• कुमार खड्का असोज २७ पथरी ।
    पथरी शनिश्चरे नगरपालिकाका सामुदायिक वनहरुका चर्चा परिचर्चामा आइरहन्छन् । मोरङमा रहेका सामुदायिक वनहरु मध्ये राष्ट्रिय स्तरको गणेशमान सिंह राष्ट्रिय वन पुरस्कार पाउन सफल भएको वन पनि मोरङको पथरी शनिश्चरेमा नै रहेको छ ।
    पथरी शनिश्चरेमा रहेका ११ वटा सामुदायिक वन मध्ये शान्ति सामुदायिक वनले भने आफ्नो छुट्टै छाप स्थानिय स्तरमा बनाइरहेको छ । वन संरक्षण र सम्बद्र्धन संगसगै पर्यापर्यटनलाई शान्ति वनले आफ्नो मुख्य आम्दानिको स्रोतको रुपमा विकाश गर्दै लगेको छ ।
    यति वेला शान्ति वन साधारणसभाको संघारमा रहेको छ । यस वनमा भइरहेका गतिविधिका बारे अध्यक्ष कुल बहादुर गुरुङ संग गरिएको कुराकानीको एक अंश ः
    हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
    अहिले पछिल्लो समय वनको आफ्नो ९ औँ निर्वाचन अधिवेशन तथा साधारणसभा नजिकै आउदै छ । साधारणसभाका लागि आवश्यक प्रतिवेदन, छलफल यस्तै यस्तै कुरामा व्यस्त छु ।
    साधारणसभासंगै वनको नियमित काम, पर्यटकीय क्षेत्रको व्यवस्थापन, नयाँ बन्दै गरेका संरचना सबै कुरामा ध्यान दिनुपर्छ । मेरो दैनिकी यसरी नै बित्ने गरेको छ ।
    साधारण सभाको तयारी चैँ कस्तो छ ?
    यो साधारणसभा मात्रै नभएर चुनावी साधारणसभा अर्थात निर्वाचन अधिवेशन पनि हो । यसरी हेर्दा हरु समय भन्दा अलिक वढी तयारी त गर्नु पर्छ नै । नियमित रुपमा बनाउनुपर्ने प्रतिवेदन, आगामी योजना तथा कार्यक्रमहरु त लगभग तयारी हुने क्रममा छन् ।
    निर्वाचन सहितको साधारणसभा भएकाले नयाँ जिम्मेवारी, पुराना साथिहरुको सोचाइ के छ ? आम उपभोक्ताहरुको विचार के छ ? सबै कुरामा ध्यान दिनुपरेको छ ।
    अध्यक्षको नाताले पनि मैले धेरै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ नै त्यसको अलावा पनि साथिहरुसंगको छलफल, व्यवस्थापनका कुरा, जिम्मेवारी बाँडफाँड गर्ने कुरा, यस्तै यस्तै छ अहिलेको तयारी ।
    निर्वाचन सहितको साधारणसभा रहेछ । तपाइँको पनि उम्मेद्वारी रहन्छ ?
    पहिलो कुरा त मैले एक कार्यकाल अध्यक्ष पदमा जिम्मेवारी वहन गरिसकेको छु । यो अवधीमा कति समय सिक्ने क्रममा नै व्यतित भए भने जे जति भएता पनि काम गर्ने अवधी पनि रहयो । छोटो अवधीमा थुप्रै कामहरु गरेका छौँ र संगै अनुभव पनि लिएका छौँ । अब मैले अहिले नै मेरो उम्मेद्वारी घोषणा गर्ने समय भएको छैन् ।

    हामी अझैपनि साधारणसभालाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा नै केन्द्रीत छौँ । अब सल्लाह गर्दा नयाँ साथीहरुको चासो र आकांक्षा पनि उत्तिकै छ । यदि सबै साथिहरुको साथ र सहयोग भएको खण्डमा पूनः दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा रहने सोच बनाएको छु ।
    हामी सल्लाहकै क्रममा छौँ । सक्षम साथिहरु आएको खण्डमा जिम्मेवारी दिनुपनि पर्छ भन्ने लाग्छ । अहिले नै मेरो उम्मेद्वारी नै घोषणा भने भएको छैन । कार्तिक ४ गतेको साधारणसभा पछि यो सबैकुराको टुङ्गो लाग्ने छ ।
    पर्यापर्यटनका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ । के के गर्नुभयो शान्ति सामुदायिकले पर्यटनका क्षेत्रमा ?
    हाम्रो मुख्य उद्देश्य भनेको नै पर्यापर्यटनलाई अगाडी बढाउदै वन नियम अनुसार वन संरक्षण र सम्बद्र्धन गर्ने हो ।
    शान्ति सामुदायिक वनले छोटो समयमा नै शान्ति भुल्के सिमसार निर्माण गरी संचालनमा ल्याएको छ । सो सिमसारमा अहिले पूर्वका अधिकांश मानिसहरुको जमघट हुने गरेको छ, घुम्न, विदा मनाउन, गर्मी छल्न आउने क्रम रहेको छ ।

    सिमसारको गुरु योजना अनुसार काम भइरहेको छ । अहिले बाल उद्यान (चिल्ड्रेन पार्क) पनि धमाधम निर्माण भइरहेको छ । अबको केही दिनमा नै बाल उद्यान पनि सुचारी हुनेछ ।
    यस अघि नै पिक्निक स्थल, बोटिङ, लगाएतका कुराहरु पुरा भइसकेका छन् । आगामी दिनमा पनि ट्रि हाउस देखि लिएर पोखरीको बिचमा निर्माणधिन रहेको क्याफे पनि सम्पन्न हुनेछ ।
    तपाइले अध्यक्ष भइकन आफ्नो कार्यकालमा गरेका मुख्य कामहरु के के हुन ?
    अब हेर्नुस् है अध्यक्ष भएर आएपछि कामहरु निकै गरियो । वन विकास, सामाजिक विकास यी यस्ता कुराहरु भनेको वनको अनिवार्य गर्नैपर्ने वार्षिक कामहरु हुन् ।
    यसका अलावा पनि हामीले केही योजनाहरु ल्याएर काम गरेका छौँ । म सुरुमा अध्यक्षको जिम्मेवारीमा आउदा शान्ति सामुदायिक वनका विरुद्धमा अख्तियारमा मुद्दा थियो ।
    त्यो मुद्दा किनारा लगाउन पहल गरेँ, संस्थाको अवस्था लथालिङ्ग थियो, संस्थाको कुनै अभिलेख थिएन, पहिला संस्थाको अभिलेख व्यवस्थापन गर्नेकाम गरेँ, वन हस्तान्तरण भएको थिएन त्यसका लागि पहल गरेँ र वन हस्तान्तरण पनि भयो ।
    वनको अतिक्रमण ठुलो समस्याका रुपमा थियो । त्यो समस्या दीर्घकाल सम्मका लागि अन्त्य गरेको छु । खाली खोल्सा ठाउँमा वृक्षारोपण गरी हरियाली वनाइएको छ ।
    आफ्नो सेवा क्षेत्रमा रहेका संगसंस्थाहरुलाई आवश्यक सहयोग पनि गरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले नै स्वीकृत गरेको वैज्ञानिक वन व्यवस्थापन, वनमा भएका सिमसार संरक्षण, पर्यापर्यटनको विकास, भुल्के शान्ति सिमसारको व्यवस्थापन र व्यावसायिक रुपमा सुचारु, बाल उद्यान निर्माणाधिन अवस्थामा रहेको छ ।
    सो बाल उद्यानमा उपभोक्ताको नै सेयर लगानी रहेको र मुनाफा बितरण गर्ने व्यवस्था गरेको छु । सिमसारले अहिले नै महिनाको ९० हजार सम्मको आमदानी दिन थालेको छ ।
    हाल सम्म आउदा आर्थिक वर्ष २०७१÷०७२ मा मोरङ जिल्लामा उत्कृष्ट वनका रुपमा पुरस्कार, अघिल्लो आर्थिक वर्षमा गणेशमान सिंह राष्ट्रिय पुरस्कारका लागि मोरङबाट सिफारिस गरिएका २ वटा वन मध्ये शान्ति सामुदायिक वन पनि पर्न सफल भएको थियो ।
    तल्लो तह देखि माथिल्लो निकाय सम्म आफ्ना कुरा पु¥याउन सक्ने भएका छौँ । यो सबै कुराहरु मेरो कार्यकालमा नै भएका हुन् ।
    यदि यो निर्वाचनले पनि तपाइलाई नै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचन गर्यो भने तपाइका आगामी योजना के छन् ?
    हेर्नुस् काम केही गरेकै छैन् । योजना त अझै कति छन् कति । सबैको साथ सहयोग भयो, मलाई दोस्रो कार्यकालका लागि अध्यक्ष हुने अवसर भयो भने हाल निर्माणाधिन अवस्थामा रहेका संरचनाहरु पुरा गर्ने छु ।


    वनको कसरी वढी भन्दा वढी उच्चतम आम्दानी गरेर उपभोक्तालाई दिन सकिन्छ त्यस तर्फ बिचार गर्ने छु । पथरी शनिश्चरेको नै गौरव हो यो शान्ति भुल्के सिमसार यसको सम्बद्र्धन, व्यवस्थापन, बाँकी रहेका संरचना निर्माण लगाएतका कामहरु गरिने छ ।
    अधुरा अपुरा काम पुरा गर्ने छु । उपभोक्ताको माग र आवश्यकतालाई उच्च प्राथमिकतामा राख्ने छु । पर्यटनको अकार्षक केन्द्र बनाउनका लागि सहयोगी दाताको खोजी, लगानी गर्ने वातावरण, वनको राम्रो व्यवस्थापन, संस्थाको हरेका खातापाता चुस्त दुरुस्त राख्ने लगाएतका हरेका कुराहरु मेरा योजनामा छन् ।
    अन्त्यमा केही भन्नु छ ?
    अन्त्यमा सुन्दर नगरी पथरी शनिश्चरेको शिरमा रहेको शान्ति सामुदायिक वनका बारेमा केही कुराहरु, मेरा अनुभवहरु राख्ने अवसर दिनुभयो त्यसका लागि धन्यवाद, आगामी कार्तिक ४ गते विहान ११ बजे देखि संस्थाको कार्यालयमा ९ औँ चुनावी साधारणसभा हुदैछ, साधारणसभामा सम्पूर्ण उपभोक्ताहरुलाई उपस्थीतिका लागि सादर अनुरोध गर्दछु ।  साथै कार्तिक ७ गते हुने चुनावमा पनि सबैले आफ्नो विवेकले आफ्नो मतको प्रयोग गर्न पनि अनुरोध गर्दछु ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …