• काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा भएका गल्तीहरु सच्याउँनुपर्ने आवाज उठाएका छन् । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालपछिको मर्यादा क्रममा रहेका नेपाललाई अर्का बरिष्ठ नेता झलनाथ खनाल पछिको मर्यादा क्रममा राख्ने निर्णय भएसंगै उनले यस्तो आवाज उठाएका छन् ।

    जनकपुरधाममा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै बरिष्ठ नेता नेपालले पार्टीको सचिवालय, बिभाग गठन लगायतका कमिटीमा बरिष्ठहरुलाई पाखा लगाएर कनिष्टलाई राखिएकोमा आपती जनाउँदै सच्याउँनुपर्ने माग गरेका छन् । ‘पार्टी सचिवालय देखी बिभागसम्ममा बरिष्ठ नेतालाई पाखा लगाईएको छ’ नेपालले भने, ‘पार्टीमा भएका गल्तीहरु सच्याउँनुपर्छ ।’

    अध्यक्ष पछिको दोस्रो मर्यादा क्रममा रहेका नेता नेपाललाई पार्टीमा चौथो मर्यादा क्रममा राखिएपछि आक्रोशित देखिएका हुन् । तर उनले उठाएका माग जायज रहेको देखिन्छ । कतिपय वरिष्ठ नेतालाई पाखा लगाउँदै सचिवालय, बिभागमा ल्याएको छ ।

    ‘नेकपा एमालेको पूर्व विधान बमोजिम झलनाथ खनाल नै दोस्रो वरियताक्रमका वरिष्ठ थिए तर उनलाई विभिन्न प्रकारले अपमान गरियो दोस्रो चरणमा मलाई अपमान गर्ने प्रयास गरियो,’ नेपालले भने ।

    नेकपाको आइतबारको सचिवालय बैठकले नेपालको वरियता फेर्ने निर्णय गरेको थियो । जुन कुरा नेपाललाई अघिल्लो दिन नै थाहा थियो । उनले अध्यक्ष दाहाललाई आफ्नो निवास कोटेश्वर बोलाएर त्यसो गरिए आफूले नसहने र पार्टीमा ‘बबण्डर’ हुनसक्ने चेतावनी दिएका थिए ।

    नेपालको मर्यादा क्रममा फेर्ने निर्णय भएको बैठकमै उनले तत्कालिन एमालेका तीन जना उपाध्यक्षहरू भिमबहादुर रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताए । तीनै नेताहरू गत महाधिवेशनमा नेपाल खेमाबाट विजयी थिए । तत्कालीन एमालेकी एक जना उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएकी थिइन् भने एक उपाध्यक्ष बामदेव गौतममात्र सचिवालयमा छन् । जो पछिल्लो समय उपाध्यक्ष भएका छन् ।

    बाँकी तीन उपाध्यक्षभन्दा तलका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सचिवालयमा रहे पनि तीन उपाध्यक्षमाथि अन्याय भएको बताउँदै नेता नेपालले सच्याउँनुपर्ने माग गरेका छन् । यधपी यस बिषयमा अहिले सम्म कुनै निर्णय हुन सकेको छैन् ।

    कार्यविभाजन र पोलिटव्युरो गठन

    बरिष्ठ नेता नेपालको मर्यादा क्रम फेरिएसंगै त्यसको प्रभाव चौतर्फी रुपमा पर्ने देखिएको छ । सचिवालय, बिभाग लगायतको गठनमा भएको ‘मनपरी’ बिरुद्ध नेपालले आवाज उठाएसंग गठन हुन बाँकी रहेको पोलिटव्युरोमा समेत देखिने भएको छ ।

    पोलिटव्युरोका साथै अनुशासन आयोग, लेखा आयोग, निर्वाचन गठन गर्न अझै बाँकी नै रहेको छ । यस्तै केन्द्रीय सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च गठन गर्न बाँकी रहेको छ । यि कमिटीको गठनमा वरिष्ठ नेता नेपालले जेष्ठ, बरिष्ठ, कनिष्टको मर्यादाक्रम अनुसार गठन हुनुपर्ने आवाज उठाउँदै अध्यक्षद्धय ओली र दाहाललाई दबाब दिन सक्ने छन् ।

    ३ जेठ २०७५ मा तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकिकरण भएको थियो । एकिकरण घोषणासभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले तीन महिना भित्रमा पार्टी एकताको काम टुंगो लगाउँने उदघोष गरेका थिए । तर १५ महिना बित्दा समेत एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

    नेकपा स्रोतका अनुसार पोलिटव्युरो गठनका लागि तत्कालिन एमालेको तर्फबाट नामावली तयार भए पनि तत्कालिन माओवादी केन्द्र तर्फको नामावली टुंगो लाग्न नसक्दा ढिलाई भएको छ ।

    नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीको अन्तरिम बिधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई अर्थात १ सय ४७ जनाको पोलिटब्यूरो कमिटी बनाउँनुपर्छ । जसमा तत्कालिन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शिर्ष नेताका बीचमा भएको छ ।

    जागरण अभियान

    पार्टी एकताको काम टुंगो लागेसंग नेकपाले देशैभरी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जागरण अभियानमा सरकारका राम्रा काम, पार्टी एकता लगायतका बिषयमा प्रचार प्रसार गरिने तयारी नेकपाको रहेको छ । सोही अभियानकै क्रममा वरिष्ठ नेता नेपालले पार्टीमा भएको अध्यक्षद्धय ओली र दाहालको मनपरीको बिरुद्धमा आवाज उठाउँने सम्भावना रहेको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…