• काभ्रेपलाञ्चोक, १० असोज : पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ ।

    नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो ।

    यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताउनुभयो । “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट छुट्याइसकेको छ, अब जमीनको खोजीमा छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो ।

    पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील एवं पाँचखाल कम्युनिष्टका अगुवा बानियाँको गत वर्ष चैत ३० गते ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

    उहाँ विसं २०४९ र २०५४ मा नेकपा (एमाले)का तर्फबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नगप्रमुख खरेलले नगरका अगुवालाई सालिक निर्माणार्थ उपयुक्त स्थान पहिचान गर्न आग्रहसमेत गर्नुभएको छ ।

    उहाँका अनुसार बानियाँको स्मृतिमा चौतारो तथा सापकोटाको सालिक निर्माण गर्न छुट्याइएको बजेटबाट एकै स्थानमा दुवैको सालिक बनाइने भएको हो ।

    सापकोटालाई भने करीब २० वर्षअघि पाँचखाल गाविस उपाध्यक्ष रहेको अवस्थामै तत्कालीन विद्रोही पक्षले बेपत्ता बनाएको थियो ।

    विसं २०५६ मङ्सिर १४ गते छिमेकीको घरमा महिला क्षमता अभिवृद्धि तालीम सञ्चालन भइरहेको र साँझपख प्रशिक्षार्थीलाई खाना खुवाउन आफ्नै घरमा व्यस्त रहेका समयमा बेपत्ता बनाइएको र केही वर्षपछि विद्रोही पक्षबाट एक औपचारिक कार्यक्रममा ‘सफाया’ गरेको घोषणा गरिएको थियो ।

    सापकोटा तत्कालीन अवस्थामा ‘सर्वहारा वर्गको मुक्ति’ नाराका साथ अभियानमा सक्रिय हुनुहुन्थ्यो । शहीद सापकोटाका पत्नी र दुई छोरी छन् । सापकोटाको पत्नी सरिताले सालिक निर्माणले आफूलाई अनाथ महसुस हुनबाट जोगाएको बताउनुभयो ।

    सापकोटा परिवारले ‘नेपालका शहीद’मा सूचीकृत गर्न माग गर्दै आएको छ । उहाँको सम्झानामा केही वर्षअघि उहाँकै गाउँ ढुङ्गानाबेँसीमा ‘बलराम स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…