•  २०७६ आषाढ ११ बुधवार

    भद्रपुर, कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् ।

    एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, तत्कालीन नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल स्वतन्त्र कर्मचारी सङ्गठन र नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल वित्तीय कर्मचारी सङ्घ रहेका छन् ।

    तीन वटै सङ्गठनले राजनीति नगर्ने आचारसंहिता पारित गर्दै केही दिन अघि संयुक्त महाधिवेशनसमेत सम्पन्न गरेका छन् भने एकीकृत सङ्गठनको नाम ‘एकीकृत कर्मचारी सङ्गठन सहारा नेपाल साकोस’ हुने निर्णय गरेका छन् ।

    सहारा नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको छ र सदस्य सङ्ख्याका हिसावले यो नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था हो । यसका सदस्यहरुको सङ्ख्या एक लाख ५० हजार र कर्मचारी सङ्ख्या ७०० रहेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका पूर्व अध्यक्ष मोतिखर सञ्जेलले जानकारी दिनुभयो ।

    नेपाल स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष भवानी सुवेदी, नेपाल वित्तीय कर्मचारी सङ्घका अध्यक्ष शेरबहादुर कटुवाल र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष मोतिखर सञ्जेलले सङ्गठन एकीकरणमा संयुक्त हस्ताक्षर गर्नुभएको छ ।

    संयुक्त महाधिवेशनले यादवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष घिमिरेले विगतमा दलगत आधारमा कर्मचारीहरु छुट्टाछुट्टै सङ्गठित हुँदा संस्थाको भन्दा दलको स्वार्थमा बढी लाग्ने गरेको हुँदा त्यसबाट संस्थालाई नोक्सानी भएको निष्कर्षमा पुगेर लामो छलफलपछि तीन वटै सङ्गठन अब उप्रान्त राजनीति नगर्ने सहमतिका साथ एकीकरण भएको बताउनुभयो ।

    झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चुक्ता पूँजी रु। १ अर्ब २० करोड रहेको छ ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…