November 13 2017
सेयर बजार परिसुचक नेप्सेले इतिहास रचेको दिन, २०७३ साउन १२ गते । उक्त दिन बजार सुचक १८८१.४५ अंकमा बन्द भएको थियो । त्यस दिन कारोबार भएका २३ वाणिज्य बैंकहरुको सेयर मूल्य अहिले कति तल झर्यो भन्ने विषयलाई तथ्य सहित प्रस्तुत गरिएको छ ।
२०७३ साउन १२ गतेबाट विभिन्न उतारचढावका बिच २०७४ कात्तिक २६ गते आइतबार बजार परिसुचक नेप्से १४७७.१४ अंकमा अडिएको थियो । यो सामग्रीमा आइतबारसम्मको तथ्यांक समेटिएको छ ।
आइतबारसम्मको तथ्यांकलाई हेर्दा बजारमा ४०४.३१ अंकको गिरावट देखिन्छ । वाणिज्य बैंकहरुको सेयर मूल्यलाई हेर्ने हो भने सुचकको गिरावटभन्दा धेरै तल आएको देखिन्छ । जसलाई उल्लेखित चित्रले अझै प्रष्ट पार्छ । जहाँ साउन १२, २०७३ अर्थात २७ जुलाई, २०१६ र कात्तिक २६, २०७४ अर्थात नोभेम्बर १२, २०१७ का दिन कायम भएको वाणिज्य बैंकहरुको सेयरमूल्यलाई देखाइएको छ ।
यो अवधिमा सबैभन्दा धेरै सेयर मूल्य परिवर्तन कुन वाणिज्य बैंकमा देखियो त ? प्रतिशतका आधारमा हेर्दा नेपाल बंगलादेश बैंकको सेयर मूल्य अधिक मात्रामा तल झरेको छ । बैंकको वित्तीय अवस्था, पूँजी वृद्धि लगायत कारणले सेयर मूल्यमा यस्तो गिरावट देखिएको हो । २०७३ साउन १२ गते बंगलादेश बैंकको प्रतिकित्ता सेयर १,०२२ रुपैंयामा अन्तिम पटक कारोबार भएको थियो । कात्तिक २६ गते उसको प्रतिकित्ता सेयर २८५ रुपैंयामा किनबेच भएको छ ।
समीक्षा अवधिमा बैंकको अघिल्लो आर्थिक वर्षको ३२ प्रतिशत बोनस तथा बोनस पछि कायम पूँजीको ८० प्रतिशत हकप्रद समायोजन भएको छ । उक्त पूँजीमा गत आर्थिक वर्षमा बैंकले बितरण गरेको १२ प्रतिशत बोनस पनि समायोजन भएको छ । यसरी साउन १२ गतेको बैंकको सेयर मूल्यमा उल्लेखित बोनस तथा हकप्रद समायोजन गर्दा बैंकको प्रतिकित्ता सेयर मूल्य ४२४ रुपैंया हुन आउँछ । तर सोमबार बैंकको प्रतिकित्ता सेयर मूल्य २८२ रुपैंयामा अन्तिम पटक किनबेच भएको छ । यो तथ्यले बैंकको हकप्रद भरेकाहरुले व्यहोरेको नोक्सानको आँकलन सहजै गर्न सकिन्छ ।