• काठमाडौँ, ९ कात्तिक, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ ।

    नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उहाँले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउनुभयो । सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उहाँको भनाइ थियो ।

    काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गर्नुभयो । “काङ्ग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो । प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी काङ्ग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

    सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा काङ्ग्रेस विजयी हुने बताउनुभयो । निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उहाँको भनाइ थियो ।

    काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमात्र काङ्ग्रेस बलियो हुने बताउनुभयो ।

    काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला काङ्ग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण काङ्ग्रेसले हारेको उहाँको भनाइ थियो ।

    क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्नो जिम्मेवारीअनुसार काम गरे मात्र काङ्ग्रेस बलियो हुने बताउनुभएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…