• किसोर श्रेष्ठ

    उर्लाबारी, असोज २

    दरिलो जोश, जाँगर, मेहनत र लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्, मोरङ उर्लाबारी –४ का युवा विज्ञान ढुंगाना

    उनले संचालन गरेको श्री माता पार्वता देवी एण्ड आविशकार बहुउदेश्य कृर्षी फार्मबाट ढुंगानाले यतिबेला राम्रो आम्दानी गर्न सफल भएका हुन् । २०६६ सालमा भारतको हरियाणाबाट ब्राउन सुइस जातका २ ओटा गाई ल्याएर व्यवासायीक गाईपालन सुरु गरेका उनको फार्ममा यतिबेला विभिन्न जातका ६० वटा गाईहरु रहेका छन् ।

    उर्लाबारी, तरहरा, बिराटनगर, धरान, कार्कणभिट्टा लगायतका शहरहरुमा दैनिक विहान बेलुकी गरेर १५० लिटरसम्म दुध बेच्दै आएका उनले सबै खर्च कटाएर वार्षिक ७ लाख रुपैयाँ सम्मको आम्दानी गर्दै आएका छन् ।

    वर्षेनी लाखौ नेपाली युवाहरु देशमा रोजगारीको अभाव रहेको, लगानी गर्ने वातावरण नभएको भन्दै विदेशी रहदाँ ढुंगाना भने स्वदेशमा नै पसिना बगाएर हिरा फलाउने उदेश्यका साथ गाई पालनमा रमाइ रहेका छन् । अर्काको देशमा घरपरिवार छोडेर दुनियाँको गाली खादै पसिना बगाउँन जानूभन्दा आफ्नै देशमा परिवारको साथमा बसेर सकेको कमाउनु राम्रो हो । उनी भन्छन्, ‘आफ्नो देशमा दुःख, सुःख साट्ने परीवार त साथमा छन् फेरी विदेशमा पैसाको बोट पनि हुन्न परिश्रम गर्ने हो भने विदेशको भन्दा राम्रो सफलता त देशमा नै गर्न सकिन्छ ।’ स्याङजा भम्रणका क्रममा त्यहाँ रहेको गाई फार्मबाट आकर्षित भएर व्यवासायीक गाई पालन सुरु गरेका उनको फार्ममा अहिले व्राउन सुइस, क्राउनडाउन, होलस्टेन, इजेट थारोपकार, जर्सी, लियङदी जातका गाईहरु रहेका छन् ।

    झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसबाट २०६१ सालमा विविएस उर्तिण गरेका उनले गाईपालन गर्ने योजना सुनाउदा सुरुमा परीवारबाट खासै राम्रो प्रतिकृया पाएनन् । पढेलेखेको छाराले व्यापार व्यवसाय गर्ला भन्ने सोच राखेका बुबा आमाले गाई पाल्छु भन्दा केही असहयोज महशुष गरेका थिए उनले भने, ‘अहिले बुबाआमा एकदमै खुसी भएका छन् । विदेश भएको छोराले भन्दा पनि आफूहरुको स्याहार गर्दै देशमा नै राम्रो आम्दानी गरेको देख्दा उनका बुबाआमाको ओठमा यतिबेला खुसी छाएको छ ।’

    ११ जना कामदारका साथमा दैनिक गाईहरुको रेखदेखमा अहोरात्र खट्ने ढुंगाना गाईहरुको संख्या अझै बढाएर १ सयसम्म पुरर्याउने योजनामा छन् । उनको फार्ममा अहिले गाईका अलवा २ सय वटा कुखुरा, ५० वटा बाख्रा र १२ वटा टर्की समेत रहेका छन् । यी सबैबाट उनले वार्षीक १५ लाख सम्मको आम्दानी गर्छन् । सरकारले अनुदान दिएको खण्डमा बेरोजगार युवाहरुलाई निःशुल्क गाई प्रदान गर्ने उनको योजना छ । ‘देशमा बढ्दो बेरोजगार समस्यालाई मध्यनजर गर्दै युवाहरुलाई स्वदेशमा रोजगार बनाउने उदेश्यले निःशुल्क गाई

    दिने योजना बनाएको छु ।,’ उनले भने ‘यसका लागी सरकारको सहयोग भने जरुरी रहन्छ ।’
    सरकारले वर्षेनी प्रदान गर्दै आएको सरकारी अनुदान वापतको रकम वास्ताविक कृर्षकको हातमा भन्दा पनि झोले कृर्षकको हातमा पर्ने गरेकोमा उनले गुनासो पोखे ।

    उनको फार्ममा अहिले १८ वटा गाईले दैनिक १५० लिटर दूध दिन्छन् । १९ वटा ब्याउनेवाला छन् भने अन्य कोरली गाई रहेका छन् । दूध बिक्रीबाटै मासिक ८० देखि ८६ हजारसम्म आम्दानी गर्ने गरेको ढुंगानाले बताए । ‘अहिले दैनिक १५० लिटर दूध बेचिरहेको छु,’ढुगनाले भने,‘मासिक रुपमा खर्च कटाएर ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ यहाँ दूध डायरीमा प्रतिलिटर ४८ रुपैयाँमा बिक्री हुन्छ । बालीनालीमा मलको काम गर्नेहुदाँ गाईहरुको गोबर १ टिपरको १० हजार र ट्राक्टरको ४ हजारले बिक्री गर्दै आएका छन् ।
    ढुंगाना हरेक दिन बिहान गाई गोठको सम्पूर्ण काम सकेर विहान ५ बजे दूध बोकेर उर्लाबारी बजार झर्छन् । उनले दूध बेचेर नै परीवार राम्रोसँग चलाएका छन् गाउँमा नै एक उदाहरण युवा बन्न सफल भएका छन् । नजिकमा प्राविधिक नहुँदा विभिन्न समस्या झेल्नु परकोले उनले आफै भेटेनरी समेत अध्यन गरेका छन् । अहिले उनी गाईहरुलाई लाग्ने सामान्य विरामहरुको उपचार आफै गर्ने गर्छन् । ‘व्यवासाय सञ्चालन गर्दा निकै कठिन समस्याहरु झेलियो,’ उनले भने,‘पशु सम्बन्धी प्राविधिक ज्ञान नहुँदा धेरै गाह्रो भएको थियो । त्यसैले आफै भेटेनरी समेत पढेको छु ।’

     

    ढुंगानाको कामलाई उनकी पत्नी भावनाले पनि सघाउँदै आएकी छिन् । उनको भाई वैदेशिक रोजगारीमा दुबईमा छन् । ‘भाईलाई यही बसेर व्यवसायमा सघाउन भने तर मानेन,’ उनले भने,‘विदेशमा ठक्कर खाएपछि यही व्यवसाय गर्नेगरी फर्किन्छ भन्ने विश्वास छ ।’ लाखौं खर्चेर मासिक २०–२५ हजार कमाउन विदेश जानुभन्दा स्वदेशमै बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिने ढुगनाको सुझाव छ ।

    २ वटा गाईको २ लाख ५० हजार र फार्म निर्माणमा २२ लाख खर्चेका उनको अहिले ५० लाख मुल्य बराबरको गाईहरु रहेको उनको बुझाई छ । पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहाने किसानहरुलाई निःशुल्क तालिम तथा परामर्श दिदै आएका उनलाई जिल्ला पशु सेवा कार्यालय मोरङले यस वर्षको उत्कृष्ट कृषक घोषणा गदै सम्मान गरेको छ । उनलाई नगद ५ हजार सहित प्रमाण पत्रले सम्मान गरेको हो ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …