• काठमाडौं । निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।
    घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियोे ।
    एउटा मिनी ट्रकमा सय क्युफिट मापदण्ड अनुसारको निर्माण सामग्री पठाउनुपर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको हो ।
    अपराध महाशाखाका अनुसार, डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भुका प्रमुख महेश्वर श्रेष्ठ, रन्जित एन्ड रन्जितका रन्जित थापा, धनेश्वर महादेवका सन्तोष कुँवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरीको सम्पत्ति छानबिनका लागि अनुसन्धान सुरु गरिएको हो ।
    त्यस्तै, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डितविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताउनुभयो ।
    महानगरीय प्रहरी परिसर काठमाडौँले डिपो सञ्चालकहरू विरुद्धको ठगी मुद्दा किनारा लाग्नेबित्तिकै सम्पत्ति शुद्धीकरण विभागबाट अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । धेरैजसो डिपो सञ्चालकसँग अवैध सम्पत्ति देखिएको छ ।
    विभिन्न क्रसर उद्योग, बालुवा खानी तथा इँटा भट्टाबाट निर्माण सामग्री खरिद गरी डिपो राखेर बिक्री गर्दा १० वर्षमा १० करोड रुपियाँसम्मको सम्पत्ति थुपार्नु आफैमा रहस्यमय भएकाले अनुसन्धान गर्नुपरेको भनाइ प्रहरीको छ ।
    यस्तै, ठगी अपराधमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले पनि ३४ जना डिपो सञ्चालकलाई पक्राउ गरेको छ । त्यस क्षेत्रमा पनि तोकिएको मापदण्डभन्दा कम सामग्री ढुवानी गरी उपभोक्तालाई ठगी गरेको आरोप प्रहरीको छ ।
    भक्तपुर प्रहरी परिसर प्रमुख सविन प्रधानले एक ट्रक निर्माण सामग्रीबाट उपभोक्तालाई दुई हजार पाँच सय रुपियाँसम्म ठगी हुने गरेको बताउनुभयो । रोडा, ढुङ्गा, गिट्टी र बालुवामा मात्र नभई इँटामा समेत यस्तै ठगी हुने गरेको छ । गोरखापत्रबाट ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…