काठमाडौं, २४ कात्तिक । मंसिर १४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनको लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
नेकपा र नेपाली कांग्रेससहित अरु पार्टीहरु पनि निर्वाचनमा उत्साहका साथ लागेका छन् । सरकारको नेतृत्व गरेको नेकपाले आफूहरुको सरकारले राम्रो काम गरेकाले देशैभर जित्ने दाबी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकार दिनैपिच्छे कमजोर बन्दै गएकाले जनताले नपत्याउने अडान राख्दै आएको छ । सरकार निर्माण भएको झण्डै २१ महिना पुगिसकेको छ ।
पाँच वर्षको सरकार हो भन्दै सधै गफमात्र गर्न जान्ने र सर्वसाधारणको जिवनमा कुनै पनि फाइदा पुग्ने काम नगरेको यो सरकारले गरेका भाषण र बूडेका आश्वासन पनि चानचुन छैनन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ को उपनिर्वाचन आफूहरुको प्रतिष्ठाको लडाई समेत भएको बताएका छन् ।
कास्की २ को उपनिर्वाचनमा नेकपा, कांग्रेससहित साना पार्टीहरुले पनि मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा नेकपाका तर्फबाट विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छिन् ।
नेपाली कांग्रेसका खेमराज पौडेलले पनि उम्मेदवार दर्ता गराए । यहाँ २५ उम्मेदवार प्रतिष्पर्धामा छन्, जसमध्ये १५ जना पार्टीका छन् भने १० जना स्वतन्त्र उम्मेदवार ।
नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गर्ने एक दिन अघि मात्र बल्लतल्ल उम्मेदवार टुंगो लगायो । कास्कीबाट १६ जनाको नाम केन्द्रमा आएको थियो, नाम धेरै आएर पार्टीलाई समस्या परेको होइन, मुख्य कुरा भनेको त्यो क्षेत्रमा पार्टीको कुरा गुटले टिकट लाने भन्ने लडाइ नै हो ।
गत निर्वाचनमा रविन्द्रप्रसाद अधिकारीसँग पराजित देवराज चालिसेमात्र नभएर पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङको नाम पनि अन्तिम समयसम्म चर्चामा रह्यो ।
तर, पार्टीले टिकट नदिनेजस्तो भएपछि धनराज व्याक भए । प्रदेश सभा सदस्यका लागि भक्तपुर १ ‘ख’ मा नेकपाका देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गरा एभने नेपाली कांग्रेसका कृष्णप्रसाद भडेंलको उम्मेदवारी परेको छ ।
प्रदेश सभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ ‘ख’ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीको उम्मेदवारी दर्ता भएको छ । शाही नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुनुहुन्छ ।
कांग्रेसका तर्फबाट जितबहादुर शेरचनले उम्मेदवारी दिए । शेरचन यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभाको उम्मेदवार थिए ।
यहाँ नेकपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भयो तर पनि पार्टीले गरेको निर्णय नमानेपछि शेरमान घर्ती वागी उठिदिए । उनले कसैलाई घुक्र्याएको नभई निर्वाचन जित्न उम्मेदवार बनेको बताएका छन् ।
उनको उम्मेदवारी नेकपाका लागि मात्र नभएर जनमोर्चाका लागि पनि चुनौती बनेको छ । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपाका तर्फबाट विमला वलीले उम्मेदवारी दर्ता गराइन् ।
उनी उत्तरकुमार वलीकी श्रीमती हुन्, उत्तरकुमारको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसका केशव शर्मा आचार्यको उम्मेदवारी परेको छ, आलोचनामा उल्लेख छ ।
उम्मेदवारमाथि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली आज मात्र प्रकाशन गरिने छ । स्थानीय तहका उपनिर्वाचनका लागि भने बुधबार मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
मंसिर १४ गते प्रतिनिधि सभाका लागि एक सदस्य, प्रदेश सभाका लागि तीन सदस्य, स्थानीय तहका लागि चार प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडा अध्यक्ष गरी ३७ जिल्लाका ५२ पदका लागि मतदान हुँदैछ ।