• काठमाडौँ — जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ ।

    निगमको विमान बिहीबार बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो । जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३ सय यात्रु क्षमताको वाइडबडी विमानले जापानमा वार्षिक कम्तीमा २ लाख यात्रु एकतर्फी उडान गर्न सक्ने अनुमति नेपालसँग छ ।

    निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित यात्रु बिदाइ कार्यक्रममा जापानमा वार्षिक ३५ हजार सिट बिक्रीको लक्ष्य राखेको बताए । निगमका सहप्रवक्ता सुलेख मिश्रले पुसदेखि निगमले नारितामा पनि उडान गर्न लागेको बताए । ओसाका राजधानी टोकियोदेखि ६ सय किलोमिटर दूरीमा पर्छ ।

    यी दुई सहरको सडकयात्रा साढे ७ घण्टा हाराहारी पर्छ । निगमका अनुसार जापानमा कम्तीमा ८० हजार नेपाली रहेको अनुमान छ । यीमध्ये ४५ प्रतिशत हाराहारी टोकियो आसपास र ३० प्रतिशत हाराहारी ओसाका, नागोया, हिरोसिमालगायत सहरमा रहेकाले निगमले पुसदेखि नारिता उडान थाल्ने जनाएको छ ।

    निगमले काठमाडौं–ओसाकाका लागि एकतर्फी हवाई भाडा ३७ हजार र दुईतर्फी ७२ हजार तोकेको छ । निगमका लागि जापानका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार निगमले उडान थाल्नुअघि जापान सिधा उडान नभएकाले हङकङ वा बैंकक हुँदै जानुपर्ने बाध्यता थियो । यसरी जाँदा एकतर्फी भाडा ४० देखि ६० हजार तथा दुईतर्फी ८० देखि ९० हजारसम्म पर्छ । विदेशी वायुसेवा कम्पनीले दसैंताका दुईतर्फी भाडा १ लाख रुपैयाँसम्म पुर्‍याउने गर्छन् ।

    निगमले दसैंअघि प्रवर्द्धनात्मक भाडादर तोकेको छ । एक अधिकारीका अनुसारनिगमले सुरुवाती चरणमाअत्यधिक घाटा बेहोर्दै जापान उडान थालेको छ । निगमको वाइडबडी उडानमा प्रतिघण्टा साढे १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्छ । यसअनुसार सात घण्टा हाराहारीको एकतर्फी उडानमा कम्तीमा १ करोड १५ लाख रुपैयाँ सञ्चालन खर्च बेहोर्नुपर्छ ।

    ‘बिहीबार ओसाकाबाट फर्किंदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजार रुपैयाँ मात्रै उठाउँदा १ करोड रुपैयाँ घाटा बेहोर्नुपर्‍यो,’ ती अधिकारीले भने, ‘बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपर्‍यो ।’

    पहिलो उडानमा निगमले पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित ५ जना सांसद, तीन जना सहसचिव सुरेश अचार्य, विश्वराज ढकाल, रोशन खनाल, २० जना पर्यटन व्यवसायीसहित ५७ जनालाई आफ्नै खर्चमा जापान भम्रणमा सहभागी गराएको छ । उनीहरू सबै शनिबारको उडानमा काठमाडौं फर्किने कार्यक्रम छ ।

    कार्यकारी अध्यक्ष खरेलका अनुसार पहिलो उडानमा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपाका सुदन किराती र भवानीप्रसाद खापुङ, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, राजपाकी नरमाया ढकाल र समाजवादीका प्रदीप यादवलाई अन्तिम समयमा सहभागीगराएका थिए ।

    निगमको वाइडबडी विमान जापानको ओसाका उडेसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभावलगायत व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कात्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …