• हेटौंडा, ६ असार । मंगलबारबाट हेटौंडामा सुरु नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेलामा समेत पार्टीको गुट रोग देखापरेको छ । भेलाको उद्घाटन कार्यक्रमको तालिका बनाउने विषयमा विवाद हुँदा कार्यक्रम नै ढिला गरी सुरु हुन पुग्यो । कार्यक्रममा नेताहरूको मन्तव्यका क्रममा समेत विवाद देखिएको थियो ।


    कार्यक्रममा आयोजकले नेता कृष्णप्रसाद सिटौलालाई मञ्चमा आमन्त्रण गरे तर उनी मञ्चमा जान चाहेनन् । नेतृत्वको कार्यशैलीप्रति आलोचना हुने संकेत देखिएपछि संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवालाई मात्र वक्ता बनाउने कार्यतालिका बनाएको थियो ।

    तर, एकाएक सभापति देउवा र वरिष्ठ नेताबाहेक उपसभापति विमलेन्द्र निधि र संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई समेत वक्ता बनाइने संकेत पाएपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह र सिटौला नेतृत्वसँग असन्तुष्ट भएका हुन् ।

    उद्घाटन सत्रमा पूर्वमहामन्त्री सिंह मञ्चमा आसीन भए पनि सिटौला भने मञ्चमै गएनन् । आयोजकले पटकपटक सिटौलालाई मञ्चमा डाक्दासमेत उनले बेवास्ता गर्दै सांकेतिक रूपमा मञ्च बहिष्कारको संकेत गरेका थिए ।

    यससँगै भेलामा वर्तमान संस्थापन पक्ष र पुरानो संस्थापन पक्ष विभाजित हुने देखिएको छ । संस्थापन पक्ष मानिने सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू भेलामा संस्थापन पक्षमाथि हुने प्रहारको बचाउ गर्नेतर्फ देखिँदा पुराना संस्थापनलाई कमजोर बनाउने दाउमा संस्थापन पक्ष लागेको हो ।

    कार्यक्रममा सभापति देउवाले भेलामार्फत विधान संशोधनको आधार तयार गरिने र महासमिति बैठक तत्काल बोलाउने भन्दै आफूमाथि हुन सक्ने सम्भावित प्रहारको बचाउ गरेका छन् । उनले गत निर्वाचनमा अन्तर्घातका कारण पराजय बेहोर्नुपरेको बताउँदै लडाइँ हारेको तर मैदान नगुमाएको बताए ।

    ‘निर्वाचनमा अन्तर्घातका कारण हारियो, लडाइँ हारेको हो, मैदान छाडेको छैन,’ सभापति देउवाले भने । वरिष्ठ नेता पौडेलले भेलामार्फत पार्टीभित्र देखिएको तिक्तताको अन्त्य गर्नुपर्ने बताए । ‘एकताको कुरा केही तिक्तताका कारण आएको हो, देखावटी एकताले केही गर्दैन, पार्टीलाई दिलैदेखिको एकता आवश्यकता छ, एकताको आधार के हो, फर्मुला केके छन् ? जिल्ला सभापतिहरूले भन्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

    उनले सरकार संवैधानिक न्यायालयलाई निस्तेज पार्नेतर्फ अघि बढिरहेको समेत बताए । ‘दुई तिहाइको छडी देखाएर सरकारले न्यायालयलाई समेत निस्तेज पार्न खोजेको छ, सरकार अधिनायकवादतर्फ उद्दत छ,’ पौडेलले भने ।

    उपसभापति विमलेन्द्र निधिले मुलुकको परिवर्तनको अगुवाइ गरेको कांग्रेसले हेटौंडा भेलामार्फत एकताको सन्देश दिने बताए । महामन्त्री डा. शशांक कोइरालाले एकआपसमा मेल नभई कांग्रेसको भविष्य उज्वल नहुने धारणा राखे ।

    उनले दुई कोरियाका बीचमा एकता भएको भन्दै आफ्नै पार्टीभित्र एकताका लागि कुनै असहज अवस्था नरहेको तर दृढ संकल्प आवश्यक रहेको औंल्याए । मंगलबारबाट सुरु कार्यक्रमको बन्दसत्र बुधबार बिहान सुरु हुने छ भने जिल्ला सभापतिहरूले बैठकमा आफ्नो धारणा राख्ने कार्यतालिका छ । राजधानी दैनिकले खबर छापेको छ ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…