काठमाडौँ , २४ असोज । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दै छ ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । सो समूहमाथि नौ महिनासम्म सार्थक
हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् । केही महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनले फोन गरेर जिम्मेवारी लिएका थिए ।
घटना प्रकृति पनि भारतमा बसेर नेपालमा असुली आतंक मच्चाउँदै आएका मनोज पुनसँग मिल्दछ । सो समूहले केही महिनायता ठूला ठेकेदारहरूलाई धम्क्याउँदै गोली हानेर तर्साउने र पछि पैसा माग्ने गरेको छ । बुटवलमा पनि तिवारीको हत्यापछि व्यापारीहरूलाई धम्क्याउँदै करोडौँ पैसा असुलेका थिए ।
सुरक्षाको दृष्टिकोणले गौचनलाई गोली हानी आपराधिक समूहका व्यक्ति सहजै भाग्न सफल हुनु पनि प्रहरीको गम्भीर त्रुटि हो । राजधानीको मुख्य क्षेत्रबाटै उनीहरू सहजै भाग्न सफल भए । कतिसम्म भने घटनास्थलमा प्रहरी करिब १५ मिनेटपछि मात्र पुगेको थियो । नजिकै सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घरको सुरक्षामा खटिएका प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न तदारुकता देखाएनन् । प्रहरी संगठनभित्रको चरम राजनीतिले पनि यस्तो घटना जन्माएको प्रहरी अधिकारीहरू बताउँछन् । यो समाचार आजको नयाँ पत्रिकाबाट ।