• झापा। दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका शक्तिशाली प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना नेताले शक्तिको दुरुपयोग गरेर सरकारी जग्गा कब्जा गर्ने प्रयास गरेको रहस्य खुलेको छ ।

    नेकपाका नेता गगन पुरीले दमक नगरपालिकाको वडा नम्बर ८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमीन कब्जा गर्ने प्रयास गरेका हुन् । पुरी नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका मानिन्छन् ।

    स्थानीय तहको निर्वाचनमा पुरी दमक नगरपालिकाको मेयर पदमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । उनी पराजित भएका थिए ।

    नेकपा नेता पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

    दमकको ११ बिघा सरकारी जमीनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    नेकपाका नेता पुरीले जमीन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेका छन् ।

    साविकको कित्ता नम्बर ३० को जमीन ३ कित्तामा फोरिएको छ । अहिलेको कित्ता नम्बर ७४ को जमिन पौडेलको नाममा देखिएको प्रहरीले जनाएको छ ।

    पौडेललाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरिसकेको छ । २ कठ्ठा जमीन दिने सर्तमा पुरीले सरकारी जमीन पौडेलको नाममा पास गराउने गरी काम अगाडि बढाएको अनुसन्धानबाट खुलेको छ ।

    दमक – १३ मा रहेको सो जग्गामा बस्दै आएका सुकुमबासी ०३९ सालमा आएको बाढीका कारण अन्यत्र सरेको अनुसन्धानबाट खुलेको छ ।

    सो क्षेत्रको जमीन धुरको ३ लाख रुपियाँसम्ममा कारोबार हुँदै आएको छ ।

    जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा पुरीलाई बिहीबार पक्राउ पुर्जी जारी गरेको छ ।

    सरकारी जमीन व्यक्तिको नाममा लैजानका लागि पुरीले सरकारी छाप र हस्ताक्षर दुरुपयोग गरेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

    प्रहरीले सो कार्यमा संलग्न रहेको आशंकामा दमक नापीका निलम्बित कर्मचारी विनोद मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    नेकपाका नेता पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया शुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    पुरी दमकदेखि पाँचथरसम्म जोड्ने रणनीतिक सडक दमक–रवि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्ष समेत रहेका छन् ।

    नेकपा प्रदेश–१ का कमिटी सदस्यसमेत रहेका पुरी भने भारतको सिक्किममा रहेको बताइएको छ ।

    काठमाडौंको बालुवाटारमा रहेको सरकारी जमीन नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराको नाममा बनाएको काण्ड सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीकै गृहनगर दमकमा नेकपाकै नेताले सरकारी जमीन कब्जाको प्रयास गरेका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…