काठमाडौं । सभामुख पदमा पूर्वएमालेहरूबाट दाबी आएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशंकित हुन पुगेका छन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई ल्याउन रुचि देखाएपछि दाहाल झस्किएका हुन् । नेम्वाङले सार्वजनिक स्थान वा आफू निकटका नेताहरूसँग सभामुखका विषयमा मुख खोलेका छैनन् । तर, ओलीसँग सभामुख पदका लागि इच्छा जाहेर गरेका छन् ।
नेम्वाङलाई सभामुख बनाउन ओली पनि इच्छुक रहेको बताइन्छ । ओलीले आफू अस्पताल भर्ना हुनुभन्दा केही दिन अगाडि दाहाललाई बालुवाटारमा बोलाएर नेम्वाङलाई सभामुख बनाउन सहयोग गर्न प्रस्ताव गरेको दाहाल निकट स्रोत बताउँछ । दाहालले पूर्वमाओवादी साथीहरूसँग सल्लाह गरेर जवाफ दिने आश्वासन दिएका थिए । त्यही बेला ओली अचानक बिरामी भएर टिचिङ अस्पताल भर्ना भए । त्यसपछि यो विषय थाँती रहेको छ ।
केही दिन अगाडि दाहालले आफू निकटका माओवादी पृष्ठभूमि भएका नेताहरूसँगको गोप्य छलफलमा ‘पार्टी एकीकरण भएपछि सभामुख जो भएपनि साथीहरूले चित्त नदुखाउनु होला’ भनेर थामथुम पार्ने प्रयास गरेको समेत चर्चाको विषय बनेको छ ।
तर, अग्नि सापकोटा, हरिबोल गजुरेलसहितका नेताहरूले माओवादीको भागमा परेको सभामुख पद अरुलाई छाड्न नहुने भनेर दवाव दिंदै आएका छन् ।सभामुख पदमा दाहालले अग्नि सापकोटालाई बनाउन खोजेका छन् । सापकोटालाई चीनले पनि साथ दिएको छ ।
उता, भारतले पनि सभामुख पदमा सापकोटालाई भन्दा नेम्वाङलाई बनाउन ओलीलाई सुझाव दिएको बुझिएको छ । पछिल्लो समय भारतसँग निकटता बनाएका नेम्वाङलाई नेकपाभित्र भारतपरस्त नेताका रुपमा हेर्न थालिएको छ । नेम्वाङका लागि केही नेताहरूले लबिङ शुरु गरेका छन् ।
नेम्वाङले ‘म दुई पटक सभामुख भइसकेकाले सभामुख बन्ने इच्छा छैन’ भन्ने गरेका छन् । तर, नेम्वाङलाई सभामुख बनेर फेरि एक पटक संसदमा हँगामा गर्ने इच्छा जागेको छ । दाहालले सभामुख पद पनि गुमाए भने संवैधानिक परिषदमा उनको कुनै पनि प्रतिनिधि रहने छैन ।
त्यसको असर सिधै दाहाललाई पर्नेछ । नेकपाभित्र अधिकार विहीन भएका दाहाललाई ओली–नेम्वाङ मिलेर संसद र संवैधानिक परिषदमा एक्ल्याउने रणनीति बनाएका छन् । नेम्वाङलाई सभामुख बनाउने लबिङमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल पनि लागेको स्रोतको भनाई छ । यूनाइटेड पोस्टबाट ।