• काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुन लागेको उपचुनाव सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका लागि दलीय प्रतिष्ठाको विषय बनेको छ। दुवै दलका शीर्ष नेताले यहाँको चुनावलाई मिनी जनमतसंग्रहको उपमा दिइसकेका छन्।

    तीन–तीनपटक हारेको निर्वाचन क्षेत्रमा जितेर दुई तिहाइको नेकपा सरकारलाई सबक सिकाउने योजनामा छ प्रतिपक्षी कांग्रेस। २०४८ पछिका ६ चुनावमध्ये २ पटकमात्रै झिनो अन्तरले पराजय भोगे पनि २०६४ पछि ३ चुनाव जितेर ह्याट्रिक गरेको सत्तारूढ नेकपा त्यही विरासत जोगाउने ध्याउन्नमा छ।

    नेकपा सरकार लोकप्रिय रहेको ठहर्‍याउन यो चुनाव जित्नैपर्ने बाध्यतामा छ भने कांग्रेस सरकार अलोकप्रिय बनेको उदाहरण दिन चुनाव आफूले जित्नुपर्ने दबाबमा छ। स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष र प्रदेश सभा सदस्यसमेत गरी देशभर ५० ठाउँमा उपचुनाव हुँदै छ। धेरैको चासो भने कास्की–२ मा छ। किनकि प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा मात्र उपनिर्वाचन हुन लागेको हो।

    प्रतिष्ठाको प्रतिस्पर्धामा खरो उत्रन नेपाली कांग्रेसका सभापति, वरिष्ठ नेताहरुसहित केन्द्रीय पदाधिकारीको जम्बो टोली बिहीबारदेखि पोखरामा छ। शनिबारमात्रै सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, युवा नेता गगन थापासहितले पोखराको बाटुलेचौरमा आयोजित आमसभालाई सम्बोधन गरे। देउवाले आरोप लगाए, ‘भारतले ओलीसँग सोधेरै कालापानीसहितको नक्सा सार्वजनिक गरेको हो।’

    शुक्रबार उनले सरकार न्यायालय कमजोर बनाउन लागेको, अख्तियार दुरुपयोग आयोगलगायत संवैधानिक आयोगमा आफ्ना मान्छे भर्ती गर्न मिल्ने गरी अध्यादेश ल्याउन लागेको बताए। देउवासहितका नेताहरू शुक्रबार एउटा र्‍यालीमै सहभागीसमेत भए। कास्की–२ मा देउवानिकट खेमराज पौडेल कांग्रेस उम्मेदवार छन्। गुटउपगुट र अन्तर्घातले जकडिने आलोचना खेप्दै आएको कांग्रेसको यसपालिको उम्मेदवार छनोट अहिलेसम्मकै निर्विवादित जस्तो देखिएको छ। यसलाई कांग्रेसले आफ्नो सबल पक्ष मानेको छ।

    उम्मेदवारी दर्ताको पर्सिपल्टै नेकपाले चुनाव केन्द्रित बृहत् कार्यकर्ता प्रशिक्षण गर्‍यो। प्रशिक्षणका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्ष्णु पौडेल आएर सम्बोधन गरे। देशभर निराशाजनक नतिजा आउँदासमेत २०६४ मा रवीन्द्र अधिकारीले तत्कालीन एमालेबाट निर्वाचन जितेर कम्युनिस्ट किल्ला प्रमाणित गरेको क्षेत्रको भौगोलिक स्वरुप भने पछिल्लो चुनावमा केही फेरिएको छ। तर उनै अधिकारीले ७० र ७४ समेत चुनाव जितेका थिए। अधिकारी निधनको संवेदना र सदभाव बटुल्दै नेकपा कास्कीले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

    नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ करण भन्छन्, ‘विद्या भट्टराई रवीन्द्र अधिकारीको पत्नीमात्रै होइन, लामो समय राजनीति गरेको व्यक्तित्व हो, प्राज्ञिक व्यक्तित्व हो, युवा र महिला नेता हो।’ रवीन्द्र अधिकारीका बाँकी सपना पूरा गर्ने एजेन्डासहित विद्यालाई उम्मेदवार बनाएको उनी बताउँछन्। विद्याले पनि रवीन्द्रका बाँकी सपना पूरा गर्दै देशलाई थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    कास्की(१) मा २१ उम्मेदवार स् एकजनाले लिए उम्मेदवारी फिर्ता
    कास्की(२का उम्मेदवारको चुनाव चिह्न स् किताब, कलमदेखि फूल र मौरीसम्म
    जनमत परीक्षण
    घरदैलो र कोणसभामा केन्द्रित उनले पोखरामा चक्रपथ निर्माण गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने एजेन्डा पनि सुनाउने गरेकी छन्। ‘यो चुनावमा हामीले यस्तो उम्मेदवार उठाएका छौं, जसले पैसाले चुनाव जितिन्छ, गुन्डागर्दी गरेर चुनाव जितिन्छ, झुठ बोलेर जितिन्छ, सत्ताको प्रभाव पारेर जितिन्छ भन्ने मान्यता खारेज गरेको छ’, अघिल्लो चुनावमा रवीन्द्र अधिकारीका प्रतिस्पर्धीसमेत रहेका कांग्रेस नेता देवराज चालिसे भन्छन्। उम्मेदवार खेमराज पौडेल १ सिट जितहारले सत्तामा परिवर्तन नहुने भए पनि आफ्नो जितले सरकारलाई सच्याउन मद्दत पुग्ने बताउँछन्। उनले अधिनायकवाद उन्मुख सरकारलाई सच्च्याउन आफूले जित्नुपर्ने बताएका छन्। भन्छन्, ‘पोखराका ग्रामीण क्षेत्रका वडामा नगरसरहकै सेवा पुर्‍याउन भूमिका खेल्नेछु।’

    प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा दोहोरिएर हुन लागेको निर्वाचनमा उम्मेदवार भने सबै नयाँ हुन्। विद्या प्राज्ञिक क्षेत्रमा थिइन्। आम चुनावमा उनले पहिलो अनुभव लिँदैछिन्। ६० वर्ष राजनीति गरे पनि आमनिर्वाचनमा भने नेपाली कांग्रेसबाट खेमराज पौडेल पहिलोचोटि चुनावी मैदानमा छन्। मुख्य प्रतिस्पर्धा यिनै दुईबीच हुनेछ।

    बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर बनेको नेपाल समाजवादी पार्टीबाट पनि नयाँ अनुहार चुनावमा छन्। बेलायती सेना र युनाइटेड नेसनमा काम गरेको अनुभव भएका धर्मराज गुरुङ हात चुनाव चिह्न लिएर मैदानमा छन्। वैकल्पिक राजनीतिको वकालत गरिरहेको साझा पार्टीबाट रजनी केसी उम्मेदवार छिन्। कांग्रेसी राजनीतिको अनुभव संगालेकी उनी पनि आमनिर्वाचनमा नयाँ अनुहार हुन्। राप्रपा नेपालले हिन्दु राष्ट्रकै एजेन्डामा रोमबहादुर भण्डारीलाई उठाएको छ।

    कांग्रेसमा सधैं अन्तर्घात हुँदै आएकोमा यसपालि सबै नेता कार्यकर्ता एकढिक्का हुनु आफूहरुको सबल पक्ष भएको कांग्रेसको दाबी छ। अर्कातिर आफ्ना उम्मेदवार खेमराजको छवि शालीन र निष्ठावान हुनुलाई कांग्रेसले आफ्नो सबल पक्ष मानेको छ।

    साझा पार्टीकी रजनी केसी जनताले वैकल्पिक शक्ति खोजिरहेको बताउँछिन्। भन्छिन्, ‘सुसंस्कृत राजनीति हाम्रो एजेन्डा हो।’ उनले आफू निर्वाचित भए सांसदका लागि दिइने ६ करोड रुपैयाँ विकास बजेटको विरोध गर्ने र आफूले नलिने पनि बताएकी छन्।

    समाजवादीका धर्मराज गुरुङ ब्रिटिस आर्मी र युनमा आर्जेको अनुभव नेपालमा खन्याउने बताइरहेका छन्। भन्छन्, ‘चुनाव हो, के थाहा फ्याट्ट मैले जित्न पनि सक्छु।’ दलका ११ र स्वतन्त्र १० गरी २१ जना चुनावी मैदानमा छन्। स्वतन्त्रकै हैसियतमा उम्मेदवार दिएकी विवेकशील नेपालीकी जमुना शर्माबाहेक अरू स्वतन्त्र उम्मेदवारको प्रचार खास देखिएको छैन।

    कास्की २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा छन्। तिनमा गएको स्थानीय तह निर्वाचनमा ७ वटामा नेकपा एमाले र ४ वटामा कांग्रेसले चुनाव जितेको छ। मंसिर १४ गते हुने चुनावका लागि कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको बेलबारीमा ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप&…

मोरङ । मोरङको पथरीशनिश्चरे—८ मा आइतबार थारु महिलाहरुले सांस्कृति कार्यक्रमको आयोजना गरी जितिया मन…

मोरङ । मोरङको पथरीशनिश्चरे ७ का चन्द्रबहादुर तामाङ (६०)ं को हत्या अभियोगमा आफ्नै ज्वाँइ पक्राउ परेको छ ।&n…

मोरङ । शारीरिक सुगठन .(बडिबिल्डिङ)ं प्रतियोगितामा स्वर्ण पदक विजेताको अचानक मृत्युको कारण मोरङ पथरीशनिश्च…