• काठमाडौं, २४ कात्तिक । सत्तारुढ दल नेकपामा नेताहरुबीचको भागबन्डा र ध्रुवीकरणले नाटकीय मोड लिएको छ ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएपछि नेकपामा त्यसको नकारात्मक असर माधव नेपाललाई परेको छ भने फाइदा अर्का अध्यक्ष प्रचण्डले उठाएका छन् ।

    पछिल्लो पटक ओलीको स्वास्थ्य बिग्रिनु अघि ओली र प्रचण्डको दूरी बढ्दै गएको थियो । प्रचण्ड र ओलीको बीचमा एक प्रकारको शीत युद्ध नै सुरु भइसकेको अवस्थामा माधव नेपाल प्रचण्डसँग मिलेर पार्टीभित्र आफूलाई सुदृढ बनाउने दाउमा थिए ।

    प्रचण्ड पनि ओलीले सहमतिको पालना नगरेर थाग्नामा सुताउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालसँग निकटता गाँसिएको देखिन्थे ।

    तर, ओलीको स्वास्थ्य एकाएक खराब बनेपछि फेरि एक पटक ओली–प्रचण्डको गठजोड बलियो छ भने नेपाल पाखा परेका छन् ।

    गत साता सरकारले अघिल्लो सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेर उनीहरुको स्थान सात नयाँ प्रमुखहरुलाई नियुक्त गर्यो ।

    ती सात वटै नियुक्तिहरुले ओली र प्रचण्डले ४ र ३ को संख्या भाग लगाएर एक लौटी भागबन्डा गरेपछि मात्र माधव नेपाल फेरि एक पटक हिस्स बन्नुपर्यो ।

    उनले त्यसप्रति आफ्नो असन्तुष्टि लिखित रुपमै जाहेर गरे–नोट अफ डिसेन्ट लेखेर । तर, नेपालको नोट अफ डिसेन्टलाई ओलीले कुनै महत्व दिएनन् भने प्रचण्डले पनि हल्का रुपमा लिए ।

    जानकार सूत्रहरुका अनुसार ओली स्वास्थ्य उपचारका लागि लामो समयसम्म विदेशमा बस्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै प्रचण्ड र ओलीको गठजोड बलियो बनेको हो ।

    ओली विदेशमा रहँदा पार्टीमा एकल अध्यक्षको रुपमा आफूले काम गर्न पाउने आश्वासन मात्रै होइन अवस्था हेरेर प्रधानमन्त्री नै पाउन सक्नेसमेत संकेत पाएपछि प्रचण्ड ओलीसित नजिकिएको स्रोत बताउँछ ।

    यही मेसो उपचुनावमा चुनावी मोर्चाको नेतृत्वले ओलीले प्रचण्डलाई सुम्पिसकेका छन् । त्यसैक्रममा उनले सार्वजनिक रुपमै आफू ढिलो चाँडो प्रधानमन्त्री बन्ने स्पष्ट पार्दै आएका छन् ।

    यसअघि प्लाज्मा फोरेसिस गराउन ओली सिंगापुर जाँदा प्रचण्डले पार्टीमा नेतृत्वको अभ्यास गर्ने मौका पाएका थिए । अब फेरि त्यस्तै मौका जुर्ने आश्वासन पाएपछि प्रचण्ड हौसिएको नेकपाका एक नेताले बताए ।

    यता नेता नेपालले भने जनवर्गीय संगठन र विभागको नेतृत्व चयन, आफ्नो वरियता खस्किएको विषय, पार्टीका प्रदेश इन्चार्जको चयन, दोहोरो जिम्मेवारी, सरकारको कामकारबाही एवं राजनीतिक नियुक्तिलगायत विषयमा असहमति जनाउँदै आए पनि त्यसमा कुनै सुनुवाइ नभएपछि खुम्चिन बाध्य छन् ।

    पटक पटक आफ्नो असन्तुष्टिमा प्रचण्डबाट साथ पाउने आश गरेका नेपालले पटक पटक धोका मात्रै पाइरहेका छन् ।

    नेपालले विधि र प्रक्रियाका अनुसार काम गर्नुपर्ने माग पटक पटक उठाउन थालेपछि ओलीले उनलाई पूर्ण रुपमा अलग्याउँदै आएका छन् ।

    गत भदौमा उपचारका लागि ओली उपचारका लागि सिंगापुर जानु पहिले ओली र नेपालबीच भनाभन भएको थियो । त्यसपछि उनीहरुबीच राम्ररी बोलचालसमेत भएको छैन, देशान्तरमा उल्लेख छ ।

    प्रत्यारोपण गरिएको मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि यही कात्तिक १३ र १४ गते धापासीस्थित ग्रान्डी अस्पतालमा पुगेर डायरसिस गरेका प्रधानमन्त्री ओलीको उपचार फेरि विदेशमा हुने सम्भावना छ ।

    उनका निजी चिकित्सकले ओलीको स्वास्थ्य हाललाई स्थिर रहेको बताए पनि उनको उपचारबारे अमेरिका, भारतलगायत मुलुकका चिकित्सकसँग परामर्श गरिरहेका छन् ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…