• काठमाडौँ । नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ ।  नेविसंघ काठमाडौँ शाखाको संयोजनमा शुक्रवार काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।

    सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचौँ सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् ।

    नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताए । “धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ”, उनले भने।

    नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौँ निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताए ।

    नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पारे।

    नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताए ।

    साथै धर्नासँगै नेवि संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए ।

    महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका हुन् ।

    धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताइन् ।

    उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताइन् ।

    धर्नामा नेवि संघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो ।

    तस्बिर सौजन्य सुबिन पराजुली

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…