एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वभर १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्की (पिल्स) सेवन गर्छन ।
सन् १९६० को दशकमा गर्भनिरोधक पिल्सको सुरुवात भएदेखि नै यसको प्रयोग गर्दा हुने फरक फरक नकारात्मक प्रभाव (साइड इफेक्ट) देखिने गरेका छन् । केही समयअघि मात्र युरोपेली राष्ट्र डेनमार्कमा गरिएको एउटा अध्ययनले पिल्सको उपयोग गर्दा अवसाद (डिप्रेसन) हुने जोखिम बढ्छ ।
डेनमार्कका अध्ययनकर्ताहरूले करिब १० लाख महिलाको मेडिकल रेकर्डको अध्ययन गरेका थिए । १५ देखि ३४ वर्ष उमेर समूहका ती महिलामा पिल्स खानुअघि डिप्रेसनका कुनै पनि लक्षण देखिएका थिएनन् ।
गर्भनिरोधक पिल्स खाने महिलाहरूले पछि डिप्रेसनको उपचारका लागि औषधि खानु परेको वा अस्पतालमै भर्ना हुनु परेको अध्ययनकर्ताहरूले पत्ता लगाएका थिए । यो अध्ययनलाई सञ्चारमाध्यममा ‘गर्भनिरोधक पिल्स खानुहुन्छ भने डिप्रेसनका लागि तयार हुनुहोस्’ वा ‘गर्भनिरोधक पिल्स खानेमध्ये ७० प्रतिशत महिला डिप्रेसनको सिकार’ जस्ता शीर्षकमा निकै सनसनीपूर्ण समाचारका रुपमा प्रस्तुत पनि गरियो ।
युनिभर्सिटी अफ एबरडिनमा प्राइमरी केयरका प्रोफेसर फिल ह्यानफोर्डका अनुसार गर्भनिरोधक पिल्स र डिप्रेसनबीच त्यति गहिरो सम्बन्ध छैन जति सञ्चारमाध्यममा प्रचार भइरहेको छ ।
‘अत्यन्त न्यून मात्र असर पर्छ,’ उनी भन्छन् । उनी गर्भनिरोधक पिल्स प्रयोग नगर्ने सय महिलामध्ये बर्सेनि १.७ महिला डिप्रेसनग्रस्त हुने बताउँछन् । उनका अनुसार गर्भनिरोधक पिल्स सेवन गर्ने सय महिलामध्ये २ दशमलव २ महिलामात्र डिप्रेसनग्रस्त हुन्छन् ।
प्रोफेसर ह्यानफोर्डका अनुसार ० दशमलव ५ प्रतिशतको यो अन्तर कुनै ठूलो होइन । अर्थात् गर्भनिरोधक पिल्स सेवन गर्ने २ सय महिलामा एक जनामात्र धेरै ।
उनी के मान्छन् भने गर्भनिरोधक पिल्स सेवन गर्ने महिला डिप्रेसनग्रस्त हुने अन्य कुनै कारण हुन सक्छन् ।
उनी भन्छन्, ‘गर्भनिरोधक पिल्स सेवन गरिरहेका महिलाको आफ्नो पति वा पार्टनरसँग सम्बन्ध टुटेको हुन सक्छ, जसले गर्दा उनी डिप्रेसनग्रस्त हुन सक्छिन् ।’
गर्भनिरोधक पिल्स सेवनबाट डिप्रेसनग्रस्त हुने जोखिम मात्र हुँदैन । यसको सेवनबाट रगत जम्ने जोखिम पनि हुन्छ, जुन घातक हुनसक्छ ।
गर्भनिरोधक पिल्स सेवनका यी नकारात्मक असरको बेवास्ता गरे स्थिति निकै बिग्रन पनि सक्छ ।
बर्लिनस्थित हार्डिङ सेन्टर फर रिस्क लिटरेसीका निर्देशक जर्ड गिगेरेनजर भन्छन्, ‘बेलायतीहरू गर्भनिरोधक पिल्स सेवन गर्न डराउँछन् । त्यहाँ सन् १९६० देखि नै गर्भनिरोधक पिल्स सेवन गर्ने महिलाहरू यसबाट रगत जम्ने वा थ्रोम्बोसिस हुन सक्छ भनेर चिन्तित हुन्छन् ।’
एउटा अध्ययनअनुसार अहिले प्रयोग गरिने तेस्रो पुस्ताको गर्भनिरोधक पिल्स सेवनबाट थ्रोम्बोसिसको जोखिम दुई गुणा बढ्छ । धमनी वा शिरामा रगत जम्ने रोगलाई थ्रोम्बोसिस भनिन्छ ।
तर सबैभन्दा महत्वपूर्ण प्रश्न हो– गर्भनिरोधक पिल्स सेवनबाट महिलाको स्वास्थ्यमा कति जोखिम उत्पन्न हुन्छ र यसबाट महिला कति सावधान हुनुपर्छ ? केही समयअघि बेलायतको गार्डियन वेबसाइटले युवा महिलामाथि एउटा सर्ट फिल्म निर्माण गरेको थियो, जसको मृत्यु रगत जमेर (थ्रोम्बोसिसबाट) भएको थियो । ती सबै महिला हर्मोनल वा गर्भनिरोधक पिल्स सेवन गरिरहेका थिए ।
सर्ट फिल्ममा महिलाले गर्भनिरोधक पिल्सबाट हुने मृत्यु वा जोखिमबारे राम्रोसँग बुझे भने त्यस्ता पिल्स सेवन गर्दैनन् भनेर दाबी गरिएको थियो । ‘गर्भनिरोधक पिल्स सेवन गर्ने १० हजारमध्ये केही महिलाको मृत्यु हुन्छ भन्ने भनाइ पूर्ण रुपमा सही होइन,’ फ्याकल्टी अफ सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थकेयरका उपनिर्देशक डाक्टर सारा हार्डम्यान भन्छिन्, ‘१० हजारमध्ये ५ देखि १२ जना महिलाले रगत जम्ने गुनासो गर्छन् तर ती सबैको मृत्यु हुँदैन । थ्रोम्बोसिसबाट सय महिलामध्ये एक जनाको मृत्यु हुन्छ ।’
उनका अनुसार प्रति १० लाख महिलामध्ये गर्भनिरोधक पिल्सका कारण थ्रोम्बोसिस भएर ३ देखि १० जनासम्मको मात्र मृत्यु हुन्छ ।
यसको अर्को पक्ष के हो भने गर्भनिरोधक पिल्स सेवन नगर्दा गर्भवती हुने सम्भावना बढ्छ र गर्भावस्थामा रगत जम्ने वा थ्रोम्बोसिस हुने सम्भावना कैयौ गुणा बढ्छ ।