उर्लाबारी । जिल्ला स्तरीय परीक्षाको शुल्क ७५ रुपैयाँ बुबाले दिन नसके पछि पढाई,आमा,बुवा अनि पुरै समाजलाई छोडेर धनकुटाको आँखीसल्लाबाट तराई झरेकी सानी राईले १३ वर्षको अवधिमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । उनलाई सबैले उद्यमी राजकुमारी राई भनेर चिन्छन् । उहाँ अचेल मोरङको पथरीशनिश्चरे १ मा क्षितिज नर्सरी सञ्चालन गरेर मासिक ३० हजार कमाई गर्छिन् । भनिन्छ–‘सबै भन्दा साह्रो ढुंगा हो । तर, त्यो भन्दा साह्रो नहुनु हो’। घरबाट बुबाले कक्षा ८ को वार्षिक परीक्षामा लाग्ने शुल्क निकाल्न नसके पछि उनी २०५८ मा तराई झरिन् । उनीसँग कुनै योजना थिएन, १८ वर्षको उमेरकी एउटी युवती, ठूलो जिम्मेवारी भए पनि बिना योजना हिड्दा बिग्रने पनि उत्तिनै सम्भावना थियो । बरु जुठा भाँडा बाँझ्ने तर,गलत काम नगर्ने संकल्पका साथ घर छोडेकी राजकुमारी सुनाउछिन्– पोखरामा रहेका आफन्तहरूले घरको सफाई गर्ने काम पाइने भनेपछि पोखरा पुँगे । त्यहाँ पुग्दा पुग्न एक दिन ढिलो भएको भन्दै अर्कै महिला राखिसकेको रहेछ । अभागीको पहिलो गाँसमा ढुंगा भने झै भयो उनलाई ।
उनले भन्दै गईन् –त्यसपछि कपडाको फूल बनाउने सीप सिंकेर त्यसैको ब्यापार थालें । करिव ५÷६ वर्ष कपडाको फूल ब्यवसाय गरेपछि उनको मनमा प्राकृतिक फूलको ब्यापार गर्ने ईच्छा जाग्यो । भन्छिन्–कृत्रिम फूल त मानिस मन पराउँछन् भने प्राकृतिक किन मन नपराउनु ?त्यस पछि उहाँले २०६६ असारमा पथरी बजारमा नर्सरीको स्थापना गरिन् । जम्मा २८ हजारको लगानीमा । त्यसमध्ये १५ हजार ऋण काढेर । ५ वर्ष भयो राजकुमारी यो पेशामा आएको । यो अवधिमा उनले काम ,नाम र दाम रामै्र सँग प्राप्त गर्नसफल भएकी छिन् । अहिले नर्सरीमा १२५ जातका फलफूलका विरुवा छन् । नर्सरीमा १७ लाख रुपैयाँ लगानी भइसकेको छ । लगानीमा ऋण छैन् । तीन जनालाई मासिक ६ हजारका दरले रोजगार पनि दिएकी छिन् । राजकुमारी नर्सरीको मालिक हो । तर पनि कडा संघर्ष गर्न उनका हातहरू थाकेका छैनन् । बिहान उठे देखि साँझ सम्म उनी नर्सरीको गोडमेल र सिंचाई मानै ब्यस्त हुन्छिन् । भन्छिन्–अझै धेरै गर्नुछ । अर्काको भरमा केही काम छोड्दिन ।’ नर्सरीमा माटो भर्ने काम समेत आफू लागेर गर्ने गरेको उनले बताईन् । भाडाको डेढ कठ्ठा जग्गामा सञ्चालित नर्सरीको आम्दानीले उनले जग्गा पनि जोडिसकिन् । श्रीमान विदेशमा कमाउँदै हुनुहुन्छ, म यहाँ । अब विस्तारै टाउको लुकाउन घाम पानी छल्ने सानो घर बनाउने सोचेकी छुँ – एक छोराकी आमा राजकुमारीले भनिन् । उद्यममा लाग्ने प्रेरणा भने उनलाई हेफर इन्टरनेसनलले दिएको हो । हेफरको तालिम लिएपछि आत्मनिर्भर बन्ने प्रेरणा मिल्यो । समूह गठन भयो । समूह कै पैसाले ब्यवसाय सुरु गरें, उनको भनाई छ । ठूलो ब्यवसाय गरेर बसेकी ३१ वर्षीय छोरीको प्रगती देख्दा उनका बुबा आमा हर्षित छन् रे । राजकुमारीले भनिन् –अहिले मेरो ब्यवसाय हेरेर बुबा आमा भन्नुहुन्छ–छोरीलाई पढाएको भए देश नै हाँक्ने हुन्थी होला .....................।