मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी)को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । सामान्यतया मानिसको रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी हुनुपर्छ । अर्थात मुटुको माथिल्लो चाप १२० र तल्लो चाप ८० हुनु भनेको उत्तम रक्तचाप हो । तर, अहिले विश्वमै उच्च रक्तचाप मानिसको मृत्युको सबैभन्दा प्रमुख कारण बनेको छ । उच्च रक्तचापलाई मानिसले वेवास्ता गर्दा यो हत्यारा नम्बर एकका रुपमा चिनिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्का सय करोड भन्दा बढी मानिसहरुको रक्तचाप नियन्त्रणमा छैन । रक्तचाप नियन्त्रणमा नभएका मानिसको संख्या अत्याधिक देखिएकाले यसका कारण हुने मृत्युको संख्या बढी भएको हो । उच्च रक्तचाप आफैँमा समस्या होइन । यसलाई वेवास्ता गर्दा भने खतरा निम्तिन्छ ।
उच्च रक्तचापलाई वेवास्ता गर्ने समस्या विश्वभर नै छ । त,र यो संख्या नेपालजस्ता देशमा झन् बढी छ । विकसित देशका मानिसहरुले अहिले यसलाई नियन्त्रणमा लिन औषधि सेवन गर्ने तथा उपचार गर्ने गरिरहेका छन् । विकसित देशका करिब ९० प्रतिशत मानिसहरुले यसको औषधिलाई स्विकार गरेका छन् । तर, नेपालमा भने अझै पनि ५० प्रतिशतले यसको औषधि स्विकार गर्न अनकनाइरहेका छन् । मानिसमा रहेको गलत धारणा र भ्रमका कारण पनि रक्तचाप नियन्त्रणमा ध्यान जान नसकेको हो ।
रक्तचापको समस्याबाट छुटकारा पाउन सजिलो छ । यसका लागि मानिसहरुले तीनटा कुरामा अनिवार्य रुपमा जोड दिनुपर्ने हुन्छ । त्यो भनेको रक्तचापको पहिचान, नियन्त्रण र रोकथाम हो । यस्लाई मुल मन्त्र वा सुत्र मान्ने व्यक्तिले रक्तचापलाई सहजै नियन्त्रणमा लिई समस्याबाट छुटकारा पाउन सक्छ ।
मानिसहरुले यी तीन कुरालाई वेवास्ता गरेकै कारण मृत्युको मुखमा पुग्नु परिरहेको हो । तथ्यांक अनुसार मुटुरोगले हुने मृत्युको ४५ प्रतिशत र मस्तिष्कघातले हुने मृत्युको ५१ प्रतिशत मानिस वर्षेनी उच्च रक्तचापको जोखिमले असामयिक मृत्युको सिकार हुने गरेका छन् । विश्वका २५ वर्षमाथिका ४० प्रतिशत र १८ वर्ष माथिका २२ प्रतिशतमा उच्च रक्तचाप भएको पाइन्छ ।
नेपालमा विभिन्न अध्ययनहरुको आधारमा हेर्दा लगभग ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप भएको पाइन्छ । काठमाडौंमा नै गरिएको अध्ययनमा पहिलादेखी थाहा नभएका ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको अवस्था फेला परेको थियो । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ । त्यसैले अहिले यो एउटा ठूलो जनस्वास्थ्य समस्या भइसकेको छ ।
यो समस्याबाट कसरी मुक्ती पाउने त ?
सबैभन्दा पहिला त उच्च रक्तचापको पहिचान नै हुनुपर्यो । आधाजसो मानिसलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नै हुँदैन । किनभने उच्च रक्तचापको लक्षण नै हुँदैन । लक्षण नै नभएका कारण मानिसहरुलाई आफ्नो रक्तचाप माथि चढेको थाहा हुँदैन । रक्तचाप बढेको थाहा नभएपछि त्यसले शरिरको भित्र बिगारिरहेको बारेमा पनि जानकारी हुँदैन । त्यसकारण रक्तचापको पहिचानमा नै सबैभन्दा पहिला जोड दिनुपर्छ ।
उच्च रक्तचापले कुन दिन हृदयाघात गराउँछ, मस्तिष्कघात गराउँछ वा मिर्गौला फेल हुन्छ भनेर पर्खेर बस्ने होइन । त्यो दिन आउनै नदिनका लागि पहिला नै रक्तचापको जाँच गरेर पहिचान गर्न अति आवश्यक छ । रक्तचापको समस्या भएकाले मात्र होइन प्रत्येक स्वस्थ व्यक्तिले नियमित रुपमा रक्तचापका जाँच अनिवार्य गर्नुपर्ने हुन्छ ।
कहिले–कहिले रक्तचाप जाँच्ने ?
रक्तचापको सम्भावित खतराबाट जोगिन १५ वर्षभन्दा माथि भएका व्यक्तिले नियमित रुपमा रक्तचाप जाँच्न आवश्यक छ । रक्तचाप जाँच गर्दा सामान्य अवस्थामा १२०/८० छ भने तीन तीन महिनामा रक्तचाप जाँच गरे हुन्छ । पटक–पटकको जाँचमा रक्तचाप सामान्य नै छ भने ६ महिनाको अन्तरालमा जाँच गरे पनि हुन्छ ।
तर, जाँचका क्रममा प्रि–हाइपरटेन्सन छ अर्थात् माथिको १२० देखी १३९ र तल ८० देखि ८९ सम्म छ भने महिनामा एक पटक अनिवार्य रुपमा रक्तचाप जाँच्नुपर्ने हुन्छ । प्रिहाइपरटेन्सन भनेको उच्च रक्तचापको बोर्डर लाइन हो । यदि कोहीले औषधि खाइरहेको छ र रक्तचाप पनि माथिको १४० भन्दा माथि र तलको पनि ९० भन्दा माथि छ भने अनिवार्य रुपमा १५–१५ दिनमा रक्तचाप जाँच गर्नुपर्ने हुन्छ ।
त्यसकारण सामान्य व्यक्तिदेखि रक्तचापको औषधि खाइरहेकाले पनि अनिवार्य रुपमा समय अनुसार रक्तचाप जाँच नियमित गर्नुपर्ने हुन्छ । जस्तो कसैले औषधि खाइरहेको छ तर रक्तचाप नियन्त्रणमा छैन भने चिकित्कसको परामर्श लिनु पर्ने हुन्छ । चिकित्कसले उसको अवस्था हेरेर औषधि थप्ने जीवनशैली तथा खानपिनमा परिवर्तन गर्ने लगायतका आवश्यक सुझाब दिन सक्छ ।
गम्भिर लक्षण आउने दिन मात्र कुरोर बस्ने हो भने धेरै ढिला भइसकेको हुन्छ । त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको पहिचान हुनु निकै आवश्यक छ । यसका लागि गाउँगाउँमा रक्तचाप नाप्ने व्यवस्था हुनुपर्छ । रक्तचाप जाँच गर्नुपर्छ भन्ने विषयमा जनचेतना समेत फैलाउन पर्छ ।
नियन्त्रण कसरी गर्ने ?
रक्तचापको पहिचान मात्र गरेर हुँदैन । यसलाई नियन्त्रणमा पनि लिन आवश्यक छ । नियन्त्रण भएन भने हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, रक्तनलीको समस्या, आँखाको समस्या जस्ता गम्भिर समस्या देखिन सक्छ । नियन्त्रण भनेको रक्तचापलाई १२०/८० को वरिपरि राखिरहनु हो । तर, प्राय व्यक्तिहरुको के देखिन्छ भने औषधि खाइरहेका हुन्छन् तर नियन्त्रणमा हुँदैन । त्यो भनेको सही उपचार नभएको हो । त्यस्तो समस्या भएकालाई पनि नियन्त्रणमा लिन औषधि परिवर्तन गर्ने, औषधिको मात्रा थपघट गर्ने, वा अन्य के कारणले नियन्त्रणमा नआएको हो त्यो पत्ता लगाउन जरुरी हुन्छ । संसारको तथ्यांक हेर्दा सय करोडको रक्तचाप नियन्त्रणमा छैन ।
नियन्त्रणमा किन हुँदैन भने हामी यसलाई हल्का रुपमा लिन्छौँ । मानिसहरु औषधि खाइरहेको छु केही हुन्न, थोरै बढेको त हो भन्दै वेवास्ता गर्दै जान्छन् । केही व्यक्तिहरुले करेला खाएर पनि पचाउँछु भन्दै औषधि सेवन गर्न मान्दैनन् । यस्तै औषधि खायो भने सधैँभरी खानुपर्छ म त खाँदिन भन्दै नखाने पनि छन् । मानिसहरुमा औषधिका बारेमा रहेका भ्रमका कारण पनि समस्या लिएर बस्नेको संख्या बढेको हो ।
अनियन्त्रित रक्तचाप नियन्त्रणमा लिने भनेको औषधि खाएर र जीवनशैली फेरेर नै हो । औषधिका भ्रम परेर बस्दा गम्भिर समस्या आइसक्छ । औषधि भनेको स्वास्थ्यलाई सुरक्षित राख्न बनाइएको हो । सामान्य साइड इफेक्ट सबै औषधिको हुन्छ । त्यो औषधि सेवनले बिरामीलाई धेरै गुणा लाभदायक हुन्छ ।
मानिसहरुले जीवनशैलीमा सकारात्मक परिवर्तन गर्दै जाँदा औषधिको मात्रा घटाउँदै औषधि नै बन्द गर्न समेत सकिन्छ । आजिवन औषधि नखान पर्ने अवस्था पनि आउन सक्छ । तर, यसका लागि औषधि सेवनसँगै जीवनशैलीलाई पनि सकारात्मक सुधार गर्नुपर्छ । औषधि खाएको छु भन्दैमा धुम्रपान, मद्यपान, बढी चिल्लो, रातोमासु सेवन गर्ने, फाइबरयुक्त खानेकुरा नखाने, फलफूल नखाने, व्यायाम नगर्ने र हिँडडुल नगर्ने हो भने त समस्या ज्यूँकात्यँु रहन्छ । अधिकांस मानिस औषधि खान्छन् तर जविनशैली परिवर्तन गर्दैनन् । त्यसकारण औषधि सेवन गर्नेदेखि लिएर सामान्य मानिसहरुले पनि जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्दै लैजानु पर्छ ।
उच्च रक्तचाप देखिएका केही व्यक्तिहरु जीवनशैली परिवर्तन गरेर मात्र घटाउँछु भन्ने पनि छन् । तर, मुटुमा, मिर्गौलामा समस्या भइसकेको व्यक्तिलाई औषधि नचलाई हुँदैन । ति व्यक्तिले जीवनशैलीमा परिवर्तन र खानपिनमा परिवर्तन गर्नेसँगै औषधि पनि सेवन गर्दै जानुपर्ने हुन्छ ।
सबै मानिसको लक्ष्य भनेको रक्तचाप सामान्य अवस्थामा नै राख्ने हुनुपछ वा नियन्त्रणमा राख्ने भन्ने हुनुपर्छ । यो लक्ष्यमा रहेका मानिसले सहजै रक्तचापलाई नियन्त्रणमा लिन सक्छन् ।
रोकथाम कसरी गर्ने त ?
रोकथाम गर्ने भनेको उच्चरक्तचाप हुनै नदिने हो । यसका लागि रक्तचाप सामान्य हुँदा नै रोक्ने तर्फ लाग्नुपर्छ । सामान्य अवस्थामा रहेका मानिसहरुको बढ्दो उमेर, वातावरण परिवर्तन, तनाव जस्ता कारणले पनि रक्तचाप बढ्न सक्छ । त्यसकारण यो कुरालाई बुझेर पनि मानिसलाई क्रमश आफूलाई सुधार गर्दै लानु पर्छ । आफ्नो बानिव्यवहार, खानपिनमा केके सुधार गर्दै जाने भन्ने कुरा नियमित जाँच गर्दै थाहा पाउनुपर्छ । गुलियो घटाउने हो की, मोटोपन घटाउने हो की, व्यावायम बढाउने हो की भन्ने कुरा पहिला नै थाहा पाएपछि राकेथाम गर्न सहज हुन्छ । धुम्रपान, मद्यपान छाड्ने, रातो मासुलाई कम गर्दै जाने कुरा पनि रक्तचाप नियमित जाँचका क्रममा थाहा हुन्छ । त्यसकारण आफुमा केके सुधार गर्दै जाने हो भन्ने कुरालाई फलो गर्दै जाने हो भने रोकथाम गर्न सकिन्छ ।
केही व्यक्तिमा वंशाणुगत समस्याका कारणले बढ्ने समस्या देखिने खतरा छ भने पनि नियमित चेकजाँचका क्रममा रक्तचापको वास्तविकिता बुझिन्छ र चिकित्सकको सल्लाहमा आवश्यक सुधार गर्न सकन्छ । रक्तचापलाई समयमा नै नियन्त्रणमा लिने हो भने यो ठूलो समस्या होइन र रक्तचापको नियन्त्रण हुनुभनेको धेरै नसर्ने रोगबाट जोगिनु हो । त्यसकारण आजै आफ्नो रक्तचाप जाँच गरौँ र रक्तचापको अवस्थाका आधारमा आफूमा सकारात्मक सुधार गर्दै स्वस्थ जीवन जिउने गरौँ ।