेको हुँदा अगामी दिनमा सहकारीलाई बलियो बनाउँदै लानुपर्छ भने। 

    सम्मेलन आयोजक संस्थाका अध्यक्ष केशव बडालले छिटो सहकारी विनियमावली ल्याउन माग गरे। रासस

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…