• ५ पुस, काठमाडौं

    नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधनका लागि पहिलोपटक ठूलो रकमको विदेशी लगानी भित्रिएको छ । २० जना चिनियाँ व्यवसायीको समूहले अहिलेसम्मकै ठूलो लगानी नेपाल ल्याउन स्वीकृति पाएको छ ।

    उनीहरुको यो लगानी भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले नेपालमा ल्याउने घोषणा गरेको रकमभन्दा ठूलो हो ।

    चीनका व्यवसायीले जडीबुटी खेती र प्रशोधन उद्योग स्थापनाका लागि गरेको लगानी प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागको वैदेशिक लगानी महाशाखा प्रमुख खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार खेतीसहितको एकैपटक विदेशबाट यति ठूलो मात्रामा लगानी नेपाल भित्रिएको पहिलोपटक हो ।गत वर्ष रामदेवले नेपालमा अर्गानिक उत्पादन थाल्ने दाबी गर्दै डेढ सय करोड रुपैयाँ लगानीको घोषणा गरेका थिए । तर, त्यसलाई टक्कर दिनेगरी चिनियाँ लगानीकर्ताले नेपालमा एकैपटक एक अर्ब ७६ करोड रुपैयाँ भित्र्याउन लागेका छन् ।

    चिनियाँ रकमबाट मकवानपुरमा जडीबुटी खेती र प्रशोधन केन्द्र स्थापना गरिनेछ । मकवानपुर जडीबुटी खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ ।

    चिनियाँ कम्पनीले समशीतोष्ण हावापानीयुक्त मकवानपुरको उत्तरी क्षेत्रलाई लक्षित गरेको छ । तर, खेती र उद्योग स्थापना गर्ने स्थानबारे केही जानकारी सार्वजनिक गरेको छैन ।

    लगानी स्वीकृति भएकाले व्यवसायीहरु कम्पनी दर्तासँगै रकम भित्र्याउने प्रक्रियामा लागेको उद्योग विभाग स्रोतले जानकारी दियो । मकवानपुरमा बोझो, घ्यूकुमारी, कुरिलो, लोठसल्लालगायतको व्यावसायिक खेती हुँदै आएको छ ।

    यस्तै, पाँचऔंले, सहदेव-सहदेवी, ठूलो ओखती, चुत्रो, पाषणवेद, सिन्कौली, पेटारे, स्यालघोतो, डिजिटालिस, कुकुर तरुल, बोके टिमुर, लोठसल्लालगायत ५० किसिमका जडीबुटी उक्त जिल्लामा पाइन्छन् ।

    नेपालमा पाइने अल्लो, चिराइतो, सतुवा, सुगन्धवाल, अर्गेली, जटामसी, अकरकारा, पदमचाल, मजिटो, डाले चुक र अत्तिसजस्ता वनस्पतिलाई पनि संरक्षण, प्रवर्द्धन र सदुपयोग गर्न सकिने चिनियाँ लगानीकर्ताको विश्वास छ । मकवानपुरका वन क्षेत्रमा पनि विभिन्न उपयोगी वनस्पति उपलब्ध छन् ।

    स्थानीय तहहरुले तिनको संरक्षण गर्दै उपयोग गर्ने योजना बनाएका पनि छन् । मकवानपुरको नामाटारमा यसअघि जंगली जडीबुटीबाट विशेष तेलको उत्पादन गरिएको थियो ।

    स्थानीय बासिन्दाको पहलमा थालिएको धसिङ्गारेको तेल उत्पादन अहिले बन्द छ । उत्पादनले बजार नपाएपछि प्रशोधन केन्द्र बन्द गरिएको हो ।

    मकवानपुर अदुवा खेतीमा पनि अग्रणी मानिन्छ । सोही कारण विभिन्न पक्षबाट उपयुक्त हुने र नेपालकै मध्य भागमा पनि रहेकाले कच्चापदार्थ आपूर्तिमा सहज हुने विश्वासका साथ चिनियाँ लगानीकर्ताले मकवानपुरलाई रोजेको हुन सक्ने विभागका अधिकारीहरु बताउँछन् ।

    उनीहरुले मकवानपुरमा स्थापना गर्ने उद्योगबाट सुगन्धित तथा औषधिजन्य तेल उत्पादन गर्नेछ । सँगै हर्बल पाउडरहरुको पनि उत्पादन गर्ने योजना उद्योग विभागमा उक्त समूहले बुझाएको छ ।

    सुख्खा प्रशोधित जडीबुटी पनि उत्पादन गर्नेगरी चिनियाँ लगानी स्वीकृत भएको छ ।

    नेपालबाट वाषिर्क करिब एक अर्ब रुपैयाँको जडीबुटी निर्यात हुन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ९९ करोड ५६ लाख रुपैयाँको जडीबुटी निर्यात भएको थियो ।

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रशोधित आयुर्वेदिक जडीबुटी पनि ६८ करोड रुपैयाँको निर्यात हुन्छ ।

    वन विभागका अनुसार नेपालमा हाल वर्षमा करिब चार हजार आठ सय ४० मेटि्रक टन जडीबुटी उत्पादन हुने गरेको छ । नेपालका जडीबुटीबाट प्रशोधित सुगन्धित तेल अहिले पनि फ्रान्स, जर्मनी, इटालीलगायत तेस्रो मुलुक निकासी हुने गरेको छ ।

    नेपालमा अहिले सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुन्छन् ।

    वनस्पति विभागका अनुसार सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजाति औषधिमा प्रयोग हुन्छन् । औषधिका रुपमा प्रयोग हुने जडीबुटी सबैभन्दा बढी कणर्ाली क्षेत्रमा पाइन्छन् ।


सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …