• काठमाडौं- हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् । महरा र चौधरी निलम्बनमा परिसकेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीका अनुसार कांग्रेस सांसद आलमविरुद्ध २०६४ चैत २७ गतेको बम विस्फोटमा परी घाइते २ नेपाली र २१ भारतीय नागरिकलाई इँटा भट्टामा लगेर जलाएको अभियोग छ । त्यस बेला हत्या गरिएका दुई नेपाली त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तर मियाँ हुन् । २१ भारतीय नागरिकका सन्दर्भमा किटानी जाहेरी नपरेकाले त्यसको अनुसन्धान नै भएन ।

    प्रहरी स्रोतका अनुसार बम विस्फोट भएकै बेला आलम पक्राउ पर्न सक्थे । तर उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । घटना हुँदा कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए । घटनाबारे रौतहट प्रहरीले गृहमन्त्री र प्रधानमन्त्री दुवैलाई जानकारी गराए पनि आलममाथि अनुसन्धान नगर्न दबाब आएको एक डीआईजीले बताए । उक्त कसुरमा आलमलाई मुद्दा नचलाएको भन्दै पक्राउ गरेर सुरुबाटै अनुसन्धान गर्न २०६९ जेठ १४ गते नै सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलाशले आदेश दिएका थिए । अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चको आदेश पालना नगरेको भन्दै प्रहरीविरुद्ध अपहेलनासम्बन्धी रिट सर्वोच्चमा दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चकै न्यायाधीश गोविन्द उपाध्यायले आलमलाई पक्राउ गरेर बम विस्फोट र हत्यासम्बन्धी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यही आदेशका आधारमा आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

    एक साताअघि मात्रै निवर्तमान सभामुख एवं प्रमुख सत्तारूढ नेकपाका दाङ–२ बाट निर्वाचित सांसद महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेका छन् । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास आरोपमा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । संघीय संसद् सचिवालयका अनुसार महराको सांसद पद निलम्बनमा परिसकेको छ ।

    अपराध कसुरमा कारागारमा रहेका अर्का सांसद तथा राजपा नेता चौधरी कैलाली–२ बाट निर्वाचित भएका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरिसकेको छ । त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् । २०७४ को आमनिर्वाचनमा कैलाली–५ बाट निर्वाचित नेकपा सांसद राना २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा विशेष अदालतबाट २०७२ साउन २६ गते दोषी ठहर भइसकेका छन् ।

    उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । कूटनीतिक राहदानी दुरुपयोग अभियोगमै विशेष अदालतबाट दोषी ठहर भएका तत्कालीन सभासदहरू गायत्री साह, बीपी यादव र शिवपुजन राय यादवविरुद्धको मुद्दा सर्वोच्चमै विचाराधीन छ ।

    पूर्वसभामुख तारानाथ रानाभाट कसुर लागेका व्यक्तिलाई न्याय निरुपण नभई सांसद बन्न दिनु नै गलत भएको बताउँछन् । ‘विभिन्न अपराध आरोपित व्यक्तिको कसुरमा अदालतबाट न्याय निरुपण नहुँदै राजनीतिक दलहरूले दलीय जिम्मेवारी र सांसद हुन पाउने गरी भूमिका दिनाले नै बहालवाला सांसदहरू पुरानो केसमा पक्राउ पर्छन्,’ उनले भने । पक्राउ परेका सांसदमाथि सामान्य नागरिकसरह छानबिन र अनुसन्धान गर्न दलहरूले नै सघाउनुपर्ने उनको भनाइ छ । (कान्तिपुरबाट)

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम वडा अध्यक्ष भेट्रान पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता—२०८१ आज…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…