• अर्जुन जम्नेली राई/ रातोकलम 

    पुष २० गते विहान राजधानीको एउटा कफीसपमा मोरङ १ नम्बर क्षेत्र (क)बाट नवनिर्वाचित प्रदेशसभा सदस्य कुलप्रसाद लिम्बू(कुसल)सँगै अर्का एक लक्का जवानसँग भेट भयो ।

    परिचय भयो, नाम लोकेन्द्र खड्का रहेछ । २३ बर्षे । स्थायी घर मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ३ । व्यवसाय गाँजा प्रजातिको हेमको लोक्ताबाट बन्ने घरेलु झोला उत्पादन ।



    कलिलै उमेरका उद्योगी भेटेपछि थपकुराहरु सोधियो । खड्का अहिले विद्यार्थी र उद्योगी दुवै नामले परिचय छन् । मोरङबाट १८ बर्षको उमेरमा राजधानी छिरेको पाँच बर्ष भएछ । चार बर्षसम्म साइनोले काका पर्नेको उद्योगमा काँधमा झोला बोकेर मार्केटिङ गरे । काम सिकेर हाल काठमाडौं महानगरपालिका—१६ पैपीमा आफै कालिनाथ नेचुरल हेण्डी क्राफ्ट उद्योग खोलेर ३० प्रकारका नेपाली झोला, मनि बेल्ट, साइड ब्याग, वालेट, ह्याट(टोपी) लगायतका ४५ प्रकारका घरेलु समाग्री तयार हुन्छ । जुन सामाग्री नेपालीभन्दा बढी युरोपियनले बढी प्रयोग गर्दछन ।

    खड्काको उद्योगमा हेम(एक प्रकारको गाँजा प्रजाति) र अल्लो (सिस्नु)को लोकतालाई हातैले बनाएको धागोबाट झोला लगायतका सामाग्री बन्ने गरेको छ । सामाग्री बन्ने हेमको धागो रुकुम, रोल्पा, जाँजारकोट र अल्लोको संखुवासभा, दाङ जिल्लातिरबाट आउने खड्काले बताए ।
    उत्पादित सामान भने विदेशी पाहुना आउने क्षेत्रहरु काठमाडौं, पोखरा, लुम्बिनी, चितवनबाट खपत हुने गरेको छ । ती सामाग्री नेपालमाभन्दा अमेरिका युरोपको विभिन्न मुलुक र चाइनामा बढी निर्यात हुने युवा व्यवसाही लोकेन्द्र खड्काले बताए ।

    बाल मावि हरकपुर मोरङबाट एस.एल.सी., लर्डबुद्ध कलेज विराटनगरबाट १२ पास गरेका खड्का अहिले एन.आर.कलेज नेपालटारमा समाज शास्त्र विषयमा स्नातक तेस्रो बर्षका विद्यार्थी हुन् ।



    खड्काको उद्योगमा अहिले १५ वटा झोला लगायतका समाग्री सिउने मेसिनमा १७ जनाले रोजगारी पाएका छन् । श्रमिकहरुले मासिक २३ देखि ६० हजारसम्म कमाउने खड्काको भनाइ छ । कालिनाथ हेण्डी क्राफ्टमा मासिक चार हाजरसम्म समाग्रीहरु २० लाख बराबरको उत्पादन हुन्छ ।
    कामको खोजीमा काठमाडौ छिरेका युवा खड्का २० लाखकै लागानीमा उत्पादन सुरु गरेका हुन् । बयरवन (हाल कानेपोखरी)मा अर्काको जग्गा कमाउदा समेत खान लाउन धौ धौ भएपछि करिअरको खोजीमा राजधानी पसेको उनले बताए । चार बर्षसम्म नियमित पारिश्रमिक नलिइ काकाको उद्योगमा काम सिकेको खड्काले जानकारी दिए ।

    नेपालमा बेरोजगारीको समस्या छदैछ । खड्काको औद्योगिक यात्राको छोटै अनुभवमा कामदारको उत्तिकै अभाव छ । युवाहरु वेरोजार छन तर उद्योगहरुमा कामदारको अभाव छ । झोला सिलाउने कामदार दर्जी र मधेसी समुदाय मात्र रहेको खड्काले जानकारी दिए । सानै लगानीमा उद्योग थालेका लोकेन्द्र खड्काले राम्रै आम्दानी भइरहेको बताए । सफल उद्योगी बन्ने लक्ष्य लिएका खड्काले आम युवाहरुलाई कुनैपनि काममा मेहनत र निरन्तरता दिए सफल बन्न सकिने सुझाव दिन्छन ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …