• काठमाडौं, ६ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलगत्तै नेकपाका सहअध्यक्ष प्रचण्डमा अस्वाभाविक छटपटी पैदा भएको महसूस गर्न थालिएको छ ।

    प्रचण्डले राष्ट्रपति सीसँग अलिक समय लिएर ‘वान टु वान’ वार्ता गर्न चाहनुभएको थियो । तर, प्रचण्डको त्यस्तो इच्छा पूरा गर्ने जाँगर प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति दुवैले चलाउनुभएन ।

    पार्टीको लेटरप्याड प्रयोग गरी प्रचण्डले चीनमा एक पत्र पठाउनुभएको विषयले उच्च तहमा स्तब्धता पैदा गरेको थियो ।

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थाहै नदिई चीनलाई पत्र लेख्नु र लेखिएको व्यहोरासमेत केपीको प्रतिकूल हुनुलाई चीन र नेपालको सर्वोच्च तहले गम्भीरतापूर्वक लिएको छ । तर, प्रचण्डले लेख्नुभएको भनिएको उक्त पत्रको व्यहोरा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

    चिनियाँ विदेशमन्त्री वाङसँग भएका गुप्त संवाद सार्वजनिक भएलगत्तै ‘एक्स्पोज्ड’ हुनुभएका प्रचण्ड खुलेर अमेरिकाविरुद्ध र ‘बीआरआई’को पक्षमा आक्रामक ढङ्गले प्रस्तुत हुनुभएको थियो ।

    त्यसरी अमेरिकाको आलोचना र बीआरआईको पक्षपोषण गरेपछि सम्भवतः आफूलाई चीनले पूरै विश्वास गर्ने प्रचण्डले ठान्नुभएको थियो । तर, उहाँको विश्वास त्यसबेला भङ्ग भयो जब सी जिनपिङसँग एक्लै भेटेर राम्ररी कुराकानी गर्ने अवसरसमेत मिलेन ।

    यही विषयलाई लिएर प्रचण्ड र केपी शर्मा ओलीबीच चर्को भनाभन पनि भएको थियो । अमेरिका रिसाएको, भारतले शङ्काको दाउरामा राखेको, चीनले नपत्याएको र आफ्नै पार्टीभित्र पनि एक्लिएको महसुस गरेपछि प्रचण्डले काङ्ग्रेसको चियापान समारोहमा उपस्थित भएर बेग्लै प्रकारको मन्तव्य प्रकट गर्नुभएको थियो ।

    उहाँको भनाइका अङ्शहरू (दुईतिहाइको कुरा नगरौँ र काङ्ग्रेससँग मिलेर जान सकिन्छ) ले प्रचण्डको मन बदलिएको देखाएको थियो ।

    त्यसयता कहिले आफू फेरि जङ्गल जान सक्ने त कहिले आन्दोलन गर्न मन लागेको र कहिले सहमतिमा धोखा भएकोजस्ता अभिव्यक्ति उहाँले दिँदै आउनुभएको छ ।

    यसप्रकारका अभिव्यक्तिले प्रचण्ड विकल्परहित बन्दै जानुभएको स्पष्ट सङ्केत दिएको छ । उहाँ पार्टी विभाजन गराउन सक्ने कानूनी र राजनीतिक हैसियतमा यतिबेला हुनुहुन्न ।

    केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट विस्थापित गर्न सक्ने अवस्थामा पनि उहाँ हुनुहुन्न । त्यसैले के गर्ने के नगर्ने भन्ने अन्योलले उहाँको छटपटी बढाएको देखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने अन्तिम तयारीमा हुनुहुन्छ । विभिन्न राजनीतिक कारणवश पछि सर्दै आएको पुनर्गठनलाई अन्तिम रूप दिने सन्दर्भमा विना मगरको विषयलाई लिएर पनि प्रधानमन्त्रीसँग प्रचण्डको असहमति बनेको बताइन्छ ।

    प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन गर्दा अरू जो कसैलाई हटाए पनि विना मगरलाई यथावत् राख्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ ।

    तर, कार्यक्षमता पटक्कै नदेखिएको र कतिपय अवाञ्छित क्रियाकलापमा समेत संलग्न रहने गरेको भन्ने सूचना प्राप्त भएकोले विनालाई मन्त्रिपरिषद्मा निरन्तरता दिन नहुने मानसिकता प्रधानमन्त्रीले बनाउनुभएको छ ।

    मन्त्रिमण्डल कस्तो बनाउने भन्ने पूर्ण अधिकार प्रधानमन्त्रीमा रहेको र अधिकांश मन्त्रीहरूको ‘पर्फर्मेन्स’ राम्रो नभएकोले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने मानसिकता प्रधानमन्त्रीले बनाउनुभएको बुझिन्छ ।

    सरकारको कामका आधारमा आफूप्रतिको जनधारणा बन्ने भएकोले केपी शर्मा ओली अब अलिक भिन्न ढङ्गले अघि बढ्ने योजना र सोचमा रहनुभएको बताइन्छ, घटना र विचारमा उल्लेख छ ।

    उहाँ भिन्न ढङ्गले अघि बढ्दा प्रचण्डसँग थप दूरी बढ्ने सम्भावना छ । त्यसैले आगामी दिनहरू सत्तापक्षका निम्ति तनाव र प्रचण्डका निम्ति दुःखदायी हुन सक्ने स्थिति छ ।

    पार्टी विभाजन गराउन नसके पनि प्रचण्डले केपीको योजना र नियमित काममा बाधा–अड्चन पु¥याउने सम्भावना प्रबल छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…