• बागलुङ, २२ कात्तिक : नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ।

    सो चुनावमा काङ्ग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको थियो ।

    घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा हुनुहुन्छ । काङ्ग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ ।

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो ।

    विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङ्ग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो ।

    विसं २०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ । त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ । नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो ।

    यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली काङ्ग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अथ्र्याउनुहुन्छ ।

    “पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता प¥यो होला”, सभापति थापाले भन्नुभयो, “उहाँहरुको एकता आत्मियखालको छैन, एकतर्फीजस्तो छ ।”

    काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ । “गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन”, उहाँले भन्नुभयो, “अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।”

    उहाँले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाउनुभयो । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ ।

    राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो, “काङ्ग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि काङ्ग्रेसकै थियो” उहाँले भन्नुभयो, “त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हा¥यो, अहिले कसरी जित्छ ? जित्दैन ।”

    तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उहाँले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताउनुभयो ।

    सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ । “उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन”, अध्यक्ष थापाले भन्नुभयो, “विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।”

    शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध हुनुहुन्थ्यो । गएको स्थानीय तह चुनावमा उहाँ माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लड्नुभएको थियो ।

    नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँको उम्मेदवारी फिर्ता हुने बताउनुभएको थियो ।

    राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताउनुभयो । “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ”, उहाँले भन्नुभयो, “सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।” उहाँले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । अव्यवहारिक र महत्वकाङ्क्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उहाँको भनाइ छ ।

    को हुन् शाही र शेरचन ?

    राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुनुहुन्छ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ राजमोका पाका र विश्वासिला नेता मानिनुहुन्छ । यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएका शेरचन विद्यार्थीकालदेखि नै काङ्ग्रेसको राजनीतिमा आवद्ध हुनुहुन्छ ।

    ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी सङ्घको तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत हुनुभएको थियो । काङ्ग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिनुहुन्छ । शेरचनलाई नेपाली काङ्ग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो ।

    राजमो, नेपाली काङ्ग्रेससहित आठ दल र दुई स्वतन्त्र उम्मेदवारले उपचुनावका लागि मनोनयन दर्ता गरेका छन् । अन्य दलमा समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…