• ४ पुस, काठमाडौं ।

    प्रदेश नम्बर २ मा बहुमत सिट जितेको राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशको राजधानी बाहेक मुख्यमन्त्री र प्रदेशको नाममा छलफल गर्न बाँकी रहेको जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजधानी जनकपुर बाहेक अरुमा छलफल नहुने बताए ।

    अनलाइनखबरसँग कुरा गर्दै महतोले भने- २ नम्बर प्रदेशमा हाम्रो (मधेस केन्द्रित दल) को बहुमत पुगेको छ । जनताको म्याण्डेट अनुसार काम गरेर देखाउनुपर्ने चुनौति पनि आएको छ । प्रदेशको राजधानी जनकपुर हुन्छ अरु कुरामा प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नेछ ।

    प्रदेश २ को मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरममध्ये कसले पाउने भन्ने छलफल नभएको महतोले बताए । उनले भने- भर्खर चुनाव सकिएको छ, पूरै परिणाम आइसकेको छैन, मुख्यमन्त्रीका लागि हामीसँग एकसेएक योग्य व्यक्ति छन् । सहमतिबाट मधेसवादी गठबन्धनकै एक व्यक्ति हुनेछन् ।

    प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षमा आइपुगेको भन्दै महतोले प्रमुख प्रतिपक्षसँग सहमति गरेर प्रदेशसभाको नाम र राजधानी तोकिने बताए । उनले भने- प्रदेशको नाम मधेस प्रदेश हुन पनि सक्छ । मिथिला प्रदेश हुन पनि सक्छ । जनताले मधेस प्रदेशका लागि अभिमत दिएका छन्, नाम के राख्ने भन्नेमा हामी धेरै विवाद गर्दैनौं, प्रदेशसभाको दुई तिहाइले गर्नेछ ।

    २ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोस्रो स्थान जितेर एमाले प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ भने कांग्रेस तेस्रो र माओवादी चौथो स्थानमा छन् । महतोले प्रदेश २ मा मधेस केन्द्रित दलले प्रदेश सरकार बनाउने बताए ।

    केन्द्र सरकारसँगको सम्बन्ध एमालेको व्यवहारमा निर्भर

    कांग्रेस नेता बिमलेन्द्र निधीलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महतोले केन्द्रीय सरकारसँग मधेसको सम्बन्ध संविधान संशोधनमा उसको भूमिका अनुसार निर्धारण हुने बताए । उनले संविधान संशोधनबारे एमालेको दृष्टिकोण के हुन्छ त्यसअनुसार सम्बन्ध निर्धारण हुने बताए ।

    महतोले भने- संविधान संशोधनको पक्षमा मधेसको अभिमत आएको छ । मधेससँग वामपन्थी गठबन्धनले सहकार्य गर्छ कि गर्दैन भन्ने कुरा संविधान संशोधन गराउन उसले लिने अग्रसरतामा भर पर्छ, अहिले म धेरै कठोर टिप्पणी गर्न चाहान्नँ ।

     

     

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…