• भीम पराजुली, मेयर, विराटनगर महानगरपालिका



    स्वास्थ्य र शिक्षाको हब बन्दै गएको विराटनगर महानगरपालिकामा सरकारी र निजी स्तरमा खुलेको स्वास्थ्य संस्थाले उपचार र प्रविधिमा दिनदिनै फड्को मारिरहेको छ । निजी क्षेत्रका दुईवटा मेडिकल कलेज –नोबेल र विराट), विशेषज्ञता बोकेका थुप्रै अस्पताल र कोसी अञ्चल अस्पतालको सेवा–सुविधा र उपचारले यहाँ बिरामीको चाप बढ्दो छ । विराटनगर आखाँ अस्पतालमा दैनिक हजारभन्दा बढी भारतीय बिरामी उपचारका लागि आउँछन् । विराटनगर महानगरको गत साता सम्पन्न बोर्ड बैठकले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि विशेष योजनाहरु अघि सारेको छ । के छ त ? महानगरपालिकाको स्वास्थ्यसँग जोडिएका योजना । विराटनगर महानगरका मेयर भीम पराजुलीसँग कुराकानी :

    राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि विराटनगरको आफ्नै पहिचान छ । स्वास्थ्य क्षेत्रका लागि महानगरपालिकाको योजना के छ ? 

    मेयरमा मैले उम्मेदवारी दिएकै बेलादेखि विराटनगरको स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको छु । ४ वर्ष अगाडि खानेपानीमा देखिएको समस्याका कारण फैलिएको जन्डिस रोगले विराटनगरमा धेरैजनाको ज्यान गयो । त्यो घटनाले मलाई निकै दुखित तुल्यायो। खानेपानीमा सुधार ल्याउनका लागि कांग्रेसको नगर सभापति भएको हैसियतले मैले त्यति बेला पनि निकै प्रयत्न गरें । सुधार पनि भयो । विराटनगरको मेयर भएपछि खानेपानीको शुद्धतामा विशेष ध्यान दिएको छु । र, सरसफाइलाई अझ सुधार गर्न लागिपरेको छु।

    बोर्ड बैठकबाट स्वास्थ्यका क्षेत्रमा के–के योजना ल्याइयो त ?

    सरकारी स्तरबाट सञ्चालित कोसी अञ्चल अस्पतालको भौतिक पूर्वाधारमा सुधार ल्याएर यसलाई बर्थिङ सेन्टर बनाउने योजना अघि सारिएको छ । कोसी अस्पताललाई क्षेत्रीय अस्पतालमा परिणत गर्ने कोसिस भइरहेको छ । साथै, कोसी अस्पताललाई टिचिङ हस्पिटल बनाउने महानगरपालिकाको योजना छ । त्यस अुनसार काम अगाडि बढाइनेछ । असुरक्षित गर्भपतन रोक्न मातृ शिशु सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । छोरी जन्माउने आमालाई ३ हजार रुपैयाँ प्रोत्साहन रकम बाँडिने निर्णय गरिएको छ । जसका कारण ‘छोरी बचाऊ’ अभियानलाई मद्दत पुग्नेछ । यसले भ्रुणको पहिचान गरि गर्भपतन गर्ने काम रोक्न सहयोग गर्छ।

    सरसफाइको समस्याले पनि विराटनगरमा रोग निम्त्याउँछ । फोहरको व्यवस्थापन कसरी भइरहेको छ ?

    फोहरमैला विराटनगरको ठूलै समस्या हो । विराटनगर महानगरपालिकाले फोहर व्यवस्थापनका लागि ‘वेस्ट मेनेजमेन्ट कम्पनी’सँग ठेक्का सम्झौता गरेको छ । तर, कम्पनीको काम चित्तबुझ्दो छैन । राम्रोसँग काम भएन भने ठेक्का सम्झौता रद्द हुने चेतावनी दिइसकेको छु । उनीहरुले फोहरमैलाको व्यवस्थापन प्रभावकारी बनाउने आश्वासन दिएका छन् । फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइड बनाउन आवश्यक छ । फोहर व्यवस्थापन महानगरको पहिलो प्राथमिकतामै पर्छ । फोहोर व्यवस्थापन गर्ने प्रयासहरु भइरहेका छन् । छिट्टै सुधार हुनेछ।

    बाढीले डुबान क्षेत्रमा रोगको संक्रमण देखिएको छ । त्यहाँ के–के काम भइरहेको छ ? 

    साउनको अन्तिम साता आएको बाढीले विराटनगरका सबै घरमा पानी पस्यो । धेरै जनधनको क्षति भयो । पानीको स्तर घटेपछि डुबान क्षेत्रमा रोगको संक्रमण देखियो । तत्कालै स्वास्थ्य शिविरमार्फत रोगको पहिचान र निदानको काम भएको छ । धेरै ठाउँमा अहिले पनि स्वास्थ्य शिविर सञ्चालनमै छन् । डुबान क्षेत्रमा मच्छडको आंतक देखिएको छ । त्यहाँ दिनहुँजसो स्प्रे छर्ने काम भइरहेको छ । पानी जमेको ठाउँमा डढेको मोबिल र चुना छर्किने काम भइरहेको छ । यसले पनि डुबान क्षेत्रमा रोगको संक्रमण कम गर्ने काम गरेको छ।

    वडाहरूमा स्वास्थ्यको कस्तो अवधारणा लागू हुनेछ ?

    प्रत्येक वडामा स्वास्थ्य चौकी राख्ने अवधारण छ । विराटनगरको धेरैजसो वडामा पहिलादेखि नै स्वास्थ्य चौकी छन् । रानी र वैधनाथपुरको स्वास्थ्य चौकी १५–१५ शैय्याको बनाइनेछ । जहाँ स्वास्थ्यकर्मीको अनुभवी टिम खटाइनेछ । महानगरपालिकामा बसोवास गर्ने ९० वर्ष पुगेका व्यक्तिको घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाइएको छ । ब्लड प्रेसर, सुगर र ल्याब टेस्ट सबै घरमै गरेर आवश्यक औषधिको प्रबन्ध मिलाइएको छ । गरिब र विपन्नलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउने मेरो सोच छ । सरकारी र निजी अस्पतालबीच साझेदारी गरेर स्वास्थ्य सेवा सहज बनाउँछु । सरकारीस्तरमा सञ्चालित कोसी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालमा रुपान्तरण गर्न पहल गर्नेछु ।

    स्वास्थ्यखबर

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…