काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बिहीबार पनि बस्दैछ । यसअघि बुधबार बस्ने भनिएको बैठक बस्दै बसेन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर सोमबार फर्केलगत्तै मंगलबार बैठक बस्ने भनिएको थियो । त्यो बैठक पनि बस्न सकेको थिएन ।
साउन १३ गतेदेखि यसैगरी बैठक बस्न सकेको छैन । त्यसअघिका बैठकमा पनि स्कुल विभागको हेडमास्टर तोक्न नसकेको बताउँदै सचिवालय बैठक स्थगित गरिएको थियो ।
पटक पटक तयारी नपुगेको भन्दै बैठक सर्दै आएको छ । बुधबार पनि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति जुटेन ।
पूर्व एमालेका नेताहरुबीच पनि छलफल भएको थियो । त्यो छलफल पनि सहममिा नपुगेको बताइएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच १५ महिना अघि पार्टी एकीकरण भए पनि अहिलेसम्म पार्टी पूर्ण एकीकरण हुन सकेको छैन ।
२०७५ को जेठ ३ गते काठमाडौंको भृकुटीमण्डपमा धुमधामका साथ पार्टी एकीकरण भएको थियो । तीन महिनाभित्र स्थानीयदेखि केन्द्रसम्म पूर्ण एकीकरण हुन्छ भनिएको थियो ।
तर खोइ अहिलेसम्म केही पनि भएको छैन भन्दै नेकपाभित्रकै नेता तथा कार्यकर्ताहरुले आक्रोश पोखिरहेका छन् ।
सरकारभित्र रहने रमाइरहेका छन् भने सीमितले मात्र जिम्मेवारी पाएका छन् । त्यसबाहेक हजारौं कार्यकर्ता बेरोजगार छन् ।
नेकपाभित्र विभाग विभाजनमै समस्या देखिएको छ । पछिल्लो समय स्कुल विभागमा आएर कुरो अल्झिएको बताइएको छ । स्कुल विभागको प्रमुख (हेडमास्टर) तोक्न नसकेर नेकपाको नेतृत्व छट्पटाएको देखिन्छ ।
स्कुल विभागमा ईश्वर पोखरेलदेखि नारायणकाजीसम्म र घनश्याम भुसालदेखि बेदुराम भुसालसम्मले आँखा गाडेका छन् । यो विभाग महत्वपूर्ण रहेछ भन्ने ठानेर वरिष्ठ नेता झलनाथ खनाल पनि आफूलाई जिम्मा दिए सम्हाल्न तयार रहेको बताउँदै आएका छन् ।
अरु विभागको टुंगो लागेको भने पनि टुंगोको निर्णय भने सार्वजनिक भएको छैन । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार कुनै पनि विभागको टुंगो लागेको छैन । तर अफबाह भने आइरहेको छ ।
स्कुलको हेडमास्टर तोक्नेबाहेक सबै विभागको टुंगो लागेको जनाउँदै आइएको छ । सचिवालयले यसलाई आधिकारिक रुपले स्पष्ट पार्न समेत सकेको छैन ।
नेकपाकै नेताहरु भन्ने गर्छन् – यदि टुंगो लागेको भए त लिष्ट बाहिर आउँथ्यो नि !
यसअघि बसेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन छलफलमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।
अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनसमेत अपूरै छ ।
६ महिनादेखि पोलिटब्युरोको बैठक बस्न सकेको छैन । केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन । यही बैठक नबसेकैले कार्यविभाजन अलमलमा परेको छ ।
पोलिटब्युरो नबसेको भन्दै अध्यक्ष ओलीको आलोचना गर्दै आएका सदस्य योगेश भट्टराईलाई मन्त्री बनाइएको छ । उनले विरोधसमेत नगर्ने स्पष्ट भइसकेको छ ।
एक व्यक्ति एक जिम्मेवारीमा जोड दिँदै आइए पनि सत्तामा रहेकाहरु नै पार्टीको जिम्मेवारीमा रहँदा अप्ठेरो परेको छ ।
अध्यक्ष प्रचण्डले अहिलेसम्म कुनै पनि बैठकको नेतृत्वसमेत गर्न पाएका छैनन् । ओली सत्ता र पार्टीमा हावी छन् । मुख्यमन्त्रीहरु पनि दोहोरो जिम्मेवारीमा छन् ।
ओलीले जबसम्म आफू शक्तिमा छन् उनले दोहोरो भूमिका नछोड्ने पक्का छ