साउन ३१, काठमाडौं । सत्तारुढ नेकपाले स्कुल विभागको विवाद टुंग्याएको छ । नेकपाको आज (शुक्रबार) बसेको सचिवालय बैठकले लामो विवादपछि स्कुल विभागको प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिएपछि विवाद टुंगिएको हो ।
विभागको टुंगो नमिल्दा पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको थिएन ।
विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसाल लगायत ८ जनाले दाबी गर्दै आएका थिए । तर बैठकले भने पोखरेललाई विभागको जिम्मेवारी दिने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नेकपाको उपाध्यक्षमा बामदेव गौतमलाई चयन गरेको छ भने विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखको जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएको छ ।
जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी रहेको जानकारी दिइएको छ ।