• ललितपुर कात्तिक २१, २०७४ ।

    ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् ।

    ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर चेकजाँच गरेको थियो ।

    ‘बिहानको समयमा कलेज आउने समयमा ट्राफिकको चेकिङ नहुने तथा कलेज छुट्दा पिक आवर भएको हुँदा कलेजका विद्यार्थीहरुले चलाउने सवारीलाई नियमन गर्न सकिरहेका थिएनौँ,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले नियम उल्लंघन गर्ने र दूर्घटनामा पर्ने संख्या पनि बृद्धि भएको पायौँ ।’

    मंगलबार बिहानै कलेजहरुको हब मानिएको कुमारीपाटी क्षेत्रमा चेकजाँच गर्दा १०३ जना ट्राफिक प्रहरीले विद्यार्थीहरुले ट्राफिक नियम उल्लघंन गरेको पाएको हाछेथुले जानकारी दिए ।

    कारवाहीमा पर्ने विद्यार्थीहरुले लाइसेन्स बिना सवारी चलाएको, तीव्र गतिमा सवारी चलाएको, मोटरसाइकलको स्वरुप परिवर्तन गरेको र दुई जनाभन्दा बढी सवार भएको पाइएको थियो ।



    ‘लाइसेन्स नबोकी मोटरसाइकल चलाउनेहरुलाई सामान्यतः चिट काटेर छाड्ने गरेका थियौँ । तर, विद्यार्थीको हकमा हामीले लाइसेन्स नल्याई सवारी नदिने भनेर त्यस्ता मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएका छौँ,’ हाछेथुले भने ।

    उनले विद्यार्थीका अभिभावकलाई पनि आफ्नो छोराछोरीले कसरी सवारी चलाइरहेका छन् भन्ने विषयमा ध्यान दिन पनि आग्रह गरे । ‘कलेज पढ्ने विद्यार्थीका आमाबाबुले आफ्ना छोराछोरीले लाइसेन्स बिनै सवारी चलाइरहेका छन् कि मोटरसाइकलको स्वरुप बदलेर ट्राफिक नियमको उल्लघंन गरिरहेका छन् कि भनेर एक पटक ध्यान दिन आग्रह गर्दछौँ । यसले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न र अप्रिय घटना घट्न नदिन मद्दत हुने थियो,’ उनले आग्रह गरे ।



    अबदेखि नियमित चेकजाँचको साथै आकस्मिक चेकजाँचलाई पनि तिव्रता दिने योजना हाछेथुले सुनाए । यसले दुर्घटना कम हुनका साथै ट्राफिक व्यवस्थापनमा पनि मद्दत मिल्ने उनले आशा व्यक्त गरेका छन् ।





सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…